'सेतोपाटी'लाई कारबाही गर्न भन्दै निर्वाचन आयोगले काउन्सिललाई काट्यो पत्र

सेतोपाटीका दुई समाचार निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै आवश्यक कारबाही गर्न आयोगले काउन्सिललाई पत्राचार गरेको हो ।

फाल्गुन ४, २०८२

कान्तिपुर संवाददाता

Election Commission writes to council asking for action against 'Setopati'

काठमाडौँ — निर्वाचन आयोगले सेतोपाटी अनलाइनलाई कारबाही गर्न भन्दै प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ ।

आइतबार 'सेतोपाटी चुनाव विश्लेषण–१' शृंखलाअन्तर्गत 'चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन, रेनु दाहाल दोस्रो' समाचार प्रकाशित भएको थियो । यस्तो, सोमबार सेतोपाटीमै  'भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ' शीर्षकमा अर्को समाचार सार्वजनिक भएको थियो ।

यी समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले निर्वाचन आचारसंहिताविपरीत भएकाले आवश्यक कारबाही गर्न काउन्सिललाई सोमबार पत्राचार गरेको हो ।

'उल्लिखित सन्दर्भमा सेतोपाटी अनलाइनबाट गरिएको कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) मा रहेको “उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने” र ऐ. आचारसंहिताको दफा २५ को उपदफा (१) को खण्ड (ख) मा रहेको “कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने” व्यवस्थाको प्रतिकूल रहेको देखिँदा सोउपर आवश्यक कारबाही हुन निर्णयानुसार अनुरोध छ,' कानुन अधिकृत मोहन राज जोशीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

Election Commission writes to council asking for action against 'Setopati'

कान्तिपुर संवाददाता

Link copied successfully