उनीविरुद्ध १२ करोड ४७ लाख २२ हजार २४२ रुपैयाँ ११ पैसा बिगो मागदाबी गरी बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबी लिइएको छ ।
काठमाडौँ — नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
उदयपुर सिमेन्ट कम्पनीको महाप्रबन्धक हुँदा भ्रष्टाचार गरेको अभियोगमा पौडेलसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
२० भदौ २०८२ मा पौडेललाई तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले पुनर्बिमा कम्पनीको अध्यक्षमा ४ वर्षका लागि नियुक्ति गरेका थिए ।
पौडेलविरुद्ध १२ करोड ४७ लाख २२ हजार २४२ रुपैयाँ ११ पैसा बिगो मागदाबी गरी बिगोबमोजिम जरिवाना, कैद सजाय मागदाबी लिइएको छ ।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार सोही अभियोगमा सिमेन्ट कम्पनीका तत्कालीन निमित्त महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन नायब महाप्रबन्धक महेशप्रसाद काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेशप्रसाद काफ्ले, उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, सिमेन्ट उत्पादन महाशाखाका हरिप्रसाद अधिकारी र बिक्री विभाग प्रमुख रामबहादुर बीसीविरुद्ध मुद्दा दायर भएको हो ।
अख्तियारले तत्कालीन निमित्त नायब महाप्रबन्धक साहविरुद्ध ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ रुपैयाँ, काफ्लेविरुद्ध १२ करोड ६३ लाख ६९ हजार १ सय ६८ रुपैयाँ बिगो माग दाबी लिएको छ । यसैगरी अख्तियारले लाल, साह, अधिकारी र जिसीविरुद्ध पनि जनही ४६ करोड ५२ लाख ७४ हजार ४ सय २६ रुपैयाँ बिगो दाबी गरी बिगो बमोजिम जरिवाना र कैद सजायको माग दाबी लिइएको छ ।
प्रतिवादीहरुले सरकारी सम्पत्ति हिनामिना गरी सरकारलाई हानि पुर्याएको दाबीसहित अख्तियारले बिगोबमोजिम जरिवाना, कैद सजाय मागदाबी लिएको छ । प्रतिवादीहरुउपर फरकफरक बिगो रकम कायम गरेर आरोपपत्र दायर भएको अदालतका प्रवक्ता लामिछानेले जानकारी दिए ।
सिमेन्ट उत्पादनका क्रममा क्लिंकरको खपत बढी भएको तर उत्पादन घटी देखाएर पदाधिकारी तथा कर्मचारीले मिलेमतोमा बिक्री बापतको रकम हिनामिना गरेको उजुरी पछि अख्तियारले अनुसन्धान गरेको थियो । आव २०७४/७५ मा क्लिंकर ३३ हजार ९ सय १४ मेट्रिक टन मौज्दात रहेको भनी देखाएको तर १२ असोज २०७५ मा भएको भौतिक परीक्षणमा ३२ हजार ७ सय ८५ मेट्रिक टन मात्र देखिएकोमा १ हजार १ सय २९ टन क्लिंकर हिनामिना गरेको अनुसन्धानबाट खुलेको हो ।
त्यसपछिका विभिन्न आवमा पनि क्लिंकरको परिणाम कम देखाएर उत्पादन हिनामिना गरेको लगायत आरोप लगाइएको छ ।
