घाइते बालिकालाई अस्पताल छाडेर चालक फरार भएका थिए
रौतहट — रौतहट क्षेत्र नम्बर २ का रास्वपा उम्मेदवार शेख सगिरको चुनावी प्रचारमा हिँडेको गाडीले ठक्कर दिँदा ४ वर्षीया बालिकाको मृत्यु भएको छ ।
बिहीबार दिउँसो रौतहटको ईशनाथ नगरपालिका-४ स्थित मठियाटोलमा बा १५ च ४२४४ नम्बरको कारले मोहम्मद सगिरकी ४ वर्षीया छोरी अल्फा खातुनलाई ठक्कर दिएको हो ।
रास्वपा उम्मेदवार सगिर मठिया गाउँमा घरदैलो गरिरहेका बेला कारले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करपछि गम्भीर घाइते बालिकालाई उपचारका लागि कारचालकले सिटी अस्पताल गौरमा ल्याएका थिए ।
घाइते बालिकालाई अस्पताल छाडेर चालक फरार भएका थिए । त्यसपछि बालिकालाई थप उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो । गौरमा चिकित्सकले बालिकालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
फरार चालकको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी विष्णुप्रसाद बस्यालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
