जेन–जी युवाले उठाएको आवाज प्रशंसनीय भए पनि त्यस्तै अवस्था फेरि नदोहोरियोस् भन्नेमा सचेत रहन आग्रह
What you should know
काठमाडौँ — इरानकी नोबेल शान्ति पुरस्कार विजेता शिरिन एबादी, अरब स्प्रिङकी आवाज ट्युनियन गायक एमेल माथलुथीदेखि नेपालमा जस्तै युवाको विद्रोह भएका श्रीलंका र बंगलादेशका प्रतिनिधिसम्मले आन्दोलनले मात्र दीर्घकालीन परिवर्तन नहुने भन्दै सचेत गराएका छन् ।
लोकतन्त्रको आधार स्तम्भ नै मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रता भएकाले त्यसका लागि जेन–जी युवाले उठाएको आवाज प्रशंसनीय भए पनि त्यस्तै अवस्था फेरि नदोहोरियोस् भन्नेमा सचेत रहन उनीहरूले नेपाली युवालाई आग्रह गरेका हुन् ।
‘धेरै युवा आन्दोलन गर्छन्, तर त्यसपछि पछि हट्छन्, केवल आवाज उठाउँदैमा मात्र सबै कुरा समाधान हुन्छन् भन्ने हुँदैन,’ इरानकी प्रख्यात मानवअधिकार वकिल, पूर्वन्यायाधीश एवं नोबेल शान्ति पुरस्कार विजेता एबादीले ‘कान्तिपुर कन्क्लेभ २०२६’ मा भनिन्, ‘उनीहरूले प्रणालीभित्र प्रवेश गर्नुपर्छ, समाधानको प्रस्ताव गर्नुपर्छ, किनारामा उभिएर मात्र कराउनुको सट्टा परिवर्तनमा हिस्सा बन्नुपर्छ ।’
कान्तिपुर कन्क्लेभ २०२६ अन्तर्गत ‘परिवर्तनको प्रश्न’ शीर्षकको बहसमा उनले नेपालको जेन–जी आन्दोलन ध्यानपूर्वक अध्ययन गरेको उल्लेख गर्दै आन्दोलनप्रति सम्मान पनि व्यक्त गरिन् । ‘तपाईंहरूको देशमा भएको अशान्तिका क्रममा केही प्रदर्शनकारी मारिएको खबर सुन्दा मलाई अत्यन्त दुःख लागेको छ । म पीडित परिवार र तपाईंहरूको जनताप्रति, विशेषगरी आफ्नो आवाज सुनाउन उठेका युवा पुस्ताप्रति गहिरो समवेदना व्यक्त गर्न चाहन्छु,’ उनले भनिन्, ‘यहाँ सौभाग्यवश, युवाका आवाज बेवास्ता भएनन् । राजनीतिक परिवर्तन भएको छ, सरकारले राजीनामा दिएको छ र चाँडै नै मध्यावधि निर्वाचन हुने अपेक्षा गरिएको छ । यसले युवाका आवाजले प्रभाव पार्न सक्छ भन्ने देखाएको छ ।’
उनले नारा लगाएर नभई सहभागी बन्दै नेतृत्व दिएर भविष्य निर्माणमा योगदान दिन आग्रह गरिन् । सन् २०१० देखि सुरु भएको र जनसहभागिताका हिसाबले २१ औं शताब्दीकै सबैभन्दा ठूलो आन्दोलन ट्युनिसियाली क्रान्ति ‘अबर स्प्रिङ’ को चर्चित गीत ‘माई वर्ड इज फ्री’ की गायक एमेल माथलुथीले ट्युसियाको उदाहरण दिँदै त्यहाँको संक्रमण तुलनात्मक रूपमा शान्तिपूर्ण भएको बताइन् ।
‘अभिव्यक्ति स्वतन्त्रतामा ठूलो परिवर्तन आयो, मिडिया स्वतन्त्र भयो, मानिसहरूले बोल्न पाए,’ उनले भनिन्, ‘तर पछिल्लो राष्ट्रपतिको कार्यकालमा अवस्था फेरि बिग्रियो । पत्रकार, वकिल, मानवअधिकारकर्मी जेलमा छन्, देश कता जाँदै छ भन्ने अनिश्चितता छ ।’
