उड्डयन सुरक्षा र पर्यटन विषयमा नेपाल–युरोपेली संघबीच छलफल

मन्त्री सिन्हाले नेपालको उड्डयन सुरक्षालाई सुदृढ बनाउन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको संस्थागत क्षमता अभिवृद्धिका लागि सरकारले गरिरहेका सुधार प्रयासबारे जानकारी गराएका थिए ।

माघ २०, २०८२

कान्तिपुर संवाददाता

Nepal-European Union hold discussions on aviation security and tourism

काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले मंगलबार सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा नेपालका लागि युरोपेली संघका राजदूत महामहिम भेरोनिक लोरेन्जोसँग भेटवार्ता गरेका छन् ।

मन्त्रालयका सहप्रवक्ता गोकर्ण उपाध्यायका अनुसार, भेटका क्रममा २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन तयारी, नेपालले अति कम विकसित राष्ट्र (एलडीसी)बाट स्तरोन्नति गरेपछिको प्रगति, उड्डयन सुरक्षा, हवाई यातायात मापदण्ड तथा पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको थियो ।

मन्त्री सिन्हाले नेपालको उड्डयन सुरक्षालाई सुदृढ बनाउन तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको संस्थागत क्षमता अभिवृद्धिका लागि सरकारले गरिरहेका सुधार प्रयासबारे जानकारी गराएका थिए । साथै निर्वाचन तयारी र पर्यटन प्रवर्द्धनका लागि गरिएका नीतिगत सुधारहरूबारे पनि प्रकाश पारेका थिए ।

राजदूत लोरेन्जोले नेपालको उड्डयन सुरक्षा सुधारका पहलको प्रशंसा गर्दै क्षेत्रगत समस्या समाधानतर्फ देखाएको प्रगतिप्रति सन्तोष व्यक्त गरेकी थिइन् । उनले नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउनु दुवै पक्षको साझा लक्ष्य रहेको स्पष्ट पारेकी थिइन् ।

भेटवार्ताले नेपाल र युरोपेली संघबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा उड्डयन सुरक्षा र पर्यटन विकासका क्षेत्रमा नयाँ सहकार्यका अवसर खोल्ने विश्वास व्यक्त मन्त्रालयले गरेको छ ।

कान्तिपुर

Link copied successfully