नियुक्ति, सरुवा-बढुवामा विचौलियाहरु हावी भए : प्रमुख आयुक्त राई

अख्तियारको ३५ औं स्थापना दिवसका अवसरमा बोल्दै राईले कसुर गर्नेमाथि अख्तियारले दण्डात्मक कारबाही गर्ने तर सुशासनका लागि दण्डात्मक मात्रै सुधारको आधार नभएको बताए।

माघ २८, २०८२

कान्तिपुर संवाददाता

Middlemen dominate appointments, transfers and promotions: Chief Commissioner Rai

What you should know

काठमाडौँ — अख्तियार दुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सुशासन कायम गर्न दिइएका सुझाव सम्बन्धित पक्षले अपेक्षित पालना नगरेको बताएका छन् । उनले भ्रष्टाचार नियन्त्रण आयोगको मात्रै काम नभएको र राज्यका कार्यकारी संयन्त्र नै बढी जिम्मेवार रहेको बताए ।

अख्तियारको ३५ औं स्थापना दिवसका अवसरमा बोल्दै राईले कसुर गर्नेमाथि अख्तियारले दण्डात्मक कारबाही गर्ने तर सुशासनका लागि दण्डात्मक मात्रै सुधारको आधार नभएको बताए । नीतिगत निर्णयको आवरणमा हुने भ्रष्टाचार र अनियमिततालाई अनुसन्धानको दायरामा ल्याउने गरी कानुन बनाउन पनि उनले आग्रह गरे ।

राईले अख्तियारले आफ्नो संवैधानिक जिम्मेवारी पूरा गर्दै आएको बताए । तर, अरु संयन्त्रबाट आशातित काम हुन नसकेको भन्दै असन्तुष्टि जनाए । भ्रष्टाचार नियन्त्रण र सुशासन प्रबर्द्वनमा आयोगले रणनीतिक योजना पनि कार्यान्ववयनमा ल्याइएको पनि बताए । अनुसन्धानलाई प्रभावकारी बनाउन वस्तुनिष्ठ अनुसन्धानमा नविनतम प्रवधि प्रयोग गरिएको पनि उनले बताए । 

तथ्य र प्रमाणका आधारमा जुनसुकै राजनीतिक र प्रशासनिक तहका मानिसलाई अभियोजनको दायरामा ल्याइएको पनि उनले बताए । अनुसन्धानमा सम्बन्धित निकायबाट अपेक्षित सहयोग नभएको भन्दै उनले असन्तुष्टि जनाए । सरुवा, बढुवा, मन्त्री नियक्तिलगायतमा विचौलियाको दबदबा बढेको भनेर असन्तुष्टि बढेको बताए । 

विचौलियाहरुलाई निषेध गरेमात्रै सुशासन कायम र भ्रष्टाचार नियन्त्रणमा अपेक्षित उपलब्धि हासिल गर्न सकिने उनको भनाइ छ । निर्माणलगायतमा कानुन पालनामा संघ, प्रदेश र स्थानीय सरकार तिनै तह गम्भीर हुनुपर्ने उनले बताए । ठेक्कापट्टाबाट हुने अनियमितता जोखिमको क्षेत्र रहेको बताए । सेवा प्रवाहमा विचौलिया प्रवेश, निर्णय प्रक्रियामा आलटाल भइरहेको भन्दै सुधार आवश्यक रहेको बताए ।

भूमि, वैदेशिक रोजगारी, अध्यागमन, वन, यातायात, भन्सार प्रशासनलगायत क्षेत्र जोखिम क्षेत्रका रुपमा रहेको र अनियमिततामा संलग्नलाई नियन्त्रणमा ल्याउन अख्तियार गम्भीर रुपमा लागेको बताए । सुशासनका लागि आयोगले दिएका सुझाव र सुधारलाई सम्बन्धित पक्षले अपेक्षित कार्यान्वयन नगरेको भन्दै उनले यसप्रति सचेत गराए ।

नेपालमा अपराध गरेर आर्जन गरेको धन विदेशमा लुकाउनेलाई कारबाहीको दायरामा ल्याउन विभिन्न मुलुकसँग पारस्पारिक कानुन र द्विपक्षीय सम्झौता गर्न पनि उनले सकारसँग आग्रह गरे । आयोगको छानबिन र अनुसन्धानलाई देखाएर विकास निर्माण र सेवा प्रवाहजन्य काममा पदीय जिम्मेवारीबाट विमुख नहुन पनि उनले चेतावनी दिए । शक्ति र सत्तामा रहेकाहरु पुरस्कृत हुने र इमान्दार प्रशासक पछि परिरहने प्रवृत्तिको पनि अन्त्य हुनु पर्ने राइको भनाइ छ ।

कान्तिपुर संवाददाता

Link copied successfully