‘आन्दोलनबाट अवसरतर्फ’ शीर्षकको सत्रमा बोल्दै उनले आफूले बाल्यकालदेखि नै स्वतन्त्रता मन पराउने गरेको र शासकद्वारा शासित हुन नचाहेको स्मरण गरिन् । ‘बिस्तारै त्यो शासकीय प्रणालीविरुद्ध बोल्नुपर्छ भन्ने लाग्यो । र, म कसैका लागि आवाज बन्न सक्छु भने किन नबन्ने भनेर गीतमार्फत विरोध गरें । मेरो आवाज आवाजविहीनका लागि थियो,’ उनले भनिन् ।
ट्युनिसिया १९५७ मा स्वतन्त्र भएदेखि २०११ सम्म देशमा दुई जना राष्ट्रपति भएको र दुवै तानाशाह भएको उल्लेख गर्दै उनले आफूहरू तानाशाहीमै हुर्किएको र अरू कुनै राजनीतिक वास्तविकता नदेखेको बताइन् । ‘तानाशाहीमा मानिसहरू आफैंले पनि सेल्फ–सेन्सरसिप गर्न थाल्छन्, सरकारले केही भन्नुअघि नै मानिस चुप लाग्छन्,’ उनले भनिन्, ‘त्यो अवस्था देखेर म निराश र आक्रोशित हुन्थें, युवाका सपना हुन्छन् तर तानाशाहीमा उनीहरूलाई सिर्जना गर्न, बोल्न, जिज्ञासु बन्न ठाउँ हुँदैन ।’
उनले पहिले राम्रो थियो कि अहिले भन्नेजस्ता बहस उपयुक्त नलाग्ने भन्दै आफूहरूलाई सम्मानजनक जीवन चाहिने बताइन् । ‘क्रान्ति आवश्यक थियो, जब मानिस लामो समयसम्म दबाबमा बस्छन्, एक दिन विस्फोट हुन्छ, उपनिवेशवादले तानाशाही जस्तो घाउ छाड्छ, त्यो निको हुन समय लाग्छ,’ उनले थपिन्, ‘म भविष्यतर्फ हेर्न चाहन्छु र राम्रो समय अझै आउन बाँकी छ भन्ने विश्वास राख्छु ।’
बंगलादेशको ‘सेन्टर अफ कभनेन्स स्टडिज’ की रिसर्च एसोसिएट एवं समाजशास्त्री मार्जाना महनाजले आफ्नो देशमा पनि निर्वाचन हुन लागेको स्मरण गराउँदै राजनीतिक संक्रमणपछि निर्वाचन गर्न ढिलाइ गर्न नहुने बताइन् । ‘लामो अनिश्चितताले अतिवादी समूहलाई संगठित हुने ठाउँ दिन्छ,’ उनले भनिन्, ‘क्रान्ति सधैं अनिश्चित हुन्छ, तपाईं लोकतान्त्रिक परिवर्तनका लागि संघर्ष गर्नुहुन्छ, तर त्यसले शक्ति शून्यता सिर्जना गरेर अन्य शक्तिलाई सत्तामा ल्याइदिन सक्छ ।’
बंगलादेशमा १ जुलाई २०२५ देखि एक महिनासम्म चलेको कोटा प्रणालीविरुद्धको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर सैनिक सहयोगमा हेलिकोप्टर चढेर भारत भागेकी थिइन् । ढाका विश्वविद्यालयका ५ विद्यार्थीको नेतृत्वबाट सुरु भएको आन्दोलनलाई व्यापक दमन गरेपछि झन् उग्ररूप लिएको थियो । कम्तीमा ३ सय जनाको मृत्यु भइसकेको अवस्थामा प्रदर्शनकारीले प्रधानमन्त्रीको सरकारी निवास गणभवन घेरे, त्यसपछि हसिना देश छाडेर भागेकी थिइन् । अहिले प्रोफेसर मोहम्मद युनुस नेतृत्वको सरकारले त्यहाँ चुनाव गराउँदै छ ।
‘हामी छिट्टै निर्वाचनतर्फ जाँदै छौं, अहिले बंगलादेशको अवस्था सतहमा हेर्दा शान्त देखिन्छ तर विगतका निर्वाचनमा हामीले देखेका छौं, यस्तो शान्ति धेरै समय टिक्दैन,’ मार्जानाले भनिन्, ‘आमजनतामा मेरो आफ्नै समुदायमा पनि उत्साहभन्दा बढी डरको भावना छ, पछिल्लो डेढ वर्षमा धार्मिक अतिवादको वृद्धि चिन्ताजनक रूपमा देखिएको छ ।’
