इरानमा रहेका नेपाली भन्छन्– तत्काल फर्किने निर्णय गर्न कठिन भइरहेको छ

उपलब्ध जुनसुकै माध्यम प्रयोग गरेर सुरक्षित रुपमा इरान छोड्न अनुरोध

माघ १९, २०८२

होम कार्की

Nepalis in Iran say it is difficult to decide to return immediately

What you should know

काठमाडौँ — इरानमा पछिल्लो समय विकसित भइरहेको सुरक्षा तथा राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले त्यहाँ रहेका नेपालीलाई यथाशीघ्र सुरक्षित रुपमा छाड्न अनुरोध गरेको छ ।

इरानमा पछिल्लो समय विकसित भइरहेको सुरक्षा तथा राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै नेपाल सरकारले त्यहाँ रहेका नेपालीलाई यथाशीघ्र सुरक्षित रुपमा छाड्न अनुरोध गरेको छ । सरकारले उपलब्ध जुनसुकै माध्यम प्रयोग गरेर सुरक्षित रुपमा इरान छोड्न अनुरोध गरेको हो ।

‘इरानस्थित विभिन्न देशका दुतावासमा १० जना नेपालीले काम गर्दै आएका छन् । उनीहरू भने तत्काल नेपाल फर्किने निर्णयमा अझै पुगिसकेका छैनन् ।’ इरानको राजधानी तेहरानमा कार्यरत उदयपुरका हरिकुमार थापाले भने ।

थापाले अहिले तेहरानको स्थिति शान्त रहेको र सरकारले आन्दोलन दबाइसकेको बताएका छन् । उनले आफू बस्ने ठाउँदेखि कार्यालयसम्म पुग्न एक घण्टा लाग्ने र कतै पनि आन्दोलन, सडकमा भीडभाड नदेखेको बताए । 

उनले भने, ‘अहिले हामी सबैलाई एउटै डर र चिन्ता छ, इरानमा अमेरिकाले आक्रमण गर्छ कि गर्दैन ? यहाँका इरानी साथीहरूसँग बुझ्दा त कसैले लडाई हुन्छ भन्छन्, कसैले हुँदैन अमेरिकाले धम्काएको मात्रै हो भन्छन् । तर, तेहरानमा पहिलाजस्तो धेरै मान्छेको भीडभाड छैन । यहाँको अधिकांस नागरिक गाउँतिर फर्किरहेका देखिन्छन् । म काम गर्ने दुतावासले आफ्ना नागरिक र कर्मचारीलाई पठाउने तयारी देखिन्न । गत जुनमा इरान र इजरायलबीच युद्ध हुँदा धेरै तयारी गरेको थियो ।

उनले साथीहरूसहित पर्ख र हेरको अवस्थामा रहेको बताए । निर्णय गर्न कठिन भइरहेको उनको भनाइ छ ।

‘हामी सबै नेपाली आइतबार एक ठाउँमा भेला भएर छलफल गरेका थियौं । तत्काल नेपाल फर्कने कसैको मनसाय छैन । एकजना जागिर नपाएको भाई भने जान पाए हुन्थ्यो भनिरहेका छन् । उनी गत जुनमा सिरिया दुतावासको जागिर छोडेर नेपाल गएका थिए । शान्त भएपछि पुनः सोही दुतावासमा काम पाइन्छ कि भनेर आएका छन् । तर, जागिर पाएको छैन,’ उनले भने । 

गत जुनमा इरान छाडेका एकजनाबाहेक सबै नेपाली इरान फिर्ता भइसकेका छन् ।

हाल इरानमा रहेको सबैस“ग राहदानी साथमा रहेको बताए । यहाँबाट निस्कनु परेमा ‘एक्जिट परमिट’ लिनुपर्छ । यसको लागि के गर्ने भनेर सल्लाह गरिरहेको र फर्किनु पर्ने अवस्था आए सबैजना एकसाथ फर्किने योजना बनाएको उनको भनाइ छ ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully