१२औं गैरआवासीय नेपाली विश्व सम्मेलन काठमाडौंमा हुने

‘नेपालीका लागि नेपाली’ भन्ने नारासहित सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियानले विश्वभर छरिएका नेपालीलाई एकै सूत्रमा बाध्दै आएको छ ।

माघ १९, २०८२

कान्तिपुर संवाददाता

12th Non-Resident Nepali World Conference to be held in Kathmandu

काठमाडौँ — परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए)को १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आउँदो ३० फागुनदेखि २ चैतसम्म काठमाडौंमा आयोजना गर्ने भएको छ ।

नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनलाई सफल बनाउन सबैलाई मन्त्रालयले अपील गरेको छ । 

मन्त्रालयद्धारा सोमबार आयोजित पत्रकार सम्मेलनमा विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशन सफल बनाउन सम्पूर्ण गैरआवासीय नेपालीलाई सहभागिताका लागि अपिल समेत गरेको छ । 

गैरआवासीय नेपालीसँग सम्बन्धित विषयमा सरकारको सम्पर्क निकायको भूमिका निर्वाह गर्दै आएको मन्त्रालयले संघको विश्व सम्मेलन तथा महाधिवेशन आयोजना गर्न आवश्यक सहयोग र सहजीकरण गर्दै आएको छ । सम्मेलन आयोजनाका लागि परराष्ट्रमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय आयोजक समिति गठन भइसकेको छ । समितिको सचिवालयको जिम्मेवारी एनआरएनए सचिवालयले नै सम्हाल्ने छ ।

‘नेपालीका लागि नेपाली’ भन्ने नारासहित सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियानले विश्वभर छरिएका नेपालीलाई एकै सूत्रमा बाधदै आएको छ । संघको १०औं र ११औं महाधिवेशनपछि देखिएका संगठनात्मक जटिलताहरूलाई संवाद र सहकार्यको माध्यमबाट समाधान गर्दै ३० नोभेम्बर २०२५ मा बृहत् एकता कार्यक्रम भएको थियो । 

सम्मेलनमा गैरआवासीय नेपालीसम्बन्धी ऐन, संविधानले प्रत्याभूत गरेका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, गैरआवासीय नेपालीको संयुक्त लगानी, पर्यटन, स्वास्थ्य, ज्ञान, सिप र प्रविधि हस्तान्तरण, महिला, युवा तथा दोस्रो पुस्तासम्बन्धी विषयमा छलफल हुने छ ।

सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधि, एनआरएन अभियन्ता तथा स्वदेशी–विदेशी विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहने छ ।

कान्तिपुर

Link copied successfully