पर्यटकको फर्जी उद्धारको घटना के हो ? यो घटना किन गुपचुप थियो ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

वर्षौंदेखि जारी फर्जी उद्धारको घटना किन यति लामो समयसम्म गुपचुप रह्यो ? यसले कसरी नेपाली पर्यटन क्षेत्र अन्तर्राष्ट्रिय रूपमा नै लज्जित भइरहेको थियो ? अनि फर्जी उद्धारका घटनामा नखुलेका तथ्यहरू के–के हुन् ?

माघ १६, २०८२

कान्तिपुर संवाददाता

What is the fake tourist rescue incident? Why was this incident kept secret? Understand in five Q&A

What you should know

काठमाडौँ — बीमा दाबी गरेर रकम हत्याउन पर्यटन क्षेत्रमा फर्जी उद्धारको काम भइरहेको विषय नेपालीका निम्ति नयाँ थिएन। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले हालै मात्र यस्तो फर्जी काममा संलग्न भएका केही व्यक्तिलाई पक्राउ गरेपछि उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा र पर्वतारोहणका क्रममा पर्यटकलाई लेक लाग्दा, प्राकृतिक विपत्ति वा दुर्घटनामा पर्दा हेलिकोप्टरमार्फत कसरी फर्जी उद्धार गरिएको रहेछ र यो घटना कति गम्भीर रहेछ भन्ने कुरा सार्वजनिक भयो।वर्षौंदेखि जारी फर्जी उद्धारको घटना किन यति लामो समयसम्म गुपचुप रह्यो ? यसले कसरी नेपाली पर्यटन क्षेत्र अन्तर्राष्ट्रिय रूपमा नै लज्जित भइरहेको थियो ? अनि फर्जी उद्धारका घटनामा नखुलेका तथ्यहरू के–के हुन् ? हामीले पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौँ।

फर्जी उद्धारको घटना खासमा के हो?

नेपालमा उच्च पहाडी तथा हिमाली क्षेत्र प्रसस्तै छन्। नेपाली पर्यटनको प्रमुख आधार पनि ती पहाडी र हिमाली क्षेत्र नै हुन्। यी क्षेत्रको पदयात्रा गर्दा पर्यटकलाई लेक लाग्ने वा प्राकृतिक विपत्ति वा दुर्घटना हुने कुरा सामान्य हुन्। यस्तो बेलामा पर्यटकलाई हेलिकोप्टरमार्फत उद्धार गरिन्छ, जुन सामान्य ठानिन्छ। 

तर, नेपालमा केही व्यक्ति र संस्थाले पर्यटकलाई सामान्य समस्या देखिए पनि जबर्जस्ती हेलिकोप्टरमार्फत उद्धार गराउने, एउटै उडानका लागि पटक–पटक बिमा दाबी गर्ने, नक्कली कागजात तयार गरी बिमा कम्पनीबाट ‘ठूलो रकम’ असुल्ने जस्ता घटना हुँदै आएका छन् । यसैलाई ‘फेक रेस्क्यु’ वा फर्जी उद्धार भन्ने गरिन्छ । 

यो घटना कसरी सार्वजनिक भयो?

फर्जी उद्धारबारे औपचारिक अध्ययन २०७५ मा सुरु भएको थियो। फर्जी उद्धारका नाममा ठगीका घटना आइरहेपछि तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीले मन्त्रीस्तरीय निर्णयबाट हालका अर्थसचिव घनश्याम उपाध्यायको नेतृत्वमा विशेष छानबिन कार्यदल गठन गरेका थिए ।कार्यदलले ‘ट्राभल, ट्रेकिङ, रेस्क्यु कम्पनी, अस्पताल, हेलिकोप्टर कम्पनी र बिमा कम्पनीबीच मिलेमतो गरी अत्यधिक खर्च देखाई बिमा भुक्तानी लिने गरिएको आशंकालाई प्रमाणसहित पुष्टि गरेर’ प्रतिवेदन तयार पारेको थियो। 

खासमा मन्त्री अधिकारीलाई छानबिनका लागि कार्यदल गठन गर्न बाध्य चाहिँ ‘ट्राभलर असिस्ट’ नामको विदेशी कम्पनीले पारेको थियो। यो कम्पनीले थुप्रै पटक सरकारलाई इमेल लेखेर ‘केही नेपाली पर्यटन व्यवसायीले हेलिकोप्टर उद्धारमा ठगी गरेको’ आरोप लगाउँदै छानबिन गर्न भनेको थियो। 

कम्पनीले सञ्चारमाध्यममा इमेल सार्वजनिक गर्ने धम्की दिएपछि तत्कालीन पर्यटनमन्त्री अधिकारीले कार्यदल गठन गरेका थिए ।

वर्षौंसम्म यो घटना किन गुपचुप थियो?

