विश्व सिमसार दिवस : मानवीय अतिक्रमणले घटे पानीचरा

सिमसार क्षेत्रमा बढ्दो मानवीय अतिक्रमण, नदी–खोलाको अनियन्त्रित उत्खनन प्रदूषण, चराको बासस्थल वरिपरि मिचाहा प्रजातिका झार र खेतीपातीमा बढ्दो विषादी प्रयोगले पानीचरा घटने क्रममा

माघ १९, २०८२

मनोज पौडेल

World Wetlands Day: Human encroachment has led to decline in waterfowl

What you should know

लुम्बिनी — एक महिनाअघि चितवनको राप्ती खोलाको लोथरदेखि घटगाईसम्म चरा गणना गर्दा २ हजार ७ सय ४० चखेवाचखेवी भेटिए । अघिल्लो वर्ष यही क्षेत्रमा गणना गर्दा ४ हजार १ सय ७ चखेवाचखेवी गणना भएका थिए ।

यस्तै, गत वर्ष जगदीशपुर पन्छी आरक्षमा करिब दुई हजार गणना भएका सिलसिले हाँस यस वर्ष दुई सय मात्रै भेटिए । त्यो पनि तालभित्र नभएर छेउछाउका खेतमा । गत वर्ष ७२ वटा गणना गरिएका राष्ट्रिय रूपमा संकटमा परेका हरिहाँस यस वर्ष एउटै देखिएन । त्यस्तै, जगदीशपुरमा सुरजुरे हाँस पनि गत वर्षभन्दा झन्डै एक हजार कम गणना भएको छ ।

पछिल्लो गणनाअनुसार पश्चिम कैलालीको घोडाघोडीदेखि पूर्व सुनसरी बर्जुतालसम्म पानी चराको संख्या घटेको छ । नेपाल पन्छीविद् संघको संयोजनमा मुलुकभर भएको गणनामा पानी चराको संख्या घटेको वेटल्यान्ड इन्टरनेसनलका नेपालका लागि राष्ट्रिय पानी चरा गणना संयोजक लक्ष्मण पौड्यालले बताए ।

सिमसार क्षेत्रमा बढ्दो मानवीय अतिक्रमण, नदी–खोला–ताल प्रदूषित र सिमसार क्षेत्रको संकुचनले पानी चराहरू घट्दै गएका हुन् । यस्तै, नदी, खोलाको अनियन्त्रित उत्खनन, चराको बासस्थल वरिपरि मिचाहा प्रजातिका झार र खेतीपातीमा बढ्दो विषादी प्रयोगका कारण पनि चराहरू समस्यामा पर्दै गएका हुन् ।

आठ वर्षमा ५५ प्रतिशत पानी चरा घटे

देशभरका १८ प्रमुख सिमसार क्षेत्रअन्तर्गत ७८ ठाउँमा गरिएको गणनामा पानी चराको संख्या घटेको छ । १९ पुसदेखि ४ माघसम्म भएको पानीमा आश्रित राष्ट्रिय चरा गणनाको तथ्यांकले जलपन्छी घट्दै गएको देखाएको हो ।

World Wetlands Day: Human encroachment has led to decline in waterfowl

नेपालमा सबैभन्दा धेरै पानी चरालाई आश्रय दिँदै आएको जगदीशपुर तालमा मात्रै आठ वर्षमा ५५ प्रतिशतले चरा घटेका छन् । सन् २०१८ मा २३ हजार चरा गणना गरिएकामा २०२६ मा घटेर १० हजार २ सय ८२ चरा गणना गरिएको चराविद् हठन चौधरीले बताए । ‘प्रजाति पनि घटेका छन् । संख्यामा ठूलो उतारचढाव छ । तालमा सन् २०२५ मा ४८ प्रजातिका १२ हजार ८ सय ३२ चरा गणना गरिएकामा २०२६ मा ४१ प्रजातिका १० हजार २ सय ८२ चरा गणना गरिएको छ,’ उनले भने ।

