६ माघमा उम्मेदवारी दर्ता भएयता ठूला दलदेखि स्वतन्त्र उम्मेदवारसम्म मतदाताको चाहना, गुनासा र अपेक्षा बुझ्न गाउँ पुगेका छन्
What you should know
लमजुङ — आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको प्रचारप्रसार सुरु हुन अझै समय बाँकी छ । तर, लमजुङका गाउँबस्तीमा भने चुनावी चहलपहल बढिसकेको छ ।
६ माघमा उम्मेदवारी दर्ता भएयता ठूला दलदेखि स्वतन्त्र उम्मेदवारसम्म मतदाताको चाहना, गुनासा र अपेक्षा बुझ्न गाउँ पुगेका छन् । जुलुस र आमसभा नगरे पनि भेला, बैठक र अन्तरक्रियालगायतले प्रारम्भिक चुनावी चहलपहल बढेको छ ।
निर्वाचन तालिकाअनुसार ४ फागुनपछि मात्र प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गर्न पाइन्छ । तर, दलहरूले यसअघि नै संगठन सुदृढीकरण, मतदाता भेटघाट र स्थानीय मुद्दा संकलनलाई तीव्र बनाएका छन् ।
लमजुङमा एक स्वतन्त्रसहित १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेस, एमाले, रास्वपा, नेकपासहितका दलले औपचारिक प्रचारअघि नै ‘मतदाताको नाडी छाम्ने’ रणनीति अपनाएका छन् ।
एमालेले सक्यो पालिकास्तरीय बैठक अभियान
एमालेका उपाध्यक्षसमेत रहेका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ हाल जिल्लाका सबै पालिकामा देखिन थालेका छन् । उनी निर्वाचन तालिकाअघि भइरहेका प्रचारप्रसारसम्बन्धी गतिविधिलाई पार्टीको नियमित काम बताउँछन् । ‘चुनावी प्रचारप्रसार सुरु भएको छैन । तयारी भने भइरहेको छ,’ उनले भने, ‘पार्टीका नियमित कार्यक्रममा सहभागी हुँदै मतदाताको चाहना बुझ्ने काम भइरहेको हो ।’
एमालेले ७ माघदेखि मध्यनेपाल नगरपालिकाबाट सुरु गरेको पालिकास्तरीय बैठक अभियान शुक्रबार दूधपोखरीमा सकिएसागै हालसम्म सबै पालिकामा सकेको छ ।
कांग्रेसले २० माघभित्रै सक्दै पालिकास्तरीय बैठक
कांग्रेसले पनि उम्मेदवार गमप्रसाद गुरुङसहित पालिकास्तरीय बैठकलाई तीव्र बनाएको छ । 
कांग्रेस जिल्ला सचिव कृष्णबहादुर अधिकारीका अनुसार २० माघभित्र सबै पालिकामा बैठक सक्ने लक्ष्य राखिएको छ । उनले भने, ‘उम्मेदवारी दर्तापछि उम्मेदवार र कार्यकर्ता मतदातासँग भेटघाटमा जानु स्वाभाविक प्रक्रिया हो ।’
रास्वपाको अन्तरक्रिया अभियान सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १५ माघदेखि अन्तरक्रिया अभियान थालेको छ ।जिल्ला संयोजक अशोक सापकोटाका अनुसार उम्मेदवार धर्मराज केसीसहितको टोली विभिन्न पालिकामा चरणबद्ध रुपमा पुगेर मतदातासाग सिधा संवादमा जुटेको छ । ‘ठूला सभा भन्दा पनि प्रत्यक्ष संवादमा केन्द्रित भएका छौं,’ सापकोटाले भने ।
नेकपाको गाउँगाउँमा पालिकास्तरीय बैठक
नेकपाले उम्मेदवार हरिजङ तामाङसहित चुनावकेन्द्रित अभियान सुरु गरेको छ ।
जिल्ला समितिको विस्तारित बैठकपछि केन्द्रीय सदस्य पारसमणि पौडेलको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरी गाउँगाउँमा पालिकास्तरीय बैठक र छलफल चलाएको छ ।
अन्य दल पनि मतदाता भेटघाटनमा
राप्रपा जिल्ला अध्यक्षसमेत रहेका उम्मेदवार केविन्द्रजङ गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनका उम्मेदवार विकास गुरुङ, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार गुजेश्वरी प्रजापती मगजु, नेकपा (माओवादी) का उम्मेदवार रविन्द्र नखोला, नेशनल रिपब्लिक नेपालका भरत गुरुङ, श्रम संस्कृति पार्टीका कोषलाल गुरुङ, जनादेश पार्टीका मिलन बाास्कोटा तथा स्वतन्त्र उम्मेदवार सन्तोष घिमिरे पनि आ–आफ्नो शैलीमा मतदाता भेटघाटमा सक्रिय छन् ।
मुख्य निर्वाचन अधिकृत भन्छन्– निर्वाचन तालिकाअघि नै प्रचारप्रसार गर्न पाइदैन्
मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालले तोकिएको समयअघि जुलुस, कोणसभा र घरदैलो कार्यक्रम गर्न नपाइने स्पष्ट पारे । ‘भेला र बैठकहरूका नाममा तयारी भइरहेको अनौपचारिक जानकारी छ । तर, कानुन विपरीत गतिविधि भए कारबाही हुन्छ,’ उनले भने ।
