खानेपानी, फोहोर, लालपुर्जा र वैदेशिक पलायनजस्ता पुरानै समस्या समाधान नहुँदा काठमाडौं–८ का मतदाता नयाँ अनुहारप्रति पनि विश्वास गर्न हिचकिचाइरहेका छन् ।
What you should know
काठमाडौँ — काठमाडौं महानगरपालिका–१५, डल्लुका ६० वर्षीय धन महर्जन बिहानपख आफ्नो पानी पसलमा बेफुर्सदिलो देखिन्छन् । ट्यांकरमा ल्याएको पानी प्रतिजार १० रुपैयाँले भर्न ग्राहकहरू उनको पसलमा आउँछन् ।
खानादेखि सरसफाइका लागिसमेत डल्लुका बासिन्दा जारमा स:शुल्क पानी भरेर लान्छन् । ‘देशमा धेरै पटक चुनाव भइसक्यो । धेरैलाई भोट हालेर जिताइसकियो । तर पानीको समस्या कसैले समाधान गर्न सकेन,’ पानी थापिरहेका धन महर्जनको गुनासो छ । यहाँ इनारको पानीले मनग्गे पुग्दैन । धारामा ट्यांकर सिवाय न मेलम्चीको पानी आउँछ, न कुनै मूलको ।
आगामी फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुँदै छ । काठमाडौं क्षेत्र नं ८ का मतदाता समेत रहेका धन गोप्य मतदान त गर्छन् । तर उनी पहिलेका उम्मेदवारका अधुरा वाचा र आश्वासनले उदासीन छन् । ‘पञ्चायतकालदेखि भोट हाल्दै आएको छु । चुनावको समयमा उनीहरू ढोग्दै आउँछन् । कुर्सीमा पुगेपछि जनताको समस्या हेर्दैनन् । देश विकास गर्नुको सट्टा भ्रष्टाचार गरेर कोठा र विदेशी बैंकमा पैसा लुकाउँछन्,’ उनी आक्रोशजडित गुनासो पोख्छन् ।
धनलाई बिझाइरहने अर्को विषय हो– वैदेशिक पलायन ।
उनी आँखैअघि थुप्रै जवान जोश विदेश पलायन भएको देख्छन् । आफ्नै छोरा पनि बिदेसिनुपरेको बाध्यताले उनी दु:खी छन् । ‘सबै सन्तान बिदेसिएपछि वृद्ध बा आमाको हेरचाह कसले गर्छ ? देशमै केही गर्ने वातारवरण जबसम्म हुँदैन । उम्मेदवार फेरिएर केही हुन्न,’ उनी भन्छन् ।
काठमाडौं १३–कालिमाटीको खोला किनारनिर किराना पसल गरिरहेका ५२ वर्षीय सुविन्द्र शाही यहीँका मतदाता हुन् । यसपालिको चुनावमा उनी माहोल पर्खिरहेका छन् । ‘चहलपहल त केही छैन । विस्तारै जसको पक्षमा माहोल देखिन्छ, उसलाई मतदान गर्छु,’ सुविन्द्र भन्छन् । ०४८ सालदेखि भोट हाल्दै आएका सुविन्द्रले आफ्नो प्रतिनिधि अन्तिम समयमा छान्ने गर्छन् । ‘सबैका वाचा सुनिन्छन् । सबैका उद्देश्य बुझिन्छन् । अनि हामी समूहमा छलफल गर्छौँ र चुपचाप हाल्छौँ,’ सुविन्द्र सुनाउँछन् ।
आफ्नो ठाउँको मुख्य समस्या नै फोहोर व्यवस्थापन लाग्छ उनलाई । उनकै पसलअघिबाट बग्ने खोलाबाट जहिल्यै दुर्गन्ध निस्कन्छ । त्यही दुर्गन्ध सहनुको विकल्प उनीहरूलाई छैन । ‘वरिपरिका फोहोर व्यवस्थापन पनि हाम्रो लागि चुनौती हो,’ उनी थप्छन् ।
उनलाई पुराना नेताले गर्दै नगरेका कुरा नयाँले गर्छन् कि भन्ने झिनो आशा छ । ‘हिजो पुरानालाई पनि भोट गरेकै हो । उनीहरूले काम गरेनन् । अब काम गर्ने नै त खोज्नुपर्ला नि,’ उनी भन्छन् ।
