निर्वाचन सुरक्षाका लागि सेना, प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीसहित करिब ३ लाख ३८ हजार सुरक्षाकर्मी परिचालन हुँदै छन् ।
काठमाडौँ — आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कार्यालयहरुबाट राजीनामा, रवाना र बिदा बन्द गरिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ बमोजिम सशस्त्र प्रहरी बल नेपालको अधिकतम जनशक्ति निर्वाचनमा परिचालन गर्नुपर्ने भएको हुँदा माघ १९ गतेदेखि राजीनामा, रवाना र बिदा बन्द गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
निर्वाचन अवधिभर सशस्त्र प्रहरी बल नेपालमा कार्यरत कर्मचारीहरुको राजीनामा स्वीकृत, अन्यत्र कार्यालयमा जान र रवाना नगर्ने तथा अति आवश्यकबाहेक बिदा स्वीकृत नगर्न तथा नगराउनुहुन सम्पूर्ण कार्यालयहरूलाई परिपत्र गरिएको उनले बताए ।
करिब ३७ हजार जनशक्ति कार्यरत सशस्त्रमा निर्वाचन सुरक्षामा ३५ हजार जनशक्ति खटाइँदै छ । यसका अलवा ४० दिन कार्यअवधि तोकेर निर्वाचन प्रहरी १५ हजार ११० जनालाई पनि सशस्त्रमातहत रहने गरी खटाउन लागिएको छ ।
निर्वाचन सुरक्षाका लागि सेना, प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीसहित करिब ३ लाख ३८ हजार सुरक्षाकर्मी परिचालन हुँदै छन् ।