१ सय ५७ हेक्टरमा फैलिएको तालमा स्टिमर सञ्चालन, बढ्दो मानवीय गतिविधि र माछाको अनियन्त्रित चोरीसिकारले चराले असुरक्षित महसुस गरेको उनले बताए । तालमा डुंगा सञ्चालन, पिकनिक, नाचगानले ध्वनि प्रदूषण र नदीजन्य पदार्थको ओसारपसारले वातावरणीय प्रदूषण बढ्दा चराको बासस्थान खलबलिएर संख्या घटेको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । ‘तीन/चार वर्षअघि दुई–तीन हजार चरा एउटै बथानमा देख्न पाइन्थ्यो,’ उनले भने, ‘एक–दुई वर्षयता ५/६ सयभन्दा बढीको बथान देख्नै पाइएन ।’

यस्तै, कैलालीको घोडाघोडी तालमा पनि चराको प्रजाति र संख्या दुवै घटेको छ । गत वर्ष २६ प्रजातिका १ हजार २ सय ५० चरा गणना गरिकामा यस वर्ष २४ प्रजातिका एक हजार चरा गणना गरिएको छ । घोडाघोडी ताल मुलुकको पहिलो पन्छी आरक्ष हो । बाँके र बर्दियामा पनि पानी चराको संख्या घटेको चराविद् राम शाहीले बताए ।

चितवनमा प्रजाति बढ्यो, संख्या घट्यो

चराहरूको अर्को प्रमुख गन्तव्य चितवन राष्ट्रिय निकुञ्जमा पनि संख्या घटेको छ । पूर्वी, पश्चिमी र मध्य सेक्टर भागमा विभाजन गरी गरिएको गणनामा गत वर्ष ६१ प्रजातिका २७ हजार चरा गणना गरिकामा यस वर्ष ६३ प्रजातिका २५ हजार चरा गणना गरिएको छ ।

त्यसमध्ये पश्चिम चितवन (नवलपुर) सेक्टरमा भने बढेका छन् । यहाँ सन् २०२५ मा ४१ प्रजातिका ९ हजार ५ सय ४८ चरा गणना गरिएकामा २०२६ मा ४२ प्रजातिका १२ हजार ८ सय ८७ चरा गणना गरिएको संयोजक डीबी चौधरीले बताए । त्यसमध्ये सबैभन्दा धेरै चखेवाचखेवी ८ हजार ५ सय २३ र खोया हाँस ९ सय ४६ वटा गणना गरिएको उनले बताए ।

World Wetlands Day: Human encroachment has led to decline in waterfowlयस्तै, कोशी र बर्जु तालमा पनि चरा घटेका छन् । यहाँ सन् २०२५ मा ६७ प्रजातिका १० हजार चरा गणना गरिएकामा यस वर्ष ५६ प्रजातिका ६ हजार चरा गणना गरिएको छ । सुनसरीको बर्जु तालमा गत वर्ष ३४ प्रजातिका ६ हजार ४ गणना गरिएकामा यस वर्ष ३३ प्रजातिका चार हजार चरा गणना गरिएको छ ।

पोखरा उपत्यकाको ११ ठाउँमा गरिएको गणनामा चरा बढेका छन् । प्रजाति भने घटेको छ । सन् २०२५ मा ५५ प्रजातिका ३४ हजार चरा गणना गरिएकामा यस वर्ष ४६ प्रजातिका ३७ हजार चरा गणना गरिएको छ ।

