कांग्रेस सभापति थापाले धेरै तलब दिने रोजगारी सिर्जना हुँदा त्यसले अरु रोजगारी आफैँ सिर्जना गर्ने बताएका छन् ।
What you should know
काठमाडौँ — कांग्रेस सभापति गगनकुमार थापाले देशमै उच्च तलब दिने रोजगारी सिर्जना गर्न उपयुक्त वातावरण बनाउनुपर्ने बताएका छन् ।
नेपाल इन्जिनियर्स एसोसियसन, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको आयोजना र केएण्डके इन्जिनियरिङ कन्सल्टिङको समन्वयमा सोमबार आयोजित ‘नेपालमा इञ्जिनियरका लागि रोजगारीको अवसर’ विषक अन्तरक्रियामा थापाले धेरै तलब दिने रोजगारीहरुको प्रवर्द्धन गर्नुपर्ने जोड दिएका हुन् ।
धेरै तलब दिने रोजगारी सिर्जना हुँदा त्यसले अरु रोजगारी आफैँ सिर्जना गर्ने थापाको भनाइ थियो । उनले नेपालमा इन्जिनियरिङ क्षेत्रले रोजगारीको अवसर सिर्जना गरिरहेको र थप रोजगारी सिर्जना गर्न आवश्यक नीतिगत सुधारका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा केएण्डके इन्जिनियरिङका अध्यक्ष पूर्ण खरेलले नेपालमा इन्जिनियरहरुको सम्भावना प्रशस्तै रहेको बताए । उनले आफ्नै संस्थामा नेपालमा डेढ सय इलेक्ट्रिकल इन्जिनियरले काम गरिररहेको भन्दै अबको तीन वर्षमा ६ सय इन्जिनियरका लागि रोजगारी सिर्जना गर्ने बताए । 'इन्जिनियरिङ अध्ययनका लागि प्लस टू सक्नासाथ देश छाडेर जान आवश्यक छैन । यहीँका कलेज राम्रा छन् । विदेशको काम नेपालबाटै गर्न सकिन्छ । अवसर नेपालमै आउँदैछ,' खरेलले भने । तर, उनले इलेक्ट्रिकल इन्जिनियरको माग बढे पनि पढ्नेको संख्या घटिरहेकोतर्फ भने चिन्ता व्यक्त गरे ।
अन्तरक्रियामा नेपाल इन्जिनियर्स एसोसियनका महासचिव रविभूषण झाले विदेशको काम ल्याएर नेपालमा रोजगारी दिइरहेका कम्पनीहरुलाई सरकारले सहुलियत दिनुपर्ने बताए । ‘इन्जिनियरिङ क्षेत्रले अहिले बाहिरको काम ल्याएर नेपालमै राम्रो तलब सुविधा दिने गरि रोजगारी सिर्जना गरिररहेको छ । यो सुखद् पक्ष हो,' उनले भने,'सरकारले नीतिगत रुपमै सहजीकरण गरे वर्षेनी थप हजारौं रोजगारी सिर्जना हुन्छ । यसतर्फ ध्यान पुगोस् ।'
कार्यक्रममा अन्य वक्ताहरुले नेपालको इञ्जिनियरिङ शिक्षा विश्वस्तरको रहेको भन्दै नेपाली विद्यार्थीलाई बाहिर जानबाट रोक्न सरोकारवालाले भूमिका खेल्नुपर्नेमा जोड दिए ।