कार्यदलको प्रतिवेदनले फर्जी उद्धारमा लागेका केही अस्पताल र केही ही वायुसेवा कम्पनीको नाम नै किटान गरेको थियो।  अनि, थप अनुसन्धान गर्न गृह मन्त्रालय हुँदै प्रहरी प्रधान कार्यालय पठाइएको थियो । तर, केही वायुसेवा कम्पनीबाट तत्कालीन प्रधानमन्त्रीमार्फत दबाब बढेकाले यसलाई गुपचुप नै राखियो। अधिकारीपछिका पर्यटनमन्त्रीहरुले पनि यसमा ‘फलोअप’ गरेनन्। 

यो घटनाबाट नेपालको अन्तर्राष्ट्रिय छविमा के प्रभाव पार्छ?

फर्जी उद्धारका घटना सार्वजनिक भएपछि यसबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा नकारात्मक समाचार प्रकाशित हुन थाले। त्यसपछि नेपाल आउने पर्यटकको बिमा शुल्क अचाक्ली बढ्यो भने केही विदेशी कम्पनीले नेपालका लागि बिमा सेवा नै बन्द गरे । यसले नेपालको पर्यटन छविमा गम्भीर असर त पर्‍यो नै, विदेशका कार्यक्रममा सहभागी हुन जाँदा नेपालका प्रधानमन्त्री, मन्त्री र उच्च अधिकारीले सञ्चारकर्मीका प्रश्नको पनि सामना गर्नुपर्‍यो ।

यो घटनाको अनुसन्धानमा थप खुल्न बाँकी तथ्यहरू के के हुन्?

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कार्यदलको प्रतिवेदनलाई समेत आधार बनाएर अनुसन्धान गरिरहेको छ । सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीका अनुसार, पुरानो घटनामा छानबिन गर्न हदम्यादको विषय समेत हुने भएकाले अहिले २०२२ देखि २०२५ सम्मका उद्धार उडानका घटनाहरूको जाँच गरिएको छ । 

हालसम्मको अनुसन्धानले माउन्टेन रेस्क्यु सर्भिस प्रालिबाट उद्धार भएका १२ सय ४८ मध्ये १ सय ७१ जना, नेपाल चार्टर्ड सर्भिसबाट ४ सय ७१ मध्ये ७५ जना र एभरेस्ट एक्सपिरियन्सबाट ६ सय १ मध्ये ७१ जना पर्यटकको शंकास्पद उद्धार गरेको देखिएको उनको भनाइ छ । 

‘एउटा क्षेत्रका लागि अनुमति लिएर अर्कै ठाउँबाट उद्धार गरिएको विवरण पेस, नक्कली कागजात, दुई/तीन जनाको एकै पटक उद्धार गरेर फरकफरक उद्धारको बिल बनाउने जस्ता काम गरेर यो अपराध भएको देखिन्छ,’ केसीले भने, ‘बिमा भुक्तानी गर्ने कम्पनीले प्रश्न उठाउँदै पठाएका इमेलसमेत प्राप्त भएका छन् ।’ 

उनका अनुसार सीआईबीले एउटा कार्यदल नै गठन गरेर यो विषयमा साढे २ महिनादेखि अनुसन्धान गरिरहेका थियो । प्रारम्भिक चरणमा उद्दार गर्ने कम्पनी छानबिनको दायरामा आएका छन्, अब क्रमशः अनुसन्धान हेलिकोप्टर र अस्पतालतिर समेत पुग्ने प्रहरीको भनाइ छ ।  

‘यिनै कम्पनीमा भएका मानिसहरू हेलिकोप्टर र अस्पतालसँग पनि जोडिएको देखिन्छ, विस्तृत अनुसन्धानका क्रममा त्यो तहका मानिसहरू पनि छानबिनको घेरामा आउँछन्,’ केसीले थपे, ‘पहिलो चरणमा उद्धार गर्ने कम्पनीहरू अनुसन्धानको दायरामा आएका छन् ।’

कान्तिपुर संवाददाता

Link copied successfully