केही अघि एक हिन्दु व्यक्तिलाई भीडले जलाएको घटना स्मरण गर्दै उनले भनिन्, ‘पछि थाहा भयो कि उनलाई जे बोले भनेर त्यस्तो गरिएको थियो, त्यो उनले बोलेकै थिएनन्, हल्लाका आधारमा भएको भीडको हिंसा थियो ।’ भीडले बंगलादेशमा समाचार संस्थाका कार्यालयहरूमा समेत आक्रमण गरेर जलाएको स्मरण गर्दै उनले भनिन्, ‘कानुन कार्यान्वयन गर्ने निकायहरू यस्ता घटना रोक्न असफल भइरहेका छन् ।’
जुलाई २०२४ को आन्दोलनपछि जनता राजनीतिक रूपमा पहिलेभन्दा सचेत भएको उनको अनुभव छ । ‘अहिले जनतामा अधिकारप्रति प्रश्न उठाउने र जवाफदेहिता माग गर्ने साहस बढेको छ, प्रतिरोध र लचकता पहिलेभन्दा बलियो देखिन्छ,’ उनले नेपाली जेन–जी युवालाई समेत सुझाव दिँदै भनिन्, ‘जेन–जीले आन्दोलनका नायकहरूलाई पनि प्रश्न गर्नुपर्छ, उनीहरू दीर्घकालीन लोकतान्त्रिक दृष्टिकोण राख्छन् भन्ने छैन, कतिपय शक्तिले शून्यताको फाइदा उठाउन सक्छन्, नागरिक सतर्कता अत्यन्त जरुरी छ । नयाँ नेताहरू पनि पुरानाजस्तै अधिनायकवादी नबनून् भन्नका लागि जनताले निरन्तर निगरानी र दबाब दिनुपर्छ ।’
श्रीलंकाकी वरिष्ठ पत्रकार कामन्थी विक्रमसिंघेले २३ वर्षदेखि समाज र राजनीतिबारे लेख्दै आएको बताइन् । ‘सन् २०२२ मा श्रीलंकामा जे भयो, त्यो अहिले विश्वभर देखिएको युवा आन्दोलनसँग केही हदसम्म मिल्दोजुल्दो भए पनि सन्दर्भ फरक छ,’ उनले भनिन्, ‘लामो गृहयुद्धपछि देश शान्तितिर जाँदै थियो, तर राजनीतिक सत्ता फेरिए पनि भ्रष्टाचार, नातावाद र कमजोर सुशासन जस्ताको तस्तै थिए, सन् २०१९ पछि सरकारले केही निर्णय गर्यो, जसले ठूलो आर्थिक संकट ल्यायो । लामो लोडसेडिङ, इन्धन अभाव र खाद्यको मूल्यवृद्धिजस्ता विषयले मध्यमवर्ग र श्रमिकलाई सडकमा ल्यायो ।’
सुरुमा मागहरू आर्थिक विषयसँग जोडिए पनि पछि भ्रष्टाचार अन्त्य र प्रणालीगत सुधारतर्फ केन्द्रित भएको उनले बताइन् । ९ जुलाई २०२२ मा जनताले सरकारी भवन कब्जा गरेपछि राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिई देश छाडेर भागेका थिए । यसपछिको अवस्था हेर्दा श्रीलंकाको जस्तो आन्दोलनले सरकारलाई सुधारतर्फ धकेल्न सक्ने भए पनि संरचनागत परिवर्तनका लागि समय लाग्ने उनले बताइन् । ‘श्रीलंकाको अनुभवले देखाउँछ, परिवर्तन क्रमिक हुन्छ, निरन्तर नागरिक सहभागिता र मिडिया निगरानी आवश्यक हुन्छ,’ उनले भनिन् ।
