नयाँ स्टेसनमा क्रुज सिप

पानीमाथि तैरिएर गीत, संगीतसँगै परिकार खाँदै रमाउन सकिने सुविधा क्रुजमा रहेकाे छ । गीत, नृत्यका लागि क्रुजमा मञ्च नै रहेको छ ।

माघ १९, २०८२

रमेशकुमार पौडेल

Cruise ship at new station

What you should know

चितवन — निर्माणताका चर्चामा रहेको र सञ्चालनमा आएपछि गुमनाम जस्तै हुँदै गएको नेपालको पहिलो ‘क्रुज सिप’को स्टेसन परिवर्तन भएको छ ।

नारायणी नदीको छेउ भरतपुर महानगरपालिका-१६ को काब्रेघाटमा निर्माण भएको र त्यहीबाट तीन वर्षअघि चल्न सुरु गरेको क्रुज सिपको नयाँ स्टेसन नारायणगढ पारी गैंडाकोटमा रहेकोछ । क्रुज सञ्चालन गर्ने कम्पनीले नयाँ साझेदार पनि पाएको छ ।

गैंडाकोटस्थि नारायणी नदी किनारमा रहेको होटल रिभर क्राउन प्रालिसँग साझेदारी गरेर क्रुज सिप सञ्चालन हुन लागेको हो । राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले क्रुज निर्माण गरेको थियो । पानी जहाज जस्तै देखिए पनि जल यातायात र ढुवानीका लागि नभइ नदीमा आधारित मनोरञ्जनात्मक फर्यटकीय गतिविधि गर्न त्रुज प्रयोग हुन्छ । कम्पनीले क्रुजमा गर्न सकिने विभिन्न कार्यक्रमहरु तयार गरेको छ ।

टिकट पाँच सय रुपैयाँ रहेको क्रुजमा ब्रेकफास्ट, लञ्च र डिनर त्रुजिङ जस्ता कार्यक्रम गर्न सकिने राइनो क्रुजका प्रवन्ध निर्देशक दीपक ढुंगेलले बताए । ब्रेकफास्ट र डिनर त्रुजिङका लागि १५ सय रुपैयाँदेखि तीन हजार रुपैयाँसम्म खर्च लाग्ने उनले बताए । 

क्रुजभित्रै विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव, बैबाहिक वार्षिकोत्सव जस्ता कार्यक्रम पनि गर्न सकिने उनले जानकारी दिए ।  ‘अन्य ठूला विशेष कार्यक्रम पनि गर्न सकिन्छ’ ढुंगेलले भने । ९५ फिट लम्बाइ र २१ फिट चौडा क्रुजमा दुई सयजना राख्न सकिने भए पनि हाललाई बढीमा १५० जनालाई सेवा दिने उनले बताए ।
Cruise ship at new station

तीनतले क्रुज भारत कोलकत्ताबाट आएका लाइसेन्स प्राप्त क्याप्टेनले चलाउने छन् । काब्रेघाटमा करिब चार वर्ष लगाएर भारत केरलाबाट आएका प्राविधिकहरुले क्रुज तयार गरेका थिए ।

करिब १५ करोड रुपैयाँ लागतमा बनेको क्रुज २०७९ सालको माघ एक गतेबाट औपचारिक रुपमा सचालनमा आएका थियो । नारायणगढ बजार क्षेत्रबाट लगभग ६ किलो मिटर पश्चिममा रहेको काब्रेघाट स्टेसनमा खासै चहल पहल नभएपछि क्रुज बजार आडकै नयाँ स्टेसनमा सरेको हो । 

नारायणीमा ४० किलो मिटरसम्म चलाउन स्वीकृति भए पनि त्यो दुरीमा चलाउन हाल सम्भव छैन ।

नदीमा पानीको मार्ग परिवर्तन भइरहेका कारण जहाँ त्यही क्रुज चल्न सम्भव नदेखिएको हुँदा हाल चार किलो मिटरसम्म चलाउने ढुंगेलले बताए । 

क्रुज चल्न कम्तिमा दुई मिटर गहिराई चाहिने उनको भनाइ छ । नारायणगढ वरपर र देवघाटसम्म चलाउने योजना बनाएको उनले सुनाए । ‘यो रोमाञ्चक अनुभव लिनका लागि हैन । यो मोटरबोट जस्तो कुद्दैन । आनन्दले बसेर मनोरञ्जन लिन हो’ उनले भने ।

पानीमाथि तैरिएर गीत, संगीतसँगै परिकार खाँदै रमाउन सकिने सुविधा क्रुजमा हुने उनले बताए । गीत, नृत्यका लागि क्रुजमा मञ्च नै रहेको छ । पर्यटन मन्त्रालयबाट स्वीकृति लिएर सञ्चालनमा आएको क्रुजमा सुरक्षा प्रवन्ध राम्रोसँग मिलाएको उनले बताए । जलयात्रा पर्यटन बढ्दै गएको हुँदा सरकारी निकाय पानी जहाज कार्यालयले पनि नीतिगत सम्बोधन गर्न आवश्यक रहेको उनको भनाइ छ । 
Cruise ship at new station

क्रुज सञ्चालनमा साझेदारी गरेको होटल रिभर क्राउनका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य डा. तिलचन्द्र भट्टराईले धार्मिक र वन्यजन्तु पर्यटनका लागि प्रख्यात चितवन र यस आसपासमा जल पर्यटनको नयाँ आयाम थपिएको बताए । ‘हामी नदीको गरिमा र पर्यावरणलाई ख्याल राख्दै जलपर्यटनलाई बढाउँदै छौं । यसले आर्थिक गतिविधि बढ्छ’ भट्टराईले भने ।

धार्मिक स्थल देवघाट र त्रिवेणीधाम क्षेत्रलाई जोड्ने गरेर क्रुज सञ्चालनमा आउनु पर्ने गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले बताए । धार्मिक यात्रा र घुमफिरका लागि क्रुज उपयोगी रहेको प्रवन्ध निर्देशक दीपक ढुंगेल बताउँछन् । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully