उक्त पोस्ट बुधबार दिउँसो २ बजेर २३ मिनेटमा ‘अभिलाष मैनाली’ नामक फेसबुक अकाउन्टबाट सार्वजनिक गरिएको देखिन्छ ।
What you should know
काठमाडौँ — अभिनेता राजेश हमाल र अभिनेत्री रेखा थापाले ‘तारा’ चिन्हमा भोट हाल्न अपिल गरेको जस्तो देखिने एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भाइरल तस्बिरमा दायाँतर्फ अभिनेता हमाल छन् । उनको तस्बिरसँगै ‘हार्दिक अपिल ! राजेश हमाल भन्नुहुन्छ, “मेरो कुनै पार्टीमा संलग्नता छैन तर पनि एकचोटि फेरि ⭐ तारामा भोट हालेर प्रचण्डलाई केही समयका लागि देशको बागडोर सम्हाल्ने जिम्मा दिनुपर्छ । अहिलेको परिस्थितिमा अनुभव, संघर्ष र स्पष्ट दृष्टि भएका नेताको आवश्यकता छ, र त्यो जिम्मेवारी प्रचण्डले मात्र बहन गर्न सक्छन्”’ भन्ने सन्देश राखिएको छ।
त्यस्तै, बायाँतर्फ अभिनेत्री रेखा थापाको तस्बिर राख्दै ‘रेखा थापा भन्नुहुन्छ “म दुई हात जोडेर बिन्ती गर्छु । प्रचण्ड बा जस्ता अग्रज नेताप्रति विश्वास र सम्मान नगर्ने समाज ढोकाबिनाको घरजस्तै हुन्छ । आज देशलाई फेरि एकपटक प्रचण्ड बाको खाँचो छ”’ भन्ने लेखिएको छ।
उक्त पोस्ट बुधबार दिउँसो २ बजेर २३ मिनेटमा ‘अभिलाष मैनाली’ नामक फेसबुक अकाउन्टबाट सार्वजनिक गरिएको देखिन्छ । समाचार तयार पार्दासम्म उक्त पोस्टमा १० हजारभन्दा बढी रियाक्सन, १४ सयभन्दा बढी कमेन्ट र ११ सयभन्दा बढी सेयर भइसकेका छन्।
तर अभिनेत्री रेखा थापाले उक्त तस्बिर र सन्देश दुवै भ्रामक भएको बताएकी छन् । ‘मेरो पुरानो विज्ञापनको तस्बिरलाई ल्याएर अहिले दुरुपयोग गरिएको हो,’ थापाले कान्तिपुरसँग भनिन्, ‘मैले प्रचण्डलाई भोट दिनुस् भनेर कुनै अपिल गरेकी छैन ।’
भाइरल पोस्टमा देखाइएजस्तै अपिल अभिनेता हमालले पनि गरेको पुष्टि भएको छैन ।