मुलुकभर जलपन्छीको संख्या एक लाखभन्दा कम छ । गत वर्ष मुलुकभर ९४ प्रजातिका चरा गणना गरिएकामा यस वर्ष ५/७ प्रजाति कम गणना भएको छ । जगदीशपुर तालमा पानी चरा हेरेर आनन्दित हुने पर्यटक यस वर्ष रमाउन सकेनन् । चराको आहारविहार, जलक्रिया र उनीहरू रमाउँदाको रौनकता देख्न नपाउँदा पर्यटक पनि निराश बनेको वाइल्डलाइफ फोटोग्राफर सुदीप केसीले बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले प्रायः बसाइँ सर्ने चराको प्रजनन नहुने समयमा गणना र अनुगमन गरी संख्या पत्ता लगाइने बताए । जलपन्छीको संख्या, उनीहरूको बासस्थानको अवस्था र चराको गतिविधि बुझेर संरक्षणको नीति योजना बनाउन प्रत्येक वर्ष गणना गर्ने गरेको उनले बताए ।

नेपालमा ९ सय ३ प्रजातिका चरा

नेपालमा यो वर्ष ९ सय ३ प्रजातिका चरा फेला परेका छन् । त्यसमध्ये चितवनमा मात्रै ६ सय ६४ प्रजातिका चरा रहे पनि कम देखिनु चिन्ताको विषय रहेको चराविद् टीकाराम गिरीले बताए ।

चराविज्ञहरूका अनुसार नेपालमा विश्वको करिब आठ प्रतिशत चरा पाइन्छन् । तिनै चरा हेर्न विदेशी पर्यटक नेपाल आउन लालयित हुन्छन् । यसले यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुगेको छ ।

मुलुकका ताल र सिमसार क्षेत्रको वातावरण कस्तो छ भन्ने पानी चराको आगमनले नै जानकारी दिने हुँदा यो महत्त्वपूर्ण भएको पन्छी संरक्षण संघका अध्यक्ष विमल थापाले बताए । ‘चरा आगमनलाई सामान्य रूपमा लिनु हुँदैन,’ उनले भने, ‘यसले यहाँको जैविक विविधताको स्वच्छताको सूचक मापन गरिरहेको हुन्छ ।’

यसकारण घटिरहेका छन् जलपन्छी

जलपन्छी आगमन घट्ने क्रममा भएकाले बेलामै सचेत हुनुपर्ने चराविद् डा. बरालले बताए । सिमसार क्षेत्रमा आश्रित हिउँदे पाहुना चरा पछिल्ला वर्ष सिमसार क्षेत्रको अतिक्रमण र संकुचनले घट्दै गएको उनले बताए । उडान मार्गमा हुने अवरोध र रासायनिक मलको बढ्दो प्रयोगले पनि चरा जोखिममा रहेको बराल बताउँछन् । बसाइँ सरेर आउने चरा लामो दूरीको यात्राले थकित हुने तथा आश्रयस्थल नयाँ ठाउँ हुने हुँदा प्राकृतिक तथा मानवीय सिकारको उच्च जोखिममा छन् ।

World Wetlands Day: Human encroachment has led to decline in waterfowl

सन् १९८७ देखि बर्सेनि सिमसारमा आश्रित पानी चराको गणना हुँदै आएको छ । पछिल्लो गणनाले जलपन्छीको अवस्था खतराउन्मुख रहेको देखाएको छ । नेपालमा पाइने विश्वका दुर्लभ चरामध्ये १३ प्रजाति जलपन्छी नै छन् ।

उत्तरी ध्रुवमा हिमपात सुरु भएसँगै चरा बसाइँ सर्न थाल्छन् । जाडो छल्न पहाड र तराईका सिमसार, धाप, तालतलैया र नदी आसपास हजारौं चरा आउने गर्छन् । कतिपय बच्चा जन्माएर हुर्काएपछि फर्कने गर्छन् । उत्तरी मुलुक रुस, चीन, मंगोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट हिउँदे आगन्तुक चरा नेपालमा आउने गर्छन् ।

त्यस्तै, मध्य एसियाका तुर्केमिनिस्तान, साइबेरियाबाट पनि यहाँ चरा आउँछन् । यहाँ बर्सेनि १ सय ५० भन्दा बढी प्रजातिका चरा आउने गरेको तथ्यांक छ ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully