निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही प्रक्रिया अघि बढ्यो

निर्वाचन सम्बन्धमा सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमबाट प्राप्त १ सय २० ‘कन्टेन्ट’ लाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाइयो

माघ १९, २०८२

कान्तिपुर संवाददाता

Action process underway against those violating election code of conduct

काठमाडौँ — निर्वाचन आयोगको केन्द्रीय आचारसंहिता अनुमगन समितिमा प्राप्त उजुरीका आधारमा आचारसंहिता उल्लंघन गर्ने उम्मेदवार, विभिन्न संस्था तथा व्यक्तिलाई कारबाही अघि बढाइएको आयोगले जानकारी दिएको छ ।

समितिमा हालसम्म २१ उजुरी प्राप्त भएकोबारे राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । १२ वटा उजुरीका सम्बन्धमा जवाफ प्राप्त भएको पनि निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । 

आचारसंहिता उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही गर्ने आयोगले जनाएको छ । ‘आचारसंहिता उल्लंघनका घटनामा आयोगले कानुनबमोजिम कारबाही गर्छ, कसैलाई सफाइको मौका नदिईकन कारबाही गर्न हुँदैन भन्ने व्यवस्थासमेत कानुनमा छ, आयोगले स्पष्टीकरण सोध्छ, कारबाही गर्दैन भन्ने जिज्ञासा वा गुनासो पनि आउने गर्छ तर त्यो होइन, नियतवश नै आचारसंहिता उल्लंघन भएको रहेछ भने आयोगले कारबाही गर्छ,’ प्रवक्ता भट्टराईले भने । 

निर्वाचन सम्बन्धमा सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमबाट प्राप्त १ सय २० ‘कन्टेन्ट’ लाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पठाइएको भट्टराईले जानकारी दिए । त्यस्तै, ६ वटालाई दूरसञ्चार प्राधिकरण ऐन २०५२ अन्तर्गत कारबाहीका लागि दूरसञ्चार प्राधिकरणमा र १५ वटा उजुरीलाई प्रेस काउन्सिल ऐन २०४८ बमोजिम कारबाहीका लागि प्रेस काउन्सिलमा पठाइएको उनले बताए ।

कान्तिपुर

Link copied successfully