कूल परिवारका सदस्यमध्ये ९२.४ प्रतिशतले सुधारिएको चर्पीको प्रयोग गर्छन्
काठमाडौँ — नेपालको कूल जनसंख्याको ९८.२ प्रतिशतले खानेपानीको लागि सुधारिएको पानीको स्रोत प्रयोग गरेको एक तथ्यांकले जनाएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ अनुसार पानीको गुणस्तर परीक्षण गर्दा ६०.४ प्रतिशत घरपरिवार सदस्यहरूले पिउने पानीमा इकोली जीवाणु पाइएको छ ।
इकोली इसचेरिचिया कोलाईको संक्षिप्त रूप हो । चिकित्सकका अनुसार दिसामा पाइने जीवाणु हुन् कोलिफर्म र इकोली । इकोलीमिश्रित पानी पिउँदा स्वास्थ्यमा गम्भीर असर पर्ने चिकित्सकको भनाइ छ । इकोली जीवाणुले आउँ, झाडापखाला, जन्डिसलगायतका समस्या देखा पर्न सक्छ । साथै यसले मिर्गौला र कलेजोमा पनि असर पुर्याउँछ ।
त्यस्तै राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार कूल परिवारका सदस्यमध्ये ९२.४ प्रतिशतले सुधारिएको चर्पीको प्रयोग गरेको पाइएको छ । त्यसमध्ये ७९.९ प्रतिशत परिवारका सदस्यले सुधारिएको चर्पी आफैंले मात्र एकल रूपमा प्रयोग गर्ने गरेको तथ्यांकमा उल्लेख छ ।
