लामाले काठमाडौं महानगरका पूर्वमेयर केशव स्थापित र पूर्व शिक्षामन्त्री महावीर पुनको क्यारिकेचर गरेर कान्तिपुर कन्क्लेभ २०२६ का को सहभागीलाई हसाएका थिए ।
काठमाडौँ — कान्तिपुर कन्क्लेभ २०२६ को चौथो सत्र 'आफैंमाथि व्यङ्ग्य लेख्दै नेपाली राजनीति' सत्रमा हास्य कलाकार प्रभात लामाले हाँस्य व्यंग्य तयार गर्न घर बनाएजति नै मिहिनेत पर्ने बताएका छन् ।
धेरै मिहिनेत गरेर तयार पारेको व्यंग्यले दर्शकलाई पनि धेरै हसाउने उनले सुनाए । सत्रमा उनले काठमाडौं महानगरका पूर्वमेयर केशव स्थापित र पूर्व शिक्षामन्त्री महावीर पुनको क्यारिकेचर गरेर सहभागीलाई हसाए । २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापित थिए । पूर्व मेयर बालेन्द्र शाह पनि उनीसँग प्रतिस्पर्धामा थिए । लामाले स्थापितको नक्कल गर्दै भने, ‘काठमाडौंका जनताले मलाई चुनावमा जिताइदिनुस् । पशुपतिमा यति राम्रो आर्यघाट बनाउँछु कि मरु मरु लाग्ने बनाउँछु ।’ फन्नी मान्छेको क्यारिकेचर गर्न सजिलो हुने हाँस्य कलाकार लामाले बताए ।
पुनमाथि व्यंग्य गर्दै उनले भने, ‘मलाई मान्छेहरुले चप्पल पड्काएर आविष्कार हुन्छ भन्छन् । तेरो बाउलाई गएर सोध न ।’ पुनको क्यारिकेचर गर्दै उनले सहभागीलाई हसाए । ‘महावीरलाई कसैले सोधेछ । फलामबाट बनेको सियो पानीमा डुब्छ । फलामबाटै बनेको जहाज किन डुब्दैन ? उनले जवाफ दिएछन्, डुबाउने सबैले सानोलाई नै हो ।’ सत्र सञ्चालक हास्य कलाकार मनोज गजुरेलले प्रभात लामाले जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङको कमेडी गर्ने तयारी गरेको जनाए ।
