राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबाट नियुक्त भएपछि नेपाल सरकारको स्वीकृतिमा याहियाले औपचारिक रूपमा नेपालमा कार्यकाल सुरु गरेकी हुन् ।
काठमाडौँ — नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक (रेजिडेन्ट कोअर्डिनेटर) लिला पिटर्स याहियाले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेकी छन् ।
नवनियुक्त संयोजक याहियाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री कार्कीलाई भेटी ओहदाको प्रमाणपत्र पेस गरेकी हुन् ।
राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबाट नियुक्त भएपछि नेपाल सरकारको स्वीकृतिमा याहियाले औपचारिक रूपमा नेपालमा कार्यकाल सुरु गरेकी हुन् । प्रधानमन्त्री कार्कीले नवनियुक्त संयोजक याहियालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएकी छन् ।
प्रधानमन्त्री कार्कीले भेटका अवसरमा गत २३ र २४ भदौको जेन-जी आन्दोलनपछि परिस्थितिलाई सामान्यीकरण गर्दै देशलाई शान्ति र लोकतन्त्रको बाटो हिँडाउन सरकार लागि परेको जानकारी पनि दिइन् । यस क्रममा संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त साथ, सहयोग र विश्वासका लागि उनले धन्यवाद पनि ज्ञापन गरिन् । सरकारको मुख्य कार्यादेशमध्ये निर्वाचन सम्पन्न हुने चरणमा पुगेको र २३ र २४ भदौको घटनाको जाँचबुझ पनि आयोगले अन्तिम चरणमा पुर्याएको जानकारी पनि प्रधानमन्त्री कार्कीले दिइन् ।
उनले राष्ट्र संघीय निकायहरुमार्फत नेपालको विकास र मानवीय सहायताका लागि प्राप्त सहयोग तथा साझेदारीको सह्राहना गरिन् । नवनियुक्त संयोजक याहियाले विषम परिस्थितिमा प्रधानमन्त्री बनेकी कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न हुन गइरहेकोमा बधाइ दिइन् ।
