निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

सफा र सुरक्षित पानी उमालेर मात्र पिउन, गोठ तथा फार्म सफा राख्ने, मासु काट्दा मास्क प्रयोग गर्ने, साबुनपानीले हात धुने तथा भिडभाडमा जाँदा मास्क लगाउन मन्त्रालयले अनुरोध गरेको छ ।

माघ २०, २०८२

कान्तिपुर संवाददाता

Health Ministry's statement on Nipah virus made public

What you should know

काठमाडौँ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।

निपाह भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख गर्दै मन्त्रालयले त्यसका लागि आवश्यक सबै कदम चालिरहेकाले सबैलाई आतङ्कित नहुन र सचेत, सजग र जिम्मेवार बन्न अनुरोध गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठनद्वारा विश्वव्यापी तथा दक्षिणपूर्वी एसिया क्षेत्रीयस्तरमा निपाह भाइरसको जनस्वास्थ्य जोखिम न्यून रहेको मूल्याङ्कन गरिए तापनि छिमेकी मुलुकमा देखिएका निपाह भाइरसका केही घटनालाई मध्यनजर गरी आवश्यक सचेतना अपनाइएको मन्त्रालयले उल्लेख गरेको छ ।

मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाद्वारा पूर्वतयारीका कदम स्वरूप देशभरका स्वास्थ्य संस्था तथा निकायलाई सचेत गराइएको तथा निपाह भाइरसको परीक्षणका आवश्यक तयारी गरिएको स्पष्ट पारिएको छ ।

निपाह भाइरस सङ्क्रमित चमेराको र्‍याल, पिसाब वा मलमूत्रले दूषित फलफूल सेवन गर्दा सङ्क्रमण हुनसक्ने, सङ्क्रमित व्यक्तिको रगत थुक, पिसाब वा नजिकको सम्पर्कबाट तथा चमेरोबाट सुँगुर हुँदै पनि मानिसमा यो सङ्क्रमण सर्नसक्ने मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबैलाई फलफूल राम्ररी पखालेर मात्र खान, तरकारी राम्रोसँग पकाएर खान, सफा र सुरक्षित पानी उमालेर मात्र पिउन, जनावरका गोठ तथा फार्म सफा राख्ने, मासु काट्दा पत्रा र मास्क प्रयोग गर्ने, बेलाबेलामा साबुन पानीले हात धुने तथा भिडभाडमा जाँदा मास्क लगाउनेजस्ता जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, चकर लाग्ने, खोकी लाग्ने, सास फेर्न गाहो हुने, वाकवाकी लाग्ने, बान्ता हुने तथा गम्भीर अवस्थामा होस हराउने, अचेत हुनेलगायत शङ्कास्पद लक्षण देखिएका बिरामीको शीघ्र पहिचान गर्न आइसोलेसनमा राखेर रिपोर्टिङ गर्नुपर्ने मन्त्रालयले उल्लेख गरेको छ । रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रण मापदण्ड कडाइका साथ पालना गर्न गराउन पनि मन्त्रालय सबै सरोकार भएका सबैलाई अनुरोध गरेको छ ।

शङ्कास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्था वा १११५ मा तुरुन्त सम्पर्क गर्नसमेत आग्रह गर्दै मन्त्रालयले हालसम्म नेपालमा निपाह भाइरसका घटना पुष्टि नभएका तथा स्वास्थ्य निकाय जोखिम न्यूनीकरणका लागि पूर्ण रूपमा तयारी अवस्थामा रहेको जनाएको छ ।

मन्त्रालयले राष्ट्रिय तथा अन्तरराष्ट्रिय साझेदार निकायसँग समन्वय गर्दै अवस्था निरन्तर अनुगमन गरिरहेकाले सबैलाई अफवाहमा नपर्न र मन्त्रालयद्वारा जारी आधिकारिक सूचनामात्र विश्वास गर्न मन्त्रालयले अनुरोध गरेको छ । 

कान्तिपुर

Link copied successfully