सरकारले निर्वाचन सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट करिब १ लाख ९० हजार सुरक्षाकर्मी खटाउने निर्णय गरिसकेको छ ।
What you should know
काठमाडौँ — आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि छनोट भएका ३ हजार निर्वाचन प्रहरी आधारभूत तालिममा अनुपस्थित भएका छन् ।
नेपाल प्रहरी मातहत खटिने गरी ४० दिनको कार्यअवधि तोकेर छनोट भएका १ लाख ३३ हजार ९ सय ८० निर्वाचन प्रहरीमध्ये आइतबारदेखि सुरु भएको निर्वाचन केन्द्रित आधारभूत तालिम तथा अनुशिक्षणमा २ हजार ९ सय ९५ जना सहभागी भएनन् । अनुपस्थितमध्ये केहीले प्रहरी जवानको लिखित परीक्षामा सहभागी हुनुपर्ने कारण देखाउँदै केही दिनभित्र तोकिएको युनिटमा उपस्थित हुने जानकारी गराएका छन् । तर बाँकीले भने कुनै सूचना नदिई अनुपस्थित रहेका छन् ।
२१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी मातहत १५ हजार १ सय १० निर्वाचन प्रहरी छनोट भएका थिए । छनोट भएकाहरुको आधारभूत तालिम आइतबारबाटै सुरु भइसकेको छ । नेपाल प्रहरीले ७७ वटै जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटमार्फत र सशस्त्र प्रहरीले जिल्लास्थित गण/गुल्ममार्फत तालिम दिएर अर्को सातादेखि फिल्डमा खटाउने तयारी गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरी मातहत खटिने गरी छनोट भएकामध्ये कोशी प्रदेशका ५ सय ८, मधेसका ६ सय १७, बागमतीका ६ सय ४३, गण्डकीका ६ सय ८, लुम्बिनीका १ सय ८९, कर्णालीका ८९, सुदूरपश्चिमका १ सय ६७ र उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर)का १ सय ७४ जना तालिममा सहभागी भएका छैनन् ।
निर्वाचन प्रहरीलाई प्रहरी जवानसरहको पारिश्रमिक, पोशाक भत्ता, रासन, यातायात खर्च तथा चार दिनको खाजा खर्च उपलब्ध गराउने व्यवस्था गृह मन्त्रालयले यसअघि नै जारी गरेको 'निर्वाचन प्रहरी भर्ना तथा परिचालन निर्देशिका' मा गरिएको छ । ४० दिनको अवधि समाप्त भएपछि सम्बन्धित प्रहरी कार्यालयबाट उनीहरुलाई विदाइ गरिने उल्लेख छ ।
सरकारले निर्वाचन सुरक्षामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट करिब १ लाख ९० हजार सुरक्षाकर्मी खटाउने निर्णय गरिसकेको छ । यसबाहेक १ लाख ४९ हजार ९० निर्वाचन प्रहरीलाई ४० दिनका लागि छनोट गरिएको हो ।
यस पटक सबैभन्दा बढी मधेस प्रदेशमा २७ हजार ६ सय ७८ निर्वाचन प्रहरी खटाइँदै छन् । खुला सीमा, उम्मेदवारबीचको अस्वस्थ प्रतिस्पर्धा तथा अन्य सुरक्षा चुनौतीलाई दृष्टिगत गर्दै मधेसमा जनशक्ति बढाइएको हो । दोस्रोमा कोशी प्रदेशमा २२ हजार ९ सय १, तेस्रोमा लुम्बिनीमा २१ हजार ६ सय ६७, चौथोमा बागमतीमा १५ हजार ८ सय ८, पाँचौंमा सुदूरपश्चिममा १३ हजार ५ सय २, छैटौंमा गण्डकीमा १२ हजार ९ सय ७, सातौंमा कर्णालीमा ९ हजार ६ सय ५४ र उपत्यकामा ६ हजार ३ सय ६९ निर्वाचन प्रहरीको कोटा तोकिएको छ । सशस्त्र प्रहरीले १५ हजार १ सय १० जनालाई एकसाथ तालिम दिन सुरु गरिसकेको छ ।
‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (प्रहरी र सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि–२०८२’ अनुसार एक जना निर्वाचन प्रहरीले दैनिक ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनको ३४ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । त्यसबाहेक जिल्ला दररेटअनुसार रासन भत्ता, एकपटकका लागि ८४६ रुपैयाँ यातायात भत्ता, चार दिनका लागि प्रतिदिन ३ सय रुपैयाँका दरले १ हजार २ सय रुपैयाँ खाजा खर्च तथा मौसमअनुसार पोशाक भत्ता उपलब्ध गराइने व्यवस्था छ ।
कार्यअवधिमा कर्तव्य पालनाका क्रममा निर्वाचन प्रहरी घाइते भएमा उपचार खर्च र मृत्यु भएमा सरकारले तोकेको क्षतिपूर्ति रकम नजिकको हकवालालाई उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ ।
