बुधबार बसेको न्याय परिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
काठमाडौँ — न्याय परिषद्ले १० जिल्ला न्यायाधीश र २० न्यायाधीशको पदस्थापना गरेको छ ।
बुधबार बसेको न्याय परिषद्को बैठकले उक्त निर्णय गरेको हो । निर्वाचन आयोगले फागुन २१ को निर्वाचनका लागि आचारसंहिता जारी गरेको अवस्थामा परिषद्ले उक्त निर्णय गरेको हो ।
परिषद्ले काठमाडौं जिल्ला अदालतका चार न्यायाधीशको सरुवा गरेको छ । प्रकाशकुमार अधिकारी, मदनबहादुर धामी, बाबुराम सुवेदी र ढाकाराम पौडेललाई काठमाडौंबाट अन्यत्र सरुवा गरिएको छ ।
विमला रेग्मी, नारायण सापकोटा, प्रतिमाकुमारी पोखरेल भट्टराईलाई काठमाडौंमा सरुवा गरिएको छ । त्यस्तै, लोकसेवा आयोगको परीक्षाबाट पास भएका २० जिल्ला न्यायाधीशको पनि पदस्थापना गरेको छ । त्यस्तै, उपभोक्ता अदालतको अध्यक्षमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टलाई तोक्न परामर्श दिने निर्णय गरेको छ । यसैगरी बिमा ऐनको दफा १४७ को कसुरसम्बन्धी मुद्दाको सुनुवाइका लागि ७७ वटै जिल्ला अदालतलाई तोक्ने निर्णय परिषद्ले गरेको छ ।
यसअघि न्याय परिषद्ले न्यायाधीश नियुक्ति लगायतका विषयमा निर्वाचन आयोगसँग सहमति मागेको थियो । आयोगले आचारसंहिता लागू भएकाले नियुक्ति गर्न नमिल्ने जवाफ दिएको थियो । तर आज न्याय परिषद्ले सरुवा र पदस्थापना गरेको छ ।
न्याय परिषद्का प्रवक्ता रामप्रसाद भट्टराईले यो नियुक्ति नभई सरुवा र पदस्थापना भएकाले आयोगको पत्रले अवरोध नगर्ने बताए ।
