इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते

टर्कीएको न्यूज एजेन्सी अनादोलुका अनुसार विस्फोटमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

माघ १८, २०८२

कान्तिपुर संवाददाता

Explosions in seven cities in Iran, five dead, 14 injured

What you should know

काठमाडौँ — इरानका विभिन्न सातवटा सहरमा विस्फोट भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यममा प्रकाशित विभिन्न रिपोर्ट्स अनुसार शनिबार राजधानी तेहरान, परन्द, तबरीज, कोम, अहवाज, नंताज र बंदर अब्बासमा विस्फोट भएका हुन् । 

टर्कीएको न्यूज एजेन्सी अनादोलुका अनुसार विस्फोटमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । तर इरानी सरकारका तर्फबाट विस्फोटबारे कुनै जानकारी दिइएको छैन । 

सीएनएनको रिपोर्ट अनुसार एक अमेरिकी अधिकारीले उक्त विस्फोटहरु अमेरिकी सेनाको कुनै कारबाहीसँग सम्बन्धित नरहेको उल्लेख छ । एक इजरायली अधिकारीले पनि इजरायलको यस घटनासँग कुनै सम्बन्ध नरहेको बताएका छन् ।

इरानी समाचार एजेन्सी तसनीमले सामाजिक सञ्जालमा चलिरहेका यस्ता खबरहरु आधिकारिक नभएको बताएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा भने उक्त विस्फोटहरु इस्लामिक रिभोल्युशनरी गार्डको नौसेना कमान्डरलाई निशाना बनाएर गरिएको उल्लेख छन् । 

सरकारी अखबार तेहरान टाइम्सका अनुसार अहवाजमा एक सरकारी संरचनामा ग्यास विस्फोट भएको थियो । जसमा चार जना मारिएका छन् । यता बंदर अब्बासमा एक भवनमा विस्फोट हुँदा दुई तले भवन भत्किँदा कैयौं पसलहरु ध्वस्त भएको र १४ जना घाइते भएको उल्लेख छ । 

सरकारी टेलिभिजनमा प्रशारित तस्बिहरुमा भवनको अगाडिको भाग भत्किएको देख्न सकिन्छ । बंदर अब्बासको उद्दार विभागका अधिकारीले इरानी समाचार एजेन्सी आईआरएनलाई दिएको जानकारीमा घाइतेहरुलाई आकस्मिक सेवामार्फत अस्पताल पुर्‍याइएको उल्लेख छ । 

३५ दिनदेखि सरकारविरुद्ध प्रदर्शन

इरानको अवस्था तनावपूर्ण रहेका बेला भएका यी विस्फोटले अन्तर्राष्ट्रिय समाचार संस्थाहरुको ध्यान खिचेको छ । गत डिसेम्बर २८ देखि यहाँ सरकारविरुद्ध प्रदर्शन जारी छ । एक इरानी अधिकारीले रोयटर्ससँग कुरा गर्दै प्रदर्शनमा कम्तिमा ५ हजार मानिस मारिएको बताएका छन् । जसमा ५ सय भन्दा बढी सुरक्षाकर्मी पनि रहेका छन् । 

यता हालै अमेरिकाले बढ्दो तनावका बीच यस क्षेत्रमा एक एयरक्राफ्ट क्यारियर तैनाथ गरेको छ । यसबाहेक अमेरिकाको जासुसी ड्रोन फारसको खाडीमा उड्दै गरेको देखिएको थियो । केही दिनअघि अमेरिकाको सैन्य विमान पी–८ पोसाइडनले इरानी एयरस्पेसमा उडान भरिसकेको थियो । 

इरानका राष्ट्रपति मसुद पजेशकियानले अमेरिका, इजरायल र युरोका नेताहरु इरानको आर्थिक समस्याबाट फाइदा उठाइरहेको प्रतिक्रिया दिएका छन् । इरानमा अशान्ति फैलाएर देश विभाजनको कोशिस भइरहेको पनि उनको आरोप छ । 

यसैबीच इरानका सेना प्रमुख अमीर हातमीले अमेरिका र इजरायलको आक्रमणलाई लिएर चेतावनी दिएका छन् । उनले खाडी क्षेत्रमा अमेरिकाको भारी सैन्य तैनाथीपछि इरानी सेना सतर्क रहेको बताएका छन् । सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार अमीर हातमीले सत्रुले कुनै गल्ती गर्नेबित्तिकै आफ्नो सुरक्षाका लागि सम्पूर्ण शक्ति लगाउने चेतावनी दिएका छन् ।    

कान्तिपुर

Link copied successfully