सार्वजनिक पछिल्लाे रिपोर्टमा चर्चसँग नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालसँगै नेपालका तीन पूर्वप्रधानमन्त्री (एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका सहसंयोजक माधवकुमार नेपाल र प्रलोपाका संरक्षक डा. बाबुराम भट्टराई) जाेडिएका तथ्यहरू उल्लेख छन् ।
काठमाडौँ — पछिल्लो साता युनिफिकेसन चर्चको नेपाल कनेक्सनका बारेमा विभिन्न समाचार सार्वजनिक भएपछि यो प्रकरणबारे आम मानिसकाे चासो बढेको छ । युनिफिकेसन चर्च के हो ? यो कसरी नेपालसँग जोडिन पुग्यो र यो तथ्य अहिले कसरी सार्वजनिक भयो ? हामीले यि र यस्तै तथ्यहरुलाई पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं ।
युनिफिकेसन चर्च के हो ? यो कसरी प्रख्यात भयो ?
दक्षिण कोरियाली नागरिक म्योङ मुनले सन् १९५४ मा को युनिफिकेसन चर्चको स्थापना गरेका थिए । यस अन्तर्गत विभिन्न संस्थाहरु छन् । सन् २०१२ मा मुनको मृत्युपछि उनकी पत्नी हाक जा हान यसको नेतृत्वमा आइन् । ८२ वर्षीया हानले आफूलाई परमेश्वरकी एक्ली छोरीको रुपमा चिनाउँछिन् । विभिन्न जोडीहरूलाई सामूहिक विवाह गराइदिने कामबाट हानले चर्चा बटुलिन् ।
धर्म, विश्व शान्ति र परिवारवादको जगेर्ना गर्ने नारासहित विश्वभर युनिफिकेसन चर्चका शाखाहरू खडा गरिरहेकी हानको प्रभाव धार्मिक गतिविधिमा मात्रै सीमित छैन । राजनीति, रियल स्टेट, सञ्चारमाध्यम, शिक्षा र विलासी सामग्रीहरूको व्यापारमा पनि उनको सञ्जाल फैलिएको छ । अमेरिकाको वासिङ्टन टाइम्स नामक पत्रिकाको स्वामित्व चर्चकै नाममा छ । म्यानहट्टनस्थित न्यु योर्कर होटल, प्योङचाङस्थित योङप्योङ स्कि रिसोर्ट (जहाँ २०१८ को विन्टर ओलम्पिकका खेल भएका थिए), चिओङसीमा अन्तर्राष्ट्रिय एकेडेमीलगायत संस्थान यसको स्वामित्वमा छन् ।
फेब्रुअरी २०२० मा पति तथा युनिफिकेसन अभियानका संस्थापक सन म्योङ मुनको १०० औं जन्मजयन्ती मनाउने क्रममा सम्मेलन गर्दै गियोन्जी प्रान्तको गोयाङस्थित इल्सान सहरमा मानिसलाई आमन्त्रण गरेकी थिइन् । कोरोना कहर बेवास्ता गर्दै सम्मेलनमा संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव बान की मुनसहित एक सय ७१ भन्दा धेरै देशका विशिष्ट पाहुना सहभागी थिए । सयभन्दा धेरै देशबाट पूर्वराष्ट्रप्रमुख, विधायक, धार्मिक नेता वा व्यावसायिक घरानाका उच्च पदस्थ सहभागी भए । सहभागीको संख्या सात हजारभन्दा धेरै थियो । हानको ७७ औं जन्मदिन तथा ६० औं वैवाहिक वर्षगाँठ पनि यही समारोहमा मनाइएको थियो ।
हानले चर्चका नाममा विभिन्न ठाउँमा पूर्वाधारहरू खडा गर्न लगाइएकी छन् । विशेषगरी गियोन्गी प्रान्तस्थित गाप्योङमा (जांगराक पहाडको फेदी) चर्चको आलिसान कम्प्लेक्स छ । कम्प्लेक्स अगाडि ४.३ फिट अग्लो हानको सालिक छ । त्यसैगरी सियोलनजिक भव्य चिओनवन दरबार बनाइएको छ । स्थानीय मिडियाका अनुसार यसको निर्माणका क्रममा कम्तीमा ६ सय ११ दशमलव २ मिलियन अमेरिकी डलर खर्च भएको थियो ।
हान किन विवादमा आइन् ?
