गैरआवासीय नेपाली बाह्रौँ विश्व सम्मेलनका लागि उच्चस्तरीय आयोजक समिति गठन

परराष्ट्रमन्त्रीको अध्यक्षतामा गठित समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, परराष्ट्र मन्त्रालयका सचिव, अर्थ मन्त्रालय, उद्योग, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवहरू सदस्यका रुपमा छन्।

माघ १६, २०८२

कान्तिपुर संवाददाता

High-level organizing committee formed for 12th World Conference of Non-Resident Nepalis

काठमाडौँ — परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएन) को बाह्रौँ विश्व सम्मेलन आयोजनाका लागि उच्चस्तरीय आयोजक समिति गठन गरेको छ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्रीस्तरीय निर्णयअनुसार आगामी फागुन २९ देखि चैत २ (मार्च १४–१६, २०२६) सम्म नेपालमा आयोजना हुने गैरआवासीय नेपाली संघको बाह्रौँ विश्व सम्मेलनको तयारीका लागि उक्त समिति गठन गरिएको हो।

परराष्ट्रमन्त्रीको अध्यक्षतामा गठित समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, परराष्ट्र मन्त्रालयका सचिव, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवहरू सदस्य रहेका छन्। त्यसैगरी नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत, परराष्ट्र मन्त्रालयको श्रम आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखाका सहसचिव, आर्थिक कूटनीति महाशाखाका सहसचिवसमेत समितिमा सदस्य छन्।

गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसी, अध्यक्ष महेश कुमार श्रेष्ठ र संघका प्रमुख कार्यकारी अधिकृत पनि सदस्यका रूपमा समितिमा रहेका छन्। निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका अध्यक्षहरू समितिमा समावेश गरिएका छन्। परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले हस्ताक्षर गरेको पत्रमार्फत गैरआवासीय नेपाली संघलाई समितिको विवरण जानकारी गराइएको छ।

सरकारले गैरआवासीय नेपालीहरूको लगानी, सीप र ज्ञानलाई राष्ट्रिय विकाससँग जोड्ने उद्देश्यले सम्मेलनलाई विशेष महत्वका साथ आयोजना गर्न लागेको जनाएको छ। सम्मेलनमार्फत डायस्पोरा नीति, लगानी प्रवर्द्धन, रोजगारी सिर्जना तथा नेपालको अन्तर्राष्ट्रिय छविबारे छलफल हुने अपेक्षा गरिएको छ।

कान्तिपुर

Link copied successfully