'झापामा बालेन्द्र शाहको कार्यालयमा तोडफोड' भन्दै फैलियो भ्रम 

जिल्ला प्रशासन कार्यालय झापाले शुक्रबार सूचना जारी गर्दै वास्तविक घटनालाई तोडमरोड गरी भ्रामक समाचार र तस्बिर सार्वजनिक गर्ने व्यक्ति तथा समूहको पहिचान गरी कारबाहीका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गरेको हो ।

माघ २३, २०८२

कान्तिपुर संवाददाता

Confusion spreads saying 'Balendra Shah's office in Jhapa vandalized'

What you should know

काठमाडौँ — झापाको कमल गाउँपालिकास्थित रास्वपा उम्मेदवार बालेन्द्र शाहको सम्पर्क कार्यालयमा ठुलो क्षति पुगेको भन्दै ‘आर्टिफिसियल इन्टेलिजेन्स’ प्रयोग गरी सामाजिक सञ्जालमा भ्रम फैलाइएको घटनामा प्रशासनले कानुनी कारबाही प्रक्रिया सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाले शुक्रबार सूचना जारी गर्दै वास्तविक घटनालाई तोडमरोड गरी भ्रामक समाचार र तस्बिर सार्वजनिक गर्ने व्यक्ति तथा समूहको पहिचान गरी कारबाहीका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गरेको हो ।

प्रशासनका अनुसार झापा क्षेत्र नं. ५ अन्तर्गत कमल गाउँपालिका–२, क्याम्पा बजारमा रहेको बालेन शाहको सम्पर्क कार्यालय रहेको घरमा माघ २१ गते राति करिब १२:१५ बजे सामान्य ढुंगा प्रहार भएको थियो । उक्त घटनामा घरधनी बस्ने कोठाको झ्यालको एउटा सिसा मात्र फुटेको प्रशासनले स्पष्ट पारेको छ ।

तर सो सामान्य घटनालाई लिएर एआई प्रविधिको दुरुपयोग गर्दै कार्यालय नै ध्वस्त भएको जस्तो देखिने तस्बिरहरू बनाइ सामाजिक सञ्जालमा भाइरल गरिएको पाइएको प्रशासनको भनाइ छ ।

‘वास्तविक घटना स्थिति भन्दा फरक पारेर गम्भीर प्रकृतिको तोडफोड भएको देखिने तस्बिर बनाई सामाजिक सञ्जालमा भ्रामक सूचना फैलाएको पाइएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईंले हस्ताक्षर गरेको सूचनामा उल्लेख छ, ‘त्यस्ता व्यक्ति वा समूहको पहिचान गरी कारबाही गर्न सम्बन्धित निकायमा लेखी पठाइसकिएको छ ।’

निर्वाचन आचारसंहिता अनुगमन अधिकृतले समेत यस विषयमा चासो देखाउँदै प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी दिएका छन् । झापा प्रशासनले सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपुष्ट र भ्रामक सामग्री सेयर नगर्न आग्रह गरेको छ ।

प्रशासनले ‘वास्तविक तस्बिर’ र ‘भ्रम फैलाउन प्रयोग गरिएको तस्बिर’ दुवै सार्वजनिक गर्दै यस्ता सूचनाप्रति सजग रहन सर्वसाधारणलाई अपिल गरेको छ ।

कान्तिपुर

Link copied successfully