यसरी धर्मको आडमा विश्वभर लगानी तथा प्रभाव फैलाएकी हान अहिले कानुनी झमेलामा फसेकी छन् । दक्षिण कोरियामा उनीविरुद्ध घूस दिने र लबिइङ गर्ने गरेको अभियोगमा मुद्दा चलिरहेको छ । त्यसैगरी, जापानी अदालतले उनको अभियानलाई दिएको ‘धार्मिक संस्थान’ को मान्यता खारेज गरिदिएको छ । जसको अर्थ उनको संस्थाले पाइरहेको कर तथा अन्य सुविधा बन्द हुनेछ ।
केही दिनअघि मात्रै दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी किम केओन ही युनिफिकेसन चर्चबाट घूस लिएको अभियोगमा दोषी ठहर भएकी थिइन् । उनलाई सियोल केन्द्रीय जिल्ला अदालतले २० महिनाको सजाय सुनाएको थियो । उनीमाथि चर्चबाट झन्डै ५६ हजार डलर बराबरको उपहार लिएको अभियोग छ । उनले ग्राफ ब्रान्डको हिराको हार र थुप्रै च्यानेल ह्यान्डब्यागहरू उपहारमा लिएकी थिइन् । उनीमाथि चर्चका सदस्यहरूलाई आफ्ना पतिको कन्जरभेटिभ पिपुल पावर पार्टीमा भर्ती गरेको तथा उनीहरूलाई सरकारी जागिरमा समेत लगाइदिएको आरोप छ । यी आरोपमा सुनुवाइ हुनै बाँकी छ । यी सबै घटनाक्रमले हानलाई अप्ठ्यारो अवस्थामा पुर्याएको छ ।
युनिफिकेसन चर्चको नेपाल कनेक्सन के हो ?
कोरियन सेन्टर फर इन्भेस्टिगेटिभ जर्नालिज्म (न्युजटापा) ले प्राप्त गरेका गोप्य दस्ताबेजहरूलाई आधार मानेर दुनियाँ डट ओआरजीले नेपालका नेताहरूसँगको युनिफिकेसन चर्चको सम्बन्धलाई उजागर गरेको हो । पछिल्लो रिपोर्टलाई ‘ट्रु मदर्स रिपोर्ट’ नाम दिइएको छ । यसबारे दुनियाँ डट ओआरजी, अनलाइनखबर डटकम, हिमाल खबर र नेपाली टाइम्सले अघिल्लो साता खोजमूलक रिपोर्ट प्रकाशित गरेका थिए ।
रिपोर्टमा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालसँगै नेपालका तीन पूर्वप्रधानमन्त्री (एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका सहसंयोजक माधवकुमार नेपाल र प्रलोपाका संरक्षक डा. बाबुराम भट्टराई) मुछिएका छन् । ढकालले आसन्न निर्वाचनका लागि एमालेसँग सहकार्य गर्ने सहमति गरिसकेका छन् । सहमतिअनुसार परिवार दलले एमालेका उम्मेदवारलाई समर्थन गर्ने तथा एमालेले आवश्यक समयमा नेपाल परिवार दलको प्रतिनिधित्व संघीय संसद् र प्रदेशसभामा गराउन सहयोग गर्नेछ । उनले २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि एमालेसँग सहकार्य गरेका थिए । संविधान जारी भइसकेपछि २०७२ मा केपी ओली नेतृत्वमा बनेको सरकारमा उनी शान्ति तथा पुनर्निर्माणमन्त्री थिए । न्युजटापासँगको कुराकानीमा ढकालले एमालेसँगको आफ्नो सहकार्यलाई युनिफिकेसन चर्चसँग जोडेर अफवाह फैलाउन खोजिएको प्रतिक्रिया दिएका छन् ।
