कुनै लोकतान्त्रिक देशका आन्दोलन वा प्रदर्शनमा अमेरिकी भूमिका छैन : रोबर्ट योर्क

'ती समाजका नागरिकले आफैं आवाज उठाए र परिवर्तनको माग गरे । अमेरिका ती आन्दोलनहरूको श्रेय लिन चाहँदैन ।'

माघ २७, २०८२

कान्तिपुर संवाददाता

US has no role in any democratic country's protests or movements: Robert York

काठमाडौँ — अमेरिकी थिंकट्यांक प्यासिफिक फोरमका क्षेत्रीय मामिला निर्देशक रोबर्ट योर्कले कुनै पनि लोकतान्त्रिक देशका आन्दोलन वा प्रदर्शनमा अमेरिकी भूमिका नरहेको स्पष्ट पारेका छन् । 

कान्तिपुर कन्क्लेभको दोस्रोव दिनको तेस्रो सत्र 'शक्तिको रस्साकसीमा नेपाल'मा बोल्दै उनले भने, 'युक्रेन, हङकङ, बंगलादेश वा नेपालमा भएका लोकतान्त्रिक आन्दोलन वा प्रदर्शन अमेरिकाले सिर्जना गरेका होइनन् । ती समाजका नागरिकहरूले आफैं आवाज उठाए र परिवर्तनको माग गरेका हुन् । अमेरिका ती आन्दोलनहरूको श्रेय लिन चाहँदैन ।' 

आगामी निर्वाचनपछि आउने सरकारलाई उत्तम अभ्यास, नयाँ प्रविधि र आधुनिक प्रविधि सिक्नका लागि उपयुक्त वातावरण सिर्जना गर्नु अत्यन्त महत्वपूर्ण रहेको उनले बताए । 'प्रभावकारी नीतिहरू अपनाउनुपर्छ र युवाहरूमा लगानी गर्नुपर्छ, ताकि उनीहरूले सीप र कार्यअनुभव हासिल गर्न सकून् । सक्षम निजामती सेवा र राम्रो नीतिगत संरचना दिगो आर्थिक वृद्धिका लागि आवश्यक हुन्छ,' उनले भने, 'यही कुरा धेरै तथाकथित ‘चमत्कारिक अर्थतन्त्र’हरूको सफलताको कथामा देखिन्छ । विभिन्न समयमा सफल देशहरूले सिक्ने, अनुकूलन गर्ने र संस्थाहरूलाई बलियो बनाउने काममा ध्यान दिएका छन् ।'

आफ्नो देशको भविष्यतर्फ हेरेर त्यसमा लगानी गर्न पनि उनले सुझाए । 'विकास र लोकतन्त्रको जिम्मेवारी अन्ततः हरेक देशभित्रै निहित हुन्छ,' उनले भने ।

कान्तिपुर

Link copied successfully