राष्ट्रपति पौडेल जापानबाट स्वदेश फर्किए

राष्ट्रपति पौडेल नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी भएर फर्किएका हुन्

माघ २१, २०८२

कान्तिपुर संवाददाता

President Poudel returns home from Japan

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरु र सुरक्षा निकायका प्रमुखले राष्ट्रपति पौडेललाई स्वागत गरेका थिए । सो अवसरमा नेपाली सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो । 

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल, प्रथम महिला सविता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना भएको विशेष समारोहमा सहभागी हुन आइतबार राति त्यसतर्फ प्रस्थान गरेका थिए । 

President Poudel returns home from Japanजापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले आयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी भएका थिए । सो समारोहलाई उनले सम्बोधनसमेत गरेका थिए । 

त्यस्तै, टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट नारुहितोसँग राजकीय शिष्टाचार भेट गरेका थिए । उनीसँग जापानका प्रधानमन्त्री ताकाइची सानाए र जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गरेका थिए । 

President Poudel returns home from Japanनेपाल जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो ।

कान्तिपुर

Link copied successfully