यद्यपि, उनले युन योङ हो र हानलाई सन् २०१७ को निर्वाचनको खबर पठाएका थिए । उनले पठाएको पत्रमा एमालेको चुनाव अभियान ‘धेरै सफल भएको र भारी जित निश्चित भएको’ उल्लेख छ । ढकाललाई यस निर्वाचनमा एमालेको समानुपातिक सूचीमा पाँचौं नम्बरमा राखिएको थियो । ‘पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र केपी ओलीले मेरो सम्भावनाहरूबारे छलफल गर्नुभयो र आवश्यक परेमा मेरो संख्या (नम्बर ५ बाट) नम्बर १ वा २ मा समायोजन गर्न सकिने आश्वासन दिनुभयो,’ उनले लेखेका छन् ।
न्युजटापाका अनुसार नेपाली राजनीतिमा युनिफिकेसन चर्चको संलग्नता केवल सिट सुरक्षित गर्नेमै सीमित थिएन । बरु सन् २०२० सम्म सबै सांसदहरूलाई ‘शिक्षित गरेर चेओन इल गुक’ केन्द्रित संविधानको मस्यौदा तयार गर्ने यसको लक्ष्य थियो । चेओन इल गुकको अर्थ मुनले परिकल्पना गरेको ‘एक स्वर्गीय भूमि’ हो ।
चर्चसँग सम्बन्धित गतिविधिहरूलाई नियमित रूपमा प्रचारप्रसार गर्ने टी प्यारेन्ट्स डट ओआरजी नामक साइटले २१ मे २०१२ मा ‘युनिफिकेसन चर्चका नेपालस्थित नेता ढकाल मन्त्री नियुक्त शीर्षकमा’ समाचार प्रकाशित गरेको थियो । १६ मेमा ढकाल मन्त्री नियुक्त हुनासाथ नक्सालस्थित युनिफिकेसन शान्ति दूतावासमा ढकाल पत्नीसहित आएको र अन्य नेपाली सदस्यसँगै प्रार्थना गरेको पनि यसमा उल्लेख छ । त्यसैगरी सन् २०१७ मा नेपाली टाइम्ससँगको अन्तर्वार्तामा ढकालले आफु युनिफिकेसन अभियानसँग जोडिएको दाबी गरेका छन् ।
युनिफिकेसन चर्च नेपालका ठूला दलहरुसँग कसरी जोडिन पुग्यो ?
सन् २०१८ मा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको अगुवाइमा नेपालमा एसिया–प्रशान्त शिखर सम्मेलन भयो । यतिबेला एमाले र माओवादीबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी बनेको थियो । ओली प्रधानमन्त्री थिए । उक्त सम्मेलनमा बर्माकी नेतृ आङ सान सुची र कम्बोडियाका प्रधानमन्त्री हुन सेनसहित १ हजार ५ सय प्रतिनिधि सहभागी थिए । यस क्रममा सहभागीहरूलाई ‘होली वाइन’ खुवाइएको थियो । त्यसैगरी, सामूहिक रूपमा हानसँग आशीर्वाद लिने कार्यक्रम थियो । तर सर्वत्र आलोचना भएपछि प्रधानमन्त्री ओली आशीर्वाद लिने कार्यक्रममा उपस्थित भएनन् । यही घटनका कारण नेपालका कतिपयले दलहरुमा बढदो विदेशी प्रभावलाइ बुझाउन ‘होली वाइन’शब्दलाइ बिम्बका रुपमा पनि प्रयोग गर्छन् ।
ट्रु मदर्स रिर्पोटलाई उद्ध्रृत गर्दै दुनियाँका लागि सुल्की ली र सन्त गाहा मगरले लेखेका छन्– आजका दिनमा होली वाइन नेपाली राजनीतिमा अपशब्द बनेको छ । केपी ओली, माधव नेपाल र एकनाथ ढकालजस्ता राजनीतिज्ञलाई उपहास गर्न यो शब्द प्रयोग गरिन्छ ।
सार्वजनिक आरोपबारे युनिफिकेसन चर्चको भनाई के छ ?
