बालबालिकादेखि अभिभावकलाई सामाजिक सञ्जाल प्रयोगसम्बन्धी शिक्षा दिनुपर्ने उनले बताइन् ।
काठमाडौँ — पूर्वशिक्षामन्त्री तथा राजनीतिकर्मी सुमना श्रेष्ठले सामाजिक सञ्जालको प्रयोग बढ्दै गए पनि त्यसको प्रयोगसम्बन्धी सिकाइ नभएको बताएकी छन् ।
कान्तिपुर कन्क्लेभअन्तर्गत 'नीति, नेता र नेतृत्व' विषयक सत्रमा बोल्दै उनले बालबालिकादेखि अभिभावकलाई सामाजिक सञ्जाल प्रयोगसम्बन्धी शिक्षा दिनुपर्ने बताइन् ।
‘सामाजिक सञ्जालले नागरिकलाई बलियो बनाएको छ । निर्वाचनको खर्च घटाएको छ,’ उनले भनिन्, ‘सामाजिक सञ्जाल प्रयोगबारे सिकाइ छैन । छलफल पनि भएको छैन । दुरुपयोग हुने जोखिम पनि छ ।’
सामाजिक सञ्जालको राम्रो/नराम्रो, फाइदा/बेफाइदाबारे सिकाइ र शिक्षा दिनुपर्ने उनले बताइन् । ‘डिजिटल सामग्रीको प्रयोगले स्वास्थ्यमा पर्ने असरबारे कुरा भएको छैन । डिपफेकका सामग्री बढ्दै छन् । बालबालिका, अभिभावकदेखि नागरिकलाई सिकाउनुपर्छ,’ श्रेष्ठले भनिन् ।