तर सुविन्द्र सामाजिक सञ्जाल चलाइरहँदा एउटा संशय भने मनमा राखिरहेका छन् । ‘मान्छेहरू के के भन्छन् । के के लेख्छन् । कतै चुनाव पो हुन्न कि,’ उनको सन्देह छ ।
काठमाडौं–१९ दमाईटोलका कतिपय मतदाता लालपुर्जा नहुनुको पीडासँग जुधिरहेका छन् । यहाँकी ६० वर्षीय मतदाता कविता शाहीले यहाँका मतदाताहरूको सुस्केरा सुनाइन् ।
घरको आँगनमा घाम तापिरहेको बखत भेटिएकी कविताले समस्या औंल्याउँदै भनिन्, ‘यहाँको ठूलो समस्या भनेको धेरै बासिन्दाहरूसँग जग्गाको लालपुर्जा नहुनु हो । यो समस्या समाधानका लागि पटक-पटक कुरा उठाए तापनि अहिलेसम्म कुनै सुनुवाइ भएको छैन ।’
अरु पनि सुल्झिन बाँकी समस्यामा जनप्रतिनिधिको ध्यान नगएको उनले बताइन् । ‘पानीकै समस्या धेरै छ । सानोभन्दा सानो काम पनि भइरहेको हुँदैन,’ कविता भन्छिन् । उनी कुनै ठोस काम गर्न सक्ने नयाँ अनुहारलाई भोट दिने सोच गरिरहेकी छन् ।
दमाई टोलकै २७ वर्षीय राज खड्गी पहिलो पटक मतदान गर्दै छन् । पहिलो पटक भोट खसाल्दै गर्दा उनको पहिलो चासो नै अपांगता भएका व्यक्तिलाई राज्यले गर्ने व्यवहारसँग छ ।
‘हामी अपांगता भएकाहरूलाई राज्यले खास चासो दिएको छैन । यो नीतिमा र कार्यान्वयनमा यो कुरामा ध्यान दिने उम्मेदवारलाई मेरो भोट हुन्छ,’ राज भन्छन् ।
काठमाडौं–२० भीमसेनस्थानकी ५० वर्षीय मतदाता कुनै उम्मेदवारसँग आफ्नो भरोसा नभएको बताउँछिन् । ‘यसअघि पनि भोट हाल्दै आएको हो । हाल्न त अब पनि हाल्छु । तर कसैले केही गर्छन् भन्नेचाहिँ लाग्दैन,’ किराना पसल गर्ने ती मतदाता नाम नखुलाउने सर्तमा भन्छिन् । बरु स्थानीय तहमा वडाका प्रतिनिधिले काम गरिरहेको तर प्रतिनिधिसभामा गएकाहरू काम त के फर्किएर पनि नआएको गुनासो उनको छ । ‘अब पुरानालाई त दोहोर्याउँदिनँ । नयाँलाई नै एउटा अवसर दिनुपर्ला,’ उनी भन्छिन् ।
काठमाडौं-२४ का मतदाता विजय बज्राचार्य पत्रिका पढिरहेका थिए ।
मतदातनबारे प्रसंग झिकेपछि उनले आफ्नो असन्तुष्टि सुनाए, ‘अघिल्ला प्रतिनिधिहरूले नीति-नियम र विकासका काममा ठोस योगदान दिएका छैनन् । नेताहरूबाट खासै आशा छैन । औपचारिकताका लागि मात्र भोट हाल्छु ।’ बरु वडाका प्रतिनिधिहरूले गरेको कामसँग आफ्नो सन्तुष्टि भएको कुरा जोडे ।
काठमाडौ क्षेत्र नं ८ मा काठमाडौं महानगरपालिकाका १३, १५, १९, २०, २३ र २४ वडा तथा नागार्जुन नगरपालिकाका ४ र ५ नम्बर वडा समेटिएका छन् । काठमाडौंको मात्र होइन नागार्जुनतर्फमा मतदाताको पनि उही गुनासो दोहोरिएको छ ।
गुल्मीको धर्कोट नयाँ गाउँबाट २३ वर्षअघि काठमाडौं बसाइँ आएका नागार्जुन-४ सीतापाइलाका रमेश भुसाललाई हामीले सोध्यौं, ‘तपाईं कताको मतदाता ?’