जेन–जी अगुवा तनुजा पाण्डेले नेपालको जेन–जी आन्दोलन अरू कुनै देशको नक्कल नभई स्थानीय यथार्थमा आधारित एजेन्डा लिएर सुरु भएको बताइन् । ‘सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध एउटा ट्रिगर थियो, तर त्यही मात्र कारण थिएन,’ द काठमान्डु पोस्टका सम्पादक विश्वास बरालले मोडरेट गरेको सेसनमा उनले भनिन्, ‘नेतृत्वमा भएको पारदर्शिता र जवाफदेहिताको अभाव, शासन प्रणाली अपारदर्शी हुनुजस्ता कारणले हामी सडकमा आउन बाध्य भएका थियौं ।’
आफूहरूले सत्ता ढालेको नभई युवा प्रदर्शनकारीमाथि गरेको दमनका कारण सरकार आफ्नै कमजोरीले ढलेको उनले बताइन् । जेन–जी आन्दोलनपछिको अवस्थामा सत्तामा पुग्नेहरूलाई पनि आफूहरूले प्रश्न गर्न नछाड्ने उनको भनाइ छ । ‘दक्षिण एसियामा नेताहरूलाई देवताजस्तै गरी पूजा गर्ने संस्कार छ, यो सोच हामीले तोड्नुपर्छ, नयाँ अनुहार पनि प्रश्नको घेरामा आउनुपर्छ,’ उनले भनिन्, ‘अघिल्लो पुस्ताले नेताहरूलाई प्रश्न नगरेर गल्ती गरे, हामीले त्यो दोहोर्याउनु हुँदैन ।’ आन्दोलन आफैंले समाधान नदिने स्विकार्दै उनले भनिन्, ‘तर, त्यसले परिवर्तनको ढोका खोल्छ, त्यसका लागि सबै राजनीतिमै होमिनुपर्छ भन्ने पनि होइन । आफ्नो पेसागत क्षेत्रबाट पनि योगदान दिन सकिन्छ, म वकिल भएको नाताले कानुनी सुधारमार्फत पनि काम गर्न सक्छु ।’
राजनीतिक विश्लेषक हरि शर्माले नागरिकको आवाज नसुन्ने प्रणाली प्रजातन्त्र हुन नसक्ने टिप्पणी गरे । ‘अहिले अभ्यास गरिरहेको प्रजातन्त्र अंकमा निर्भर छ, जसले जति भोट ल्याउँछ, त्यसैअनुसार हुन्छ,’ उनले भने, ‘अंक, नम्बर र आवाजलाई ब्यालेन्स गर्न सकिएन भने प्रजातन्त्र दिगो हुँदैन ।’
‘विचारधाराको अन्त्य ? : नेपाली राजनीतिको रेट्रोफिटिङ’ सत्रमा बोल्दै उनले भोटको अंक मात्र गणना गर्दा न्यायको कुरा ओझेलमा पर्ने बताए । ‘राजनीतिको प्राथमिकता रोजगारी हो कि सुशासन ? अस्पष्ट छ ।’ आफूले अहिले पनि आवाजमा विश्वास गर्ने शर्माले बताए । ‘म अघिल्लो पुस्ताको भएर पनि होला, छोराछोरीलाई फोन गर्छु, उनीहरू म्यासेज गर्नु भन्छन्,’ उनले भने, ‘म भ्वाइसमा विश्वास गर्छु, उनीहरू म्यासेजमा विश्वास गर्छन् ।’ डिजिटल प्रविधिले मारेको फड्कोले स्वायत्तता र सार्वभौमिकताको खोजी हुन थालेको उनको भनाइ छ ।
राजनीतिज्ञ घनश्याम भुसालले नेपालका आर्थिक र राजनीतिक उकुसमुकुस जेन–जीका नाममा पोखिएको बताए । ‘हाम्रो विकास, विकासको अवस्था र संविधानले बढाएको आकांक्षाहरू, ती आकांक्षा आफैंमा ठूलो शक्ति र सामर्थ्य हो जस्तो लाग्छ । संविधानपछि केही फरक मतका बाबजुद बनेका पछिल्ला राजनीतिक कामहरूले गर्दा त्यो आकांक्षाले बाटो पाएन, यसले ठूलो निराशा ल्यायो,’ भुसालले भने, ‘जति मान्छेमा आशा र उत्साह आउँछ त्यो पूरा नभएपछि त्यही किसिमको निराशा आउँछ ।’
