थापाको निधनसँगै नेपाली र भारतीय चलचित्र जगतले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाएको प्रधानमन्त्रीको भनाइ छ ।
काठमाडौँ — सिने क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको निधनप्रति प्रधानमन्त्री सुशीला कार्कीले शोक व्यक्त गरेकी छन् । आज एक शोक वक्तव्य जारी गर्दै प्रधानमन्त्री कार्कीले थापाको निधनको खबरले आफू मर्माहत भएको उल्लेख गरेकी छन् ।
थापाको निधनसँगै नेपाली र भारतीय चलचित्र जगतले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाएको उनको भनाइ छ । प्रधानमन्त्री कार्कीले ‘चिनो’का राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्ममा खलनायक र सहनायकको उम्दा भूमिकाबाट करोडौंका मन जित्न सफल भएको उल्लेख गरेकी छन् ।
कलाकार थापाका हरेक चरित्र दर्शकका स्मृतिमा सदैव जीवित रहने भन्दै उनले चार दशकभन्दा बढी समयको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहने उनले वक्तव्यमा उल्लेख गरेकी छन् ।
शंखमुलस्थित आफ्नै अपार्टमेन्टमा बेहोस भएका ६८ वर्षीय थापालाई शनिबार बिहान नर्भिक अस्पताल पुर्याइएको थियो। उपचारको क्रममा उनको निधन भएको हो।
उनको निधनपछि आफन्त, कलाकर्मी र शुभचिन्तक अस्पतालमा जम्मा भएका छन्।
नेपालमा मात्रै नभएर उनले बलिउडमा समेत काम गरेर चर्चा कमाएका थिए। उनले संजय लिला भन्सालीले निर्माण गरेको फिल्म ‘मेरी कोम’मा समेत काम गरेका थिए। यसमा काम गरेपछि उनको बलिउडमा समेत चर्चा भएको थियो।