‘आधा अस्ट्रेलियाको, आधा यताको !’ उनले व्यंग्यमिश्रित शब्दमा भने । उनको व्यंग्यले नेपालमा युवा पलायनको कठोर अवस्था चित्रित गर्थ्यो । त्यसपछि रमेशले व्यंग्यपछाडिका दृश्य सुनाए । रमेशका एक छोरा र एक छोरी छन् । दुवै उच्च शिक्षा र रोजगारीका लागि अस्ट्रेलिया र अमेरिका छन् । उनकि छोरीले एमबीबीएस पढे पनि नेपालमा उचित जागिर र पारिश्रमिक पाइनन् । त्यसपछि बिदेसिन बाध्य भइन् । छोराको पनि त्यही अवस्था दोहोरियो । ‘भारी बोकेर कडा परिश्रम गरेर छोराछोरीलाई शिक्षा दिएँ । तर यहाँ बस्ने अवस्था छैन भने के अर्थ ?’ उनी थप्छन् ।
काठमाडौंमा दुई दशकभन्दा बढी समय बिताउँदा पनि खानेपानीको चरम अभावका कारण ट्यांकरको पानी किनेर खानुपरेको र बाटोघाटो तथा फोहोरको समस्या जस्ताको तस्तै रहेकामा उनको आक्रोश कायम थियो । ‘नेताहरूले विकास गरेनन् । त्यसकारण म त अबको चुनावमा भोट हाल्न जानुको सट्टा घरमै बस्छु,’ उनी अडानसका साथ भन्छन् ।
२० वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आएका सीतापाइलाकै हरिकृष्ण तिहारी यो क्षेत्रमा पहिलो पटक मतदान गर्दै छन्। यसअघि विराटनगरमा मतदान गर्दै आएका उनी १ वर्ष मात्र भयो यहाँको स्थायी बासिन्दा भएको । उनको भोगाइमा पनि यहाँको पहिलो समस्या खानेपानी अभाव नै हो । ‘बोरिङको पानी दीर्घकालीन छैन । ट्यांकरको पानी महँगो पर्छ । यहीकारण हामीले सास्ती खेप्नुपरेको छ,’उनी भन्छन्, ‘अनि यहाँ पर्याप्त पार्क र सार्वजनिक मनोरञ्जनका स्थलहरूको अभाव छ ।’
उनलाई देशमा सबैभन्दा उदासीन लाग्ने कुरा भनेको फितलो प्रविधि र झन्झटिलो प्रशासनिक प्रक्रिया हो । राष्ट्रिय परिचयपत्रको औचित्य नदेखिएको र लाइसेन्स नवीकरण गर्न वर्षौं कुर्नुपर्ने अवस्थाले उनी आजित छन् । ‘त्यसकारण कर्मचारीतन्त्रमा व्याप्त भ्रष्टाचारले नयाँ पार्टी आए पनि तात्विक परिवर्तन हुनेमा मलाई शंका छ । तल्लो तहदेखि नै सुधार नभएसम्म देशको अवस्था फेरिन्न,’ उनी भन्छन् । तर नयाँ उम्मेदवारलाई नै छनोट गर्ने सोच उनले बनाएका छन् ।
नदोहोरिने प्रतिनिधि, दोहोरिने समस्या
यो क्षेत्रमा अघिल्लो चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले विजयको किल्ला गाडेका थिए । अहिले पनि उनी रास्वपाबाट उम्मेदवार छन् । युवा तथा खेलकुमन्त्रीसमेत बनेका थिए । विवेकशील साझा पार्टीका तर्फबाट बागमती प्रदेशसभा निर्वाचन, २०७४ मा उनी समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सांसद समेत बनेका थिए । विराजले ०७९ मा त्यसअघि एमालेको किल्ललाई भत्काइदिएका थिए । यो ठाउँमा २०७० सालयता हेर्ने हो भने प्रतिनिधि दोहोरिएका छैनन् ।
०७० को संविधान सभा (दोस्रो) निर्वाचनमा कांग्रेस उम्मेदवार नविन्द्रराज जोशी विजयी भएका थिए । ०६५ सालको चुनावमा पनि जोशीले नै जिते । तर ०७४ साल को प्रतिनिधिसभा निर्वाचनमा एमालेका जीवनराम श्रेष्ठसँग उनको कडा प्रतिस्पर्धा भयो । जीवनरामले १३,३९७ मत प्राप्त गर्दै त्यसपटक चुनाव जिते ।