युनिफिकेसन चर्चले बाहिरिएका दस्ताबेजहरू तथ्यपरक नरहेको दाबी गरेको छ । चर्चको अन्तर्राष्ट्रिय मुख्यालयका पूर्वमहानिर्देशक युन योङ होले आफ्नो रवाफ प्रदर्शन गर्न आफैं यस्ता भ्रम सिर्जना गरेको दाबी गरेका छन् । यसै साता विज्ञप्ति जारी गर्दै युनिफिकेसन चर्चको जापानी शाखाले भनेको छ, ‘दस्ताबेजहरू अध्ययन गर्दा यसमा तथ्यगत गल्तीहरू थपिएको वा कन्टेन्टलाई संशोधन गरिएको भेटियो ।’
नेपालमा युनिफिकेसन चर्चको गतिविधि
युनिफिकेसन चर्चसँग प्रत्यक्ष सम्बन्ध रहेको युनिभर्सल पिस फेडेरेसन (यूपीएफ) को स्थापना सन् २००५ मा मुन र हानले मिलेर गरेका थिए । यसले अन्तरधर्मप्रति आस्था राख्नेहरूलाई समेट्ने गरी काम गर्छ । एक हिसाबले यूपीएफ चर्चको कूटनीतिक संस्था पनि हो ।
गैरसरकारी संस्थाका रूपमा यूपीएफ संयुक्त राष्ट्रसंघमा पनि आबद्ध छ । वैश्विक शान्तिको पहल र परिवारवादको मान्यतालाई फैलाउने काम यसले गर्दै आएको छ । लामो समयसम्म एकनाथ ढकाल यसको नेपाल च्याप्टरका प्रमुख थिए । यसले नेपालमा विभिन्न कार्यक्रम गर्दै आएको छ । २००६ मा तत्कालीन सभामुख सुवास नेम्वाङको निमन्त्रणामा विश्व शान्ति यात्राका दौरानमा हान नेपाल आएकी थिइन् । विभिन्न १२ वटा स्थानमा उनले शान्ति यात्रा गरेकी थिइन् । पोखरा, चितवन, काभ्रे र काठमाडौंका विभिन्न स्थानमा कार्यक्रम आयोजना भएको थियो ।
०७२ को महाभूकम्पपछि नेपालमा पुनर्निर्माण, उद्धार र राहतका लागि हानले १० करोड रुपैयाँ सहयोग गरेकी थिइन् । यसमध्ये ५ करोड रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाइएको थियो । बाँकी ५ करोड यूपीएफसँग सम्बन्ध रहेका विभिन्न संस्थामार्फत खर्च गरिएको थियो ।
मंसिर ०७५ मा काठमाडौंको हयात होटलमा यूपीएफले आयोजना गरेको एसिया प्रशान्त सम्मेलन भने विवादित
रह्यो । यस सम्मेलनमा विभिन्न देशबाट झन्डै ४ हजार सहभागी थिए । सम्मेलनका सहभागीलाई होली वाइन खुवाइएको थियो । यस वाइनले रक्त शुद्धीकरण गर्ने दाबी युनिफिकेसन चर्चको थियो । नेपालमा प्रधानमन्त्री ओलीदेखि स्थानीय तहका प्रमुखसम्मलाई होली वाइन पिउनका लागि जोडीसहित आउन निमन्त्रणा गरिएको थियो । तर विवाद भएपछि प्रधानमन्त्री, मन्त्री र अधिकांश स्थानीय निकायका प्रमुख वाइन पिउने कार्यक्रममा गएनन् । युनिफिकेसन चर्चको मान्यताअनुसार होली वाइन पिउने जोडीहरू मुन दम्पतीको वंशमा समाहित हुन्छन् । विवाहित वा विवाहयोग्य जोडीहरूलाई यस कार्यक्रममा समावेश गरिन्छ । होली वाइन नपिईकन यस चर्चले कसैलाई पनि विवाहको मान्यता दिँदैन । समापनमा भने प्रधानमन्त्री ओली पुगेका थिए । उनलाई हानले गुड गभर्नेन्स अवार्डसहित एक लाख डलर पुरस्कार दिएकी थिइन् । ओलीले उक्त पुरस्कार नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गरेका थिए ।
न्युजटापाले कसरी हात पार्यो फाइल ?
युनिफिकेसन चर्चको अन्तर्राष्ट्रिय मुख्यालयका पूर्वमहानिर्देशक युन योङ होले तयार पारेको अर्काइभ रिपोर्टलाई न्युजटापाले उजागर गरेको छ र यसलाई ‘ट्रु मदर्स स्पेसल रिपोर्ट’ नाम दिइएको छ । रिपोर्ट ३ हजार २ सय १२ पृष्ठको रहेको बताइएको छ । तर, यो रिपोर्ट कसरी हासिल भयो भन्ने उल्लेख गरिएको छैन । यसमा प्रयोग गरिएको स्रोत, विधि र सूचना चुहाउनेको पहिचान गोप्य राखिएको छ ।
युनिफिकेसन चर्चले यस फाइलमा रहेका कुराहरू तथ्यसंगत नरहेको जनाएको छ । योङले आफ्नो रवाफ प्रस्तुत गर्नका लागि विभिन्न जानकारी तोडफोड गरेर प्रस्तुत गरेको चर्चको दाबी छ । जापान, अमेरिका, दक्षिण कोरिया र विश्वका विभिन्न देशमा चर्चले गरेको राजनीतिक लबिङ यसबारे यसमा चर्चा छ । *थप अपडेट गरिएकाे
