कोज्मो एजुकेसनल कन्सल्टेन्सीले दिल्ली हुँदै बुल्गेरिया पठाउने भन्दै करिब तीन सय जनाबाट रकम उठाएको पीडितहरूको दाबी छ ।
What you should know
काठमाडौँ — वैदेशिक रोजगार विभागले बुल्गेरियामा श्रम भिसामा रोजगारी लगाइदिने भन्दै करोडौं ठगी गर्ने एजुकेसन कन्सल्टेन्सीका सञ्चालकविरुद्ध वैदेशिक रोजगार न्यायधिकरणमा मुद्दा दर्ता गरेको छ ।
पीडितको उजुरीका आधारमा कोज्मो सञ्चालक सर्लाहीका ५५ वर्षीय लालबाबु रामविरुद्ध २ करोड ८४ लाख बिगो दाबी गरी मुद्दा दायर गरिएको हो । पुस १९ गतेदेखि राम फरार छन् । ‘हालसम्म २५ वटा मुद्दा दर्ता भइसकेको छ । जसको बिगो २ करोड ८४ लाख रुपैयाँ छ,’ विभागकी महानिर्देशक मीरा आचार्यले भनिन्, ‘विभागले उजुरी लिइराखेको छ ।’
विभागले कोज्मोका कर्मचारी टीकापुरकी २१ वर्षीया हिमा नायक र इलामकी २२ वर्षीया आस्था खड्कालाई तारेखको छोडेको जनाएको छ ।
कोज्मो एजुकेसनल कन्सल्टेन्सीले भारतको राजधानी दिल्ली हुँदै बुल्गेरिया पठाउने भन्दै करिब तीन सय जनाबाट रकम उठाएको पीडितहरूको दाबी छ । उनीहरूका अनुसार प्रतिव्यक्ति औसत २ लाख ५० हजार रुपैयाँका दरले उठाइएको थियो ।
रामेछापका ३६ वर्षीय राजेश कार्कीले बुल्गेरिया श्रम भिसाको प्रक्रियाका लागि दिल्ली लैजाने भन्दै उनी सर्म्पकबाहिर गएको बताए । भाडा, प्रहरी रिपोर्ट प्रमाणीकरण र वर्क परमिटको नाममा कुल २ लाख ४६ हजार ५ सय रुपैयाँ बुझाएको उनको भनाइ छ । ‘बिहान उज्यालो भयो, बस आएन, सम्पर्क गर्ने मान्छे नै हराएपछि ठगिएको थाहा भयो,’ उनले भने।
पीडितहरूका अनुसार ठगीको शृंखला गत असारदेखि सुरु भएको हो । कोज्मोले सामाजिक सञ्जालमार्फत बुल्गेरिया र क्रोएसियामा प्याकिङ र ड्राइभरको काममा लैजाने भन्दै विज्ञापन गरेको थियो। सातदेखि १० लाख रुपैयाँ लागतमा ८५० देखि १२ सय युरोसम्म तलब हुने अफर देखाएर इच्छुकलाई कार्यालय बोलाइन्थ्यो।
नुवाकोटका २४ वर्षीय सुरज लामाले चार महिनापछि वर्क परमिट आएको भन्दै कागज दिइएको बताए । ‘अंग्रेजीमा समेत थिएन, गुगल ट्रान्सलेसन गरेर हेर्दा मात्रै विवरण बुझियो,’ उनले भने । अधिकांश पीडितले रकम कन्सल्टेन्सी र सञ्चालक लालबाबु रामको बैंक खातामा जम्मा गरेको बताएका छन् ।