०७९ को निर्वाचनमा भने जीवनराम एमालेबाट नभई, एमाले विभाजनपछि बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बनेका थिए । उनलाई नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) सहितको सत्ता गठबन्धनको समर्थन थियो । तैपनि उनी पराजित भए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त १०,१०५ मत ल्याएर विजयी भएका थिए । त्यतिबेला जीवनराम तेस्रो भए । बरु उनका निकटतम् प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टी सुमन सायमीले ५,८८९ मत मात्र पाएका थिए । ०७४ मा जितेको एमालेले भने ०७९ मा नराम्रो हार बेहोर्यो । शिव सुन्दर राजवैद्य एमालेका उम्मेदवार थिए । उनले २,११० मत प्राप्त गरेका थिए ।
अघिल्लो पटक दोस्रो भएका सुमन सायमी यसपटक पनि उनी सोही क्षेत्रबाट उठ्दै छन् । कतिपय मतदाताका अनुसार विराजभक्त सदनमा हुँदा सुमन जनताको घरघरमा थिए । यसपालि उनीप्रति मतदाता सकारात्मक पनि छन् । अघिल्लो पटक हाम्रो पार्टी नेपालबाट उठेका उनले यसपटक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेर उम्मेदवारी दिए । सुमनले स्थानीय तहको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा चुनावी प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला पनि उनले करिब १३,७७० मत प्राप्त गरेका थिए ।
एमालेबाट यसपटक राजेश शाक्य चुनावी मैदानमा छन् । राजेश एमालेको पुरानो विरासत फर्काउने कसरतमा छन् । २०७४ को प्रदेश सभा निर्वाचनमा काठमाडौं ८ (क) बाट विजयी भएका उनले २०७९ सालको निर्वाचनमा भने सोही क्षेत्रबाट पराजय बेहोरे ।
कांग्रेसबाट यसपालि सपना राजभण्डारी उम्मेदवार छिन् । प्रतिनिधिसभा निर्वाचन, २०७९ मा उनी आदिवासी जनजाति समुदायबाट समानुपातिक सांसद निर्वाचित भएकी थिइन् । उनी स्वर्गीय नवीन्द्रराज जोशीकी पत्नी हुन् ।
नवीन्द्रराजको बलियो पकड भएकाले कांग्रेसले यस क्षेत्रमा आफ्नो जितको आँकलन गरेको छ । त्यसमाथि सपना यही क्षेत्रकी भएकाले मतदाताहरूसँग उनको अन्तर्क्रिया पनि भइरहन्छ । यस क्षेत्रमा उनको प्रभाव पनि राम्रो छ ।
यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवीन शाही, नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) बाट राजेन्द्रप्रसाद शाह, नेपाल मजदुर किसान पार्टीबाट बन्दना श्रेष्ठ, नेपाल संघीय समाजवादी पार्टी (एकल चुनाव चिह्न) बाट विजय डंगोल, जनता समाजवादी पार्टी, नेपालबाट सरोज राज वेद्य, आम जनता पार्टी (एकल चुनाव चिह्न) बाट खगेश रञ्जितकार उम्मेदवार छन् । नेपाल जनता संरक्षण पार्टीबाट दिनेश शाही, संयुक्त नागरिक पार्टीबाट रेशमबहादुर सुनार, श्रम संस्कृति पार्टीबाट शिव सुन्दर कर्माचार्य, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट सलाम सिंह लामा, उज्यालो नेपाल पार्टीबाट राजन खड्गी, राष्ट्रिय मुक्ति आन्दोलन, नेपालबाट छत्रकुमार पाख्रिन, राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकल चुनाव चिह्न) बाट मुक्तिनाथ शर्मा र स्वतन्त्रबाट विकाश खड्गी, तुलसा श्रेष्ठ महर्जन, सुनिता महर्जन, शुशिला नेपाली र मुना न्यौपाने (पाण्डे) पनि चुनावमा प्रतिस्पर्धा गर्दै छन् ।
