एमालेका महेश बस्नेत, कांग्रेसका कविर राणा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का रामप्रसाद सापकोटा ‘दिपशिखा’ले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र स्वच्छ खानेपानीमा सहज पहुँचलाई एजेण्डा बनाएका छन् ।
What you should know
काठमाडौँ — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर–२ बाट उम्मेदवारी दिएका तीन उम्मेदवारले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र स्वच्छ खानेपानीमा सहज पहुँच बनाउने समान एजेण्डा रहेको बताएका छन् ।
कान्तिपुर टेलिभिजनको कार्यक्रम सरोकारमा सहभागी भएका एमालेका उम्मेदवार महेश बस्नेत, कांग्रेसका कविर राणा र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का रामप्रसाद सापकोटा ‘दिपशिखा’ले यस्तो बताएका हुन् ।
भक्तपुर–२ मा ३२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धामा रहेका कांग्रेस, एमाले, नेकपा, रास्वपा, नेमकिपाका उम्मेदवार मतदाता भेटघाट र घरदैलो अभियानमा छन् । ‘सरोकार’ कार्यक्रममा नेपाल मजदुर किसान पार्टी र रास्वपाका उम्मेदवार भने निमन्त्रण भए पनि सहभागी भएका थिएनन् ।
एमालेका महेश बस्नेतले यसअघि आफू सांसद हुँदा पूरा नभएका शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वधारलगायतका विकासलाई सम्पन्न गर्न यसपटक पनि उम्मेदवारी दिएको बताए । ‘मलाई काम गर्न सक्ने, अनुभव भएको शाहासी मान्छेका रुपमा सबैले हेर्नु भएको छ,’ बस्नेतले भने, ‘संसदभित्र नीति निर्माण, कानुन निर्माणदेखि बजेट निर्माणसम्म प्रभावकारी भूमिका विगतमा पनि खेलेको छु । अब पनि खेल्ने छु । भक्तपुरको भूगोल बुझेको र काम गरेको मान्छे भएकाले यसपटक भक्तपुरवासीले मलाई फेरि रोज्नु हुनेछ ।’
सूर्यविनायक नगरपालिका–७ का स्थायी बासिन्दा बस्नेत ०५४ को स्थानीय निकाय चुनावमा गुन्डु गाविसको अध्यक्षमा निर्वाचित भएपछि चर्चामा आएका हुन् । २०७१ भदौदेखि २०७२ असोजसम्म उद्योगमन्त्री बनेका बस्नेत २०७४ देखि २०७९ सम्म भक्तपुरको विकासमा योगदान पुर्याएको दाबी गर्छन् ।
कांग्रेसका कविर राणाले पनि जनताको आवश्यकता, विकास र सुशासनलाई प्रमुख एजेन्डा बनाएर ऐन नियम निमार्ण गर्ने बताए । ‘भक्तपुरमा अझै धेरै विकास निर्माणका काम बाँकी छन्,’ उनले भने, ‘खानेपानी र सिँचाइको समस्या गम्भीर छ । मेरो अनुभव र विगतमा हाम्रो पार्टीको योजना पूरा गर्न पनि कांग्रेसको जित आवश्यक छ ।’
उनी २०४८ सालमा सम्पन्न पहिलो स्थानीय निकाय निर्वाचनमा बालकोट–लोकन्थली क्षेत्रबाट जिल्ला विकास समिति सदस्यमा निर्वाचित भएका थिए ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार रामप्रसाद सापकोटाले विगतमा कांग्रेस र एमालेसहितका दल परीक्षण भएकाले यसपटक भक्तपुरवासीले आफूलाई जिताउाने बताउाछन् । ‘यहाँको रैथाने उत्पादनको प्रवर्द्धन, पर्यटकीय क्षेत्र, स्वास्थ्य, कृषिको उत्पादन र आत्मनिर्भर बनाउने योजनासहित आएको छु,’ उनले भने, ‘जनपक्ष एजेण्डासहित आएकाले यसपटक मतदाताले हामीलाई जिताउाछन् ।’
नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार रामप्रसाद सापकोटा युवा–विद्यार्थी राजनीति र माओवादी आन्दोलनबाट उदाएका नेता हुन् ।
विगतमा यो क्षेत्रमा नेमकिपा, कांग्रेस र एमालेले आलोपालो जित्दै आएका थिए । यहाँ २०४८ सालको निर्वाचनमा कांग्रेसका जगन्नाथ आचार्यले जितेका थिए । २०५१ सालमा भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का आशाकाजी बसुकला र २०५६ सालमा पुनः कांग्रेसका लेखनाथ न्यौपाने विजयी भए । २०६४ सालमा पुनः नेमकिपाबाट सुनिल प्रजापति सांसद बनेका थिए । २०७० सालमा फेरि कांग्रेसका रामेश्वरप्रसाद ढुंगेल र २०७४ सालमा एमालेका महेश बस्नेत विजयी भएका थिए ।
यस क्षेत्रमा ९८ हजार ३५६ मतदाता छन् । जसमा ४८ हजार ७४ जना पुरुष, ५० हजार २७७ जना महिला र ५ अन्य मतदाता छन् । यस क्षेत्रमा मध्यपुर थिमी नगरपालिकाका ९ वटा वडा र सूर्यविनायक नगरपालिकाका १० वटा वडा पर्छन् ।
