बुल्गेरिया र क्रोएसिया लैजाने भन्दै ३ सय जनाबाट करोडौं ठगी

श्रम भिसामा बुल्गेरिया र क्रोएसियामा पठाइदिने आश्वासन दिएर कोज्मो एजुकेसनल कन्सल्टेन्सीले ३ सय जनाभन्दा बढी नेपालीबाट करोडौं रुपैयाँ उठाएर फरार भएको छ । पीडितहरु न्यायका लागि वैदेशिक रोजगार विभाग धाइरहेका छन् ।

पुस २५, २०८२

होम कार्की

300 people were defrauded of crores of rupees by promising to take them to Bulgaria and Croatia

What you should know

काठमाडौँ — पुस १९ गते शनिबारको कुरा हो । रामेछापका ३६ वर्षीय राजेश कार्की भारतको राजधानी दिल्ली जाने बसको प्रतीक्षामा थिए । त्यो बस बुल्गेरियामा श्रम भिसा लगाउन जानेहरूका लागि रिजर्भ गरिएको थियो ।

‘म सुर्खेतमा थिएँ । २१ गते दिल्लीस्थित भीएफएस ग्लोबलले बुल्गेरिया दूतावासलाई भिसाको आवेदन दिन समय दिएको खबर आयो । काठमाडौंबाट सुनौली हुँदै दिल्ली जाने बसको रुट थियो,’ उनले कान्तिपुरसँग भने, ‘म भैरहवा बसिनँ । नवलपरासीमा आएर बसलाई पर्खेँ ।’

300 people were defrauded of crores of rupees by promising to take them to Bulgaria and Croatiaदिल्ली जान भाडा बापत मात्रै उनले काठमाडौंको कोटेश्वरस्थित कोज्मो एजुकेसनल कन्सल्टेन्सीलाई १८ हजार रुपैयाँ बुझाएका थिए। त्यसअघि प्रहरी रिपोर्ट प्रमाणीकरण गर्न २३ हजार रुपैयाँ र वर्क परमिटको लागि दुई लाख ५ हजार पाँच सय रुपैयाँसहित दुई लाख ४६ हजार पाँच सय रुपैयाँ कोज्मोलाई बुझाइसकेका थिए ।

जो–जसलाई बाटो पर्छ, त्यही अनुसार कोज्मोले बसको प्रतीक्षा गर्न लगाएको थियो । काठमाडौं, नारायणगढ र भैरहवामा पनि पर्खेर बस्नेहरू थिए । शनिबार बेलुकासम्म सबै यात्रुसँग कोज्मो सञ्चालक सर्लाहीका ५५ वर्षीय लालबाबु राम, म्यानेजर टीकापुरकी २१ वर्षीया हिमा नायक र कर्मचारी इलामकी २२ वर्षीया आस्था खड्कासँग नियमित सम्पर्कमा थिए । उनीहरूले भनेका थिए, ‘बिहानै हिँड्नेछौं ।’

आइतबार बिहानसम्म बस हिँडेको खबर कतैबाट आएन । लालबाबु, हिमा र आस्था तीन जनाकै मोबाइल अफ थियो । लालबाबुले आफ्नो ह्वाट्सएपबाटै नम्बर हटाए । लालबाबुले ग्रिसको नम्बरबाट ह्वाट्सएप चलाउँथे ।

‘झोला बोकाएर गाउँ–गाउँबाट बोलाएर हामीलाई बाटोमै अलपत्र बनाइदिएँ । बिहान उज्यालो भयो । तर बस आएन । लैजाने मान्छे नै सम्पर्कविहीन हुँदा हामी छाँगाबाट खसेजस्तो भयौं,’ उनले भने, ‘त्यसपछि लाग्यो हामी ठगिएका छौं ।’

असारदेखि सुरु भएको ठगी श्रृंखला

यो ठगी श्रृंखला गत असारदेखि सुरु भएको थियो । असारको पहिलो साता कोज्मोले सामाजिक सञ्जालबाट सस्तो लागतमा श्रम भिसामा बुल्गेरियामा ८५ जना र क्रोएसियामा ८५ जना प्याकिङ र ड्राइभरको काममा लैजाने भन्दै विज्ञापन गरेको थियो ।

यस्तो विज्ञापन हेर्नेहरूले कोज्मोको ह्वाट्सएपबाट सम्पर्क गर्दै कार्यालय धाउन थाले । कार्यालयमा हिमा र आस्था मात्रै भेटिए । 

‘हाम्रो सर (लालबाबु) ग्रिसमै बस्नुहुन्छ । ग्रिसमा बसेर उहाँले युरोपको बुल्गेरिया, क्रोएसियाको कम्पनीसँग सिधै सम्पर्क गर्नुहुन्छ । उहाँ वर्क परमिट बनाउनुहुन्छ,’ कोज्मो म्यानेजर हिमाको भनाई उद्धृत गर्दै कार्कीले भने, ‘नेपालको सबै काम हामी दुई जना हेर्छौं ।’

उनीहरूले त्यहाँ जानेलाई ७ देखि १० लाख रुपैयाँ लागतमा ८ सय ५० युरोदेखि १२ सय युरोसम्म तलब पाइने अफर दिएका थिए । थप बुझ्न लालबाबुको ग्रिसको ह्वाट्सएप नम्बर दिन्थे ।

‘हाम्रो सरकारले शैक्षिक परामर्शदाताबाट पठाउनै मिल्दैन भनेर रोकिएको र पठाउनेलाई कारबाही गरेको देखिएको छैन । काठमाडौंको कतिवटा कन्सल्टेन्सीमा घुमेर अफर रिजेक्ट गरेर यसमा आइपुगेको हो,’ काभ्रेका ३२ वर्षीय सुनिल तामाङले भने ।