उम्मेदवारका वाचा
कान्तिपुको सम्पर्कमा आएका तीन उम्मेदवारले यस क्षेत्रमा आफ्ना सपना र योजनाबारे सुनाए । नेकपाका उम्मेदवार सुमन सायमीले यसपटकके प्रचारप्रसार परम्परागत शैलीभन्दा फेरिने बताए । घरदैलोमा पुगेर जनतालाई देशको वास्तविक स्थिति र विचारसहितको विकल्प बुझाउने रणनीति अपनाएको उनको भनाइ छ ।
‘जनताले एक दशकदेखि सडकबाट उपत्यकाका सांस्कृतिक सम्पदा, गुठी, वातावरण, र सडक विस्तारजस्ता मुद्दामा मैले गरेको निरन्तर संघर्ष र त्यागलाई उच्च मूल्यांकन गरिरहेका छन् । पहुँचमा नहुँदा पनि जनताका समस्यामा साथ दिएकाले मलाई एक 'कर्मशील' र 'सोसाइटी' नेताका रूपमा हेरिएको छ,’ सायमी दाबी गर्छन् ।
उनी आफ्नो मुख्य प्राथमिकता संविधानमा उल्लिखित मौलिक हकलाई कागजमा मात्र सीमित नराखी व्यवहारमा कार्यान्वयन गराउनु बताउँछन् । साथै शिक्षा, स्वास्थ्य, र रोजगारीजस्ता आधारभूत आवश्यकता पूरा गर्न ठोस पहल गर्ने र राजनीतिक प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उनले सुनाए ।
कांग्रेसकी उम्मेदवार सपना राजभण्डारी यस क्षेत्रका जनता पानीसँग जुधिरहेको समस्यासँग आफू परिचित भएको बताउँछिन् । ‘मेलम्ची खानेपानी आयोजनाको उचित व्यवस्थापनका लागि नेतृत्व तहसँगको समन्वयमार्फत यो समस्या समाधान गर्छु । साथै स्थानीय स्तरमा सरसफाइ र ट्राफिक समस्याको समाधान पनि मेरो कार्ययोजनामा छ,’ उनी भन्छिन् ।
सपना आफ्नो मुख्य प्राथमिकतामा वसन्तपुर र स्वयम्भूजस्ता विश्व सम्पदा क्षेत्रहरूको संरक्षण र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्नु रहेको बताउँछिन् । ती क्षेत्रमा सुरक्षा व्यवस्था, ट्राफिक व्यवस्थापन र सडक बालबालिकाको समस्या समाधान गरी यसलाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने लक्ष्य उनको छ । ‘८० प्रतिशतभन्दा बढी नेवार बस्ती भएको यस क्षेत्रको कला, संस्कृति, जात्रा, बाजागाजा र परम्परालाई जोगाउने र माथि उठाउने उनको अर्को महत्वपूर्ण कुरा पनि मेरो प्राथमिकतामा छ,’ उनी भन्छिन् ।
एमाले उम्मेदवार राजेश शाक्य विगतमा आफू निर्वाचित हुँदा गरेका प्रतिबद्धतामध्ये ९५ प्रतिशत पूरा गरेको र पदमा नहुँदा पनि जनताको सुखदुःखमा साथ दिएकाले मतदाताहरू उत्साहित रहेको दाबी गर्छन् ।
उनले आफ्नो मुख्य एजेन्डाका रूपमा खानेपानीको समस्या समाधानलाई अघि सारेका छन् । ‘आफ्नो नेतृत्वमा काष्ठमण्डपको सफल पुनर्निर्माण गरेको थिएँ । हनुमानढोका र स्वयम्भूजस्ता विश्व सम्पदा क्षेत्रलाई जोडेर पर्यटन पदमार्ग बनाउने र यसैमार्फत देशको आर्थिक विकास र युवाहरूको समृद्धिका लागि काम गर्ने लक्ष्य राखेको छु,’ उनले वाचा सुनाए ।