संविधानले मौलिक अधिकार, रोजगारीको ग्यारेन्टी गरेको तर कार्यान्वयन नभएको भुसालको भनाइ छ । संविधानले सुनिश्चित गरेका कुरालाई जनताले मागिरहेको उल्लेख गर्दै उनले भने, ‘समृद्धि र समानताबीचको भिन्नतालाई छुट्याउन सकेनौं भने यो आन्दोलन जेन–जीका नाममा आयो, अर्को आन्दोलन अर्को नाममा आउँछ ।’
यस्तै ‘नेपाली क्रान्तिको यात्रा : विगतको विवेचना, आगतको आकलन’ सत्रमा राजनीतिक विश्लेषक सीके लालले जेन–जी आन्दोलन कार्यसूचीको नभई नाराको भएको टिप्पणी गरे । नेपालीले विगतदेखि नै ब्रान्डको राजनीति गर्दै आएको र जेन–जी आन्दोलन पनि त्यसैको निरन्तरता भएको उनको भनाइ छ ।
राजनीतिक विश्लेषक सीके लालले जेन–जी आन्दोलन कार्यसूचीको नभई नाराको भएको टिप्पणी गरे । नेपालीले विगतदेखि नै ब्रान्डको राजनीति गर्दै आएको र जेन–जी आन्दोलन पनि त्यसैको निरन्तरता भएको उनको भनाइ छ । ‘नेपालीलाई ब्रान्ड बडो मन पर्छ, चाइनाको नक्कली भए पनि ब्रान्डचाहिँ लगाउनुपर्ने । राजनीतिक कुरामा पनि ब्रान्ड एउटा लिनुपर्ने । अहिले ब्रान्ड के लियो भने जेन–जी । जेन–जी आन्दोलन नेपालको होइन, नव युवाहरूको । त्यो विरोध प्रदर्शनबाट सुरु भयो । विरोध प्रदर्शनको व्यवस्थापन गर्ने क्षमता थिएन,’ उनले भने, ‘विरोध प्रदर्शनको व्यवस्थापन हुन नसकेपछि विस्फोट भयो । जब विस्फोट भयो तब राज्यसत्ता र भूराजनीतिक शक्ति एउटै ठाउँमा आए । यसलाई विद्रोह, आन्दोलन वा क्रान्तितिर नजाऊ भनेर व्यवस्थापनचाहिँ राम्रोसँग गरे ।’
जेन–जी आन्दोलन नाराबाट सुरु भएकाले के हासिल भयो भन्ने प्रश्न गर्नु नै निरर्थक हुने उनले बताए । ‘जेन–जी आन्दोलन नाराबाट सुरु भएको थियो, कार्यसूचीबाट भएको थिएन । त्यसैले तपाईंको एजेन्डा के थियो, के हासिल भयो भन्ने प्रश्न नै निरर्थक हो,’ उनले थपे ।
भ्रष्टाचार, नेपो किड्स, तीन नेता मिलेर १० वर्षदेखि ‘म्युजिकल चेयर’ खेल्दाको गोलचक्करका कारण नेपालमा जेन–जी आन्दोलन भएको उनले बताए ।
‘असन्तुष्टि त व्यापक थियो, त्यसलाई इन्कार गर्न सकिँदैन तर असन्तुष्टिलाई सम्बोधन गर्ने कुनै राजनीतिक दल भइदिएको भए उसले कार्यसूची लिएर आउँथ्यो । उसले संगठनलाई परिचालन गर्थ्यो, त्यसको दृश्यमा नेतृत्व हुन्थ्यो, नियन्त्रण गर्न सक्थ्यो, गतिमाथि नियन्त्रण लिन सक्थ्यो, दिशा सकारात्मक बनाउन सक्थ्यो, तर असन्तोष विस्फोट भएर टुंगियो,’ उनले थपे ।
जेन–जी आन्दोलनका घाइते प्रकाश बोहराले देशलाई अब कता लैजाने भन्ने आमजनता र युवा पुस्ताको हातमा रहेको बताए । सबैले सही ठाउँमा मतदान गरे सही नेतृत्व आउने बताउँदै उनले आसन्न चुनावमा सक्षम व्यक्तिलाई रोज्न अनुरोध गरे । ‘फेरि पनि हामीले गल्ती गर्यौं भने, पुनः देश आन्दोलनमा गयो भने भोलि ठूलो क्षति हुन सक्छ,’ उनले भने ।
