सुरक्षाको दृष्टिकोणले सबै तयारी पूरा भइसकेको उल्लेख गर्दै उनले मतदातालाई कुनै भय वा दबाबबिनै ढुक्कसँग मतदान गर्न सकिने वातावरण बनाइएको बताए ।
धादिङ — गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधिसभा निर्वाचन पूर्ण रूपमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराइने बताएका छन् ।
निर्वाचनको सुरक्षा तयारीको अनुगमन तथा समन्वयका लागि धादिङ आइपुगेका गृहमन्त्री अर्यालले जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सरोकारवाला निकाय तथा सञ्चारकर्मीहरूसँगको छलफलमा यस्तो बताएका हुन् ।
गृहमन्त्री अर्यालले भदौ २३ र २४ गते भएका हिंसात्मक घटनापछि द्वन्द्व न्यूनीकरण गर्दै जिल्लाको अवस्था सामान्य बनाइएको जिकिर गर्दै आगामी निर्वाचन पनि शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले वर्तमान सरकार दलीय नभई अन्तरिम सरकार भएकाले स्वतन्त्र र निष्पक्ष ढंगले निर्वाचन गरिने स्पष्ट पारे।
सुरक्षाको दृष्टिकोणले सबै तयारी पूरा भइसकेको उल्लेख गर्दै उनले मतदातालाई कुनै भय वा दबाबबिनै ढुक्कसँग मतदान गर्न सकिने वातावरण बनाइएको बताए ।उनले मतदातालाई आत्मविश्वासका साथ मतदानमा सहभागी हुन आग्रह गरे । उनले विगतमा दलीय सरकारले सञ्चालन गरेका निर्वाचनभन्दा यो निर्वाचन अझ सुदृढ र विश्वसनीय हुने दाबी गरे ।
गृहमन्त्री अर्यालले राजनीतिक दलहरूलाई पनि निर्वाचनलाई सकारात्मक रूपमा लिन आग्रह गर्दै निष्पक्ष, धााधलीरहित र राजनीतिक सुशासन सुनिश्चित हुने गरी निर्वाचन सम्पन्न गराउने सरकारको प्रतिबद्धता दोर्होयाए ।
