विज्ञापन बोर्डले उम्मेदवारलाई भन्यो- 'भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्नू'

सामाजिक सञ्जाललगायतमा दल र उम्मेदवारविरुद्ध फैलिरहेका भ्रामक विज्ञापन नियन्त्रण गर्न बोर्डले अनुगमन सुरु गरेको छ ।

माघ २२, २०८२

कान्तिपुर संवाददाता

Advertisement Board tells candidates - 'Do not publish or broadcast misleading advertisements'

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचन प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न र नगराउन उम्मेदवारलाई विज्ञापन बोर्डले आग्रह गरेको छ । 

बोर्डले आज प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाललगायतमा कुनै दल तथा दलका उम्मेदवार वा नेता तथा कार्यकर्तालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा होच्याउने, भ्रम सिर्जना गर्नेजस्ता कार्य भईरहेको गुनासो बोर्डमा प्राप्त भएको जनाएको छ ।

निर्वाचन आयोग र विज्ञापन बोर्डबीच निर्वाचनको समयमा हुने विज्ञापनको अनुगमन, नियमन, छानबिन र कारबाही गर्ने सहमति भइ बोर्डले विज्ञापनको अनुगमन तथा नियमन गरिरहेको पनि जानकारी गराएको छ । 'विज्ञापन क्षेत्रको नियामक निकाय विज्ञापन बोर्डले मतदातामा भ्रम सिर्जना गर्ने, होच्याउने तथा भ्रामक श्रव्य तथा श्रव्यदृश्य सामग्री प्रयोग गरी मतदातालाई झुक्याउने जस्ता कार्यको सूक्ष्म अध्ययन गरिरहेको छ,' विज्ञप्तिमा उल्लेख छ ।

विज्ञापन (नियमन गर्ने) ऐन, २०७६, विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७, निर्वाचन आचारसंहिता, २०८२, विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता, २०७९ विपरीत कुनै पनि गतिविधि भए/गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने व्यहोरा समेत बोर्डले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully