दुईवटा धार्मिक सम्पदास्थल पुनर्निर्माणका लागि नेपाल सरकारले म्यानमारलाई ३ लाख ५० हजार अमेरिकी डलर सहयाेग गरेकाे हाे ।
काठमाडौं — नेपाल सरकारले गत मार्चमा म्यानमारमा गएको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त बनेका दुई धार्मिक सम्पदास्थलको पुनर्निर्माणका लागि तीन लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको छ ।
म्यानमारका लागि नेपालका राजदूत हरिश्चन्द्र घिमिरेले म्यानमारको मण्डले सहरको दक्षिण-पश्चिम क्षेत्रमा अवस्थित महामुनी पगोडा परिसरमा पगोडाका महासचिव थान उलाई तीन लाख अमेरिकी डलरको चेक हस्तान्तरण गरेको याङ्गुनस्थित नेपालको राजदूतावासले जनाएको छ ।
साथै, उनले गंगाघाट हिन्दू मन्दिर पुनर्निर्माणका लागि ५० हजार अमेरिकी डलरको चेक उक्त मन्दिरका अध्यक्ष पवन बजोरियालाई हस्तान्तरण गरेका थिए ।
गंगाघाट मन्दिर म्यान्मारमा बसोबास गर्ने नेपालीभाषाीहरूको महत्वपूर्ण धार्मिकस्थल हो ।
साझा धार्मिक सम्पदाको संरक्षण तथा प्राकृतिक विपत्तिबाट प्रभावित सांस्कृतिक महत्वका स्थलहरूको पुनःस्थापनामा सहयोग गर्ने नेपाल सरकारको प्रतिबद्धता झल्काउने उक्त दूतावासले जारी गरेको विज्ञप्तिमा जनाइको छ ।