उनका अनुसार कोज्मोका कर्मचारीले ठगी हुन्छ भन्ने अविश्वास गर्ने ठाउँ छाडेनन् । ‘हामीलाई यस्तो तरिकाले काउन्सिलिङ गरियो कि कुनै पनि तरिकाले फस्ने बाटो नै देखिएन,’ उनले भने ।

सुनिलले हिमा र आस्थासँग आधिकारिक मागपत्रको लट नम्बर पनि खोजेका थिए । वैदेशिक रोजगार विभागबाट मागपत्र प्रमाणीकरण भएपछि मात्रै आधिकारिक लट नम्बर दिइन्छ ।

वर्क परमिट कागज छ, तर भेरिफिकेसन छैन

पैसा बुझाएको चार महिनापछि वर्क परमिट आएको भन्दै कागज दिइएको थियो । उनीहरुलाई दुई दिनभित्र थप दुई लाख बुझाउन समय दिइएको थियो ।

300 people were defrauded of crores of rupees by promising to take them to Bulgaria and Croatia‘वर्क परमिट अंग्रेजीमा थिएन । हामीले गुगल ट्रान्सलेसन गरेर हेरेका थियौं । त्यसमा काम, तलब, काम गर्ने समय, खानपान सुविधा, मेडिकल इन्सुरेन्स आदि उल्लेख थियो,’ नुवाकोटका २४ वर्षीय सुरज लामाले भने । उनले पनि दुई लाख ४७ हजार रुपैयाँ बुझाएका थिए । सबैले रकम कोज्मो र सञ्चालक लालबाबु रामको बैंक खातामा जम्मा गरेका थिए ।

 

300 people were defrauded of crores of rupees by promising to take them to Bulgaria and Croatiaयसरी कोज्मोले झन्डै तीन सय जनाबाट प्रतिव्यक्ति सरदर दुई लाख ५० हजार रुपैयाँ गरी ७ करोड ५० लाख रुपैयाँ उठाएको पीडितहरूको भनाइ छ । ‘कतिपयसँग त ७ लाख पनि उठाएको छ । कोज्मोबाट ठगिने पीडितहरु बढ्दैछन् । कर्मचारीकै कुरा सुन्दा १५ करोडभन्दा बढी ठगी गरेको छ,’ कार्कीले भने ।

कर्मचारी नियन्त्रणमा, सञ्चालक फरार

वैदेशिक रोजगार विभागले कोज्मोबाट ठगिएका पीडितहरूको उजुरी लिन बिहीबारदेखि सुरु गरेको छ । कोज्मोका म्यानेजर हिमा नायक र कर्मचारी आस्था खड्का प्रहरीको नियन्त्रणमा छन् । मुख्य सञ्चालक लालाबाबु राम भने फरार छन् । पीडितहरूले नै हिमा र आस्थालाई पक्राउ गरी सोमबार प्रहरीको जिम्मा लगाएका थिए ।

‘जब हामी स्क्याममा परेको महसुस गर्‍यौं, अफिसको स्थिति बुझ्न जाँदा बन्द थियो । सबै साथीहरूले अफिसलाई निगरानी गर्न थाल्यौं,’ नवलपरासीका ४५ वर्षीय जागेश्वर रिजालले भने ।

दुवै जनालाई लिएर पीडितहरूले मोटरसाइकलमा हालेर विभागमा लगे । त्यहाँ पार लागेन । कालीमाटी प्रहरी वृत्तबाट आएको प्रहरी टोलीले लिएर गयो । ‘प्रहरी छाडिदिएपछि फेरि हामीले उम्कन दिएनौं । दुवैलाई कोज्मोमा लिएर आयौं । रात परिसकेको थियो । हामीले पैसा फिर्ता नदिएसम्म उम्कन नदिने बताएपछि बानेश्वर प्रहरी वृत्तबाट प्रहरी आए । उनीहरूले प्रहरी समक्ष आत्मसमर्पण गरे,’ कार्कीले बताए ।

प्रहरी समक्ष हिमा र आस्थाले सञ्चालक लालबाबुले आफूहरूलाई फसाएको बताएका छन् । पीडितहरूले १०–१५ जनाको समूह बनाएर विभागमा उजुरी दिन थालेका छन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक मीरा आचार्यले अनुसन्धान प्रक्रियालाई अगाडि बढाएको बताइन् । ‘कोज्मोबाट कति जना ठगिएका भन्ने विषय एकिनसँग अहिले भन्न सकिँदैन । थुनामा रहेका कर्मचारीले तीन सय जति ठगिएको प्रारम्भिक रूपमा भनेका छन् । अहिलेको मुख्य विषय संख्या मात्रै होइन, मुख्य विषय भनेको वैदेशिक रोजगारीको काम कन्सल्टेन्सीले गरेको कारणले समस्या आएको हो,’ महानिर्देशक आचार्यले इकान्तिपुरसँग भनिन्, ‘विभागमा दर्ता भएका संस्थाले मात्रै वैदेशिक रोजगारीको काम गर्न पाउँछन् । दिनप्रतिदिन एजुकेसन कन्सल्टेन्सीबाट ठगिने केसहरू बढीरहेका छन् । यस ठगी प्रकरणमा अनुसन्धान अधिकृत तोकिसकेको छ।’

सम्बन्धित समाचार :

जोखिम उठाएर युरोप जाँदै नेपाली श्रमिक

बेलायत पठाउने भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully