राष्ट्रिय सभाको १३ भदौ २०८२ मा बसेको बैठकले उक्त विधेयक उत्पति गरी दफाबार छलफलका लागि विधायक व्यवस्थापन समितिमा पठाएको थियो ।
काठमाडौँ — राष्ट्रिय सभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ । सभाको आजको बैठकमा राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको हो ।
सभाका अध्यक्ष नारायण दाहालले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गरेका हुन् । विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ सम्बन्धी विधायक व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गरेका थिए ।
सभाको १३ भदौ २०८२ मा बसेको बैठकले राष्ट्रिय सभाबाट उक्त विधेयक उत्पति गरी दफाबार छलफलका लागि विधायक व्यवस्थापन समितिमा पठाएको थियो । समितिमा ३५ जना सांसदले १५५ वटा संशोधन प्रस्ताव दर्ता गरेका थिए ।
समितिका सभापति दाहालले उक्त विधेयकमाथि सूचना तथा सञ्चार प्रविधिमन्त्री, मन्त्रालयका सचिव र सरोकारवालासँग विभिन्न चरणमा अनौपचारिक छलफल भएको जानकारी समेत गराए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत २० माघमा उक्त विधेयक फिर्ता माग्ने निर्णय गरी २१ माघको पत्रमार्फत सरकारका तर्फबाट विधेयक फिर्ता माग्ने निर्देशन भएको थियो ।
