जिल्ला निर्वाचन कार्यालय हुम्लालाई वडा कार्यालयले एकै पटक दुई पत्र पठाएर सडक खुलाउन र त्यस्तो अवस्था नरहे वडाको निर्वाचन दोस्रो चरणमा सार्न माग गरेको छ ।
What you should know
जुम्ला र डोल्पा — प्रतिनिधिसभा निर्वाचनका लागि तीन साता मात्र बाँकी रहँदा हुम्लाको नाम्खा गाउँपालिकाका मतदातालाई गाउँ फर्किन समस्या देखिएको छ । बाक्लो हिउँका कारण बाटो अवरुद्ध हुँदा जाडो छल्न बेंसी झरेका मतदाता गाउँ फर्किन सकिरहेका छैनन् । जसले गर्दा चुनावमा कम मत खस्ने अवस्था रहेको जनप्रतिनिधिहरूको भनाइ छ ।
नाम्खा गाउँपालिका–६ ले हिउँ पन्छाएर तत्काल बाटो खुलाइदिन सरकारसमक्ष माग गरेको छ । वडा कार्यालयले सरकारलाई पत्र लेख्दै बाटो खुलाउनुपर्ने र नभए मतदान सार्न माग गरेको छ । पत्रमा भनिएको छ, ‘नाम्खा–६ का धेरै मतदाता यतिबेला जिल्ला बाहिर छन् । न्यालु लेकमा बाटो अवरुद्ध छ, सडक खुलाएर मतदातालाई निर्बाध गाउँ फर्कने वातावरण बनाइदिन आग्रह छ ।’ न्यालु लेक समुद्री सतहदेखि ५२ सय मिटर उचाइमा पर्छ ।
जिल्ला निर्वाचन कार्यालय हुम्लालाई वडा कार्यालयले एकै पटक दुई पत्र पठाएर सडक खुलाउन र त्यस्तो अवस्था नरहे वडाको निर्वाचन दोस्रो चरणमा सार्न माग गरेको छ । नाम्खा–७ लिमीमा ६ सय ७२ मतदाता छन् । तीन वटा मतदानस्थल तोकिएको उक्त क्षेत्रमा अधिकांश मतदाता जाडो छल्न काठमाडौं, सुर्खेत, नेपालगन्ज वा केही मतदाता रोजगारीका सिलसिलामा भारत पुगेका छन् ।
‘यही अवस्था हो भने नाम्खामा मत खस्ने सम्भावना छैन,’ नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङले भने, ‘सरकारले नारा र न्यालु लेकको हिउँ हटाइदिनुपर्छ । या निर्वाचन सारेर अर्को चरणमा मतदान गर्ने व्यवस्था मिलाइदिनुपर्छ । नत्र कुनै पनि हालतमा मतदाता गाउँ फर्किने अवस्था छैन ।’
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा–६ का लिमी, तिल, जाङ र हल्जी गाउँका बासिन्दा जिल्लाबाहिर छन् । न्यालु लेकमा बाक्लो हिउँ जमेकोले आवतजावतमा समस्या भइरहेको स्थानीयको भनाइ छ । नाम्खा–५ मा पर्ने नारा लेकमा पनि हिउँ जमेर ओहोरदोहोर गर्न सकिने अवस्था नभएको स्थानीय जनप्रतिनिधि बताउँछन् । सशस्त्र प्रहरीको सीमा सुरक्षा बेसक्याम्प (बीओपी) हिल्साका इन्चार्ज कृष्ण दाहालले हिमपातले ८ र ९ नम्बर पिलरसम्म अनुगमनमा जानसमेत कठिन भएको बताए । उनका अनुसार नारा र न्यालु लेकमा ३ देखि ४ फिटसम्म हिउँ जमेको छ । ‘मतदाता त गाउँ जानै समस्या छ । त्यो भन्दा बढी मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मीसमेत परिचालन गर्न समस्या देखिएको छ,’ उनले भने ।
उपल्लो डोल्पाका ३ पालिकाका ३० प्रतिशत मतदाता बाहिरै
हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका तीन पालिकाका ३० प्रतिशत मतदाता आफ्नो थातथलो भन्दा बाहिर रहेको पाइएको छ । जिल्ला निर्वाचन अधिकारी दिलकृष्ण श्रेष्ठले उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुन्डो गाउँपालिकाका १३ सयभन्दा धेरै मतदाता जिल्ला बाहिर रहेको सर्वेक्षणले देखाएको हो । उपल्लो डोल्पाका ती ३ पालिकाका कुल ४ हजार ३ सय ६६ मतदाता छन् । जिल्लास्थित सुरक्षा संयन्त्रद्वारा तल्लो डोल्पाका २९ वटा मतदान केन्द्रमा गरिएको स्थलगत अनुगमनमा भने खासै चुनौती नदेखिएको उल्लेख छ ।
‘उपल्लो डोल्पाका जनप्रतिनिधिहरूले धेरै मतदाता बाहिर भएको र हिमपातका कारण बाटो बन्द भएकाले २१ फागुनको निर्वाचनअघि फर्कन नसक्ने भनेर लिखित रूपमै जानकारी गराएपछि सर्वेक्षण गरिएको हो’ श्रेष्ठले भने । उनका अनुसार पालिकाकै सम्पर्क व्यक्ति तोकेर सर्वेक्षण गर्दा कुल मतदाताको ३० प्रतिशत बाहिरै भएको देखिएको हो ।
शे–फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष पेमा वाङ्छेन गुरुङले सरकारले हिउँदमा आफ्नो थातथलो छाडेका मतदातालाई फर्काउन पहल नगरे धेरै जना मतदान गर्नबाट छुट्न सक्ने भन्दै चिन्ता व्यक्त गरे । ‘तीन पालिकाका ३० प्रतिशतभन्दा धेरै मतदाता गाउँमा छैनन् । कोही चिसो छल्न तल्लो डोल्पा झरेका छन्, कोही कामविशेषले नेपालगन्ज, काठमाडौंलगायत सहर/बजार पुगेका छन्,’ गुरुङले भने, ‘पटक–पटकको हिमपातले गाउँ फर्कने बाटाघाटा सबै बन्द हुँदा मतदातका लागि जान सक्ने अवस्था पनि न्यून छ । यस्तो अवस्थामा मतदातालाई कसरी निर्वाचन क्षेत्रमा लैजान सकिन्छ भनेर सरकारले समयमै सोच्नुपर्छ ।’ मतदाता पनि मत हाल्न नपाइने हो कि भन्ने चिन्तामा जनप्रतिनिधिहरूसँग गुनासो गरिरहेको उनले बताए ।
उपल्लो डोल्पाका जनप्रतिनिधिहरूले सरकारलाई हिमाली क्षेत्रको निर्वाचन सारिदिनसमेत आग्रह गरेका छन् । निर्वाचन एकै पटक गर्ने भए आवश्यक सामग्री र कर्मचारी मात्र नभई मतदातालाई समेत हेलिकोप्टरमार्फत पुर्याइदिनुपर्ने उनीहरूको धारणा छ । प्रमुख जिल्ला अधिकारी जुनु ढकालले यस विषयमा निर्वाचन आयोगलगायतका निकायसँग समन्वय भइरहेको बताइन् । उनले जिल्लाबाहिर गएका मतदाता फर्कन नसक्नुमा हिमपात कारण भएको बताइन् ।
