काठमाडाैंबाट भरतपुर विमानस्थल ओर्लिएका लामिछाने सिधै लंकूको हरिकिर्तन चोकमा रहेको लक्ष्मी बैंकटेश मन्दिर पुगेर पूजा गरेका हुन् ।
चितवन — उम्मेदवारी दर्तापछि बिहीबार पहिलो पटक सार्वजनिक रूपमा देखा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चितवन भरतपुर महानगरपालिका-४ लंकूको मन्दिरमा स्वस्ति शान्ति पूजा गरेका छन् ।
उनी चितवन-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । काठमाडाैंबाट भरतपुर विमानस्थल ओर्लिएका लामिछाने सिधै लंकूको हरिकिर्तन चोकमा रहेको लक्ष्मी बैंकटेश मन्दिर पुगेर पूजा गरेका हुन् । खुट्टामा चोट भएका कारण सार्वजनिक कार्यक्रममा नदेखिएको उनको सचिवालयले बताएको छ ।
मन्दिरमा लामिछानेसँगै रास्वपाका चितवन-१ का उम्मेदवार हरि ढकाल र चितवन-३ का उम्मेदवार सोविता गौतम पनि सँगै उभिएर पूजा गरेका थिए। रास्पवा चितवनका सभापति कृष्णप्रसाद भुषालले लामिछाने भरतपुर-११ विशालचोकको घरमा केही दिन बस्ने बताए ।
लामिछानेले २०७९ मा पहिलो पटक चितवन-२ बाट उम्मेदवार हुँदा उक्त घरमा बस्न सुरू गरेका हुन् । विमानस्थलमा र पूजापछि उनले अन्य विषयमा केही बोलेनन् ।
