बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले माघ २५ गते दिउँसो २ बजेदेखि बैठक बोलाउने प्रस्ताव अघि सारेको आन्तरिक मामिला तथा कानुनमन्त्री ईन्द्रमणि पराजुलीले जानकारी दिए।
विराटनगर — कोशी प्रदेश सरकारले प्रदेश सभाको आगामी हिउँदे अधिवेशन माघ २५ गतेदेखि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले माघ २५ गते दिउँसो २ बजेदेखि बैठक बोलाउने प्रस्ताव अघि सारेको आन्तरिक मामिला तथा कानुनमन्त्री ईन्द्रमणि पराजुलीले जानकारी दिए।
पराजुलीका अनुसार प्रदेश सभाको आफ्नै भवन र सचिवालय निर्माणाधीन रहेकाले विराटनगरस्थित वीरेन्द्र सभागृहलाई अस्थायी भवनको रुपमा सञ्चालन गरिनेछ। सभागृह मासिक आठ लाख रुपैयाँ भाडामा लिइने निर्णय पनि बैठकले गरेको छ।
मन्त्रिपरिषद्ले प्रदेशको विकास र कानुनी संरचनासँग सम्बन्धित थप ६ महत्त्वपूर्ण निर्णयसमेत गरेको छ। कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जन भएर आएको कोशी प्रदेश योजना आयोग गठन तथा सञ्चालन (गठन आदेश)–२०८२ लाई स्वीकृति दिइएको छ। साथै प्रदेशमा कानुनी सहायता व्यवस्था गर्न कोशी प्रदेश कानुनी सहायता विधेयकको मस्यौदा तयार पार्न सैद्धान्तिक सहमति प्रदान गरिएको छ।
विकास आयोजनातर्फ नेपाल र जापान सरकारको सहमतिमा सञ्चालित कोशी पम्प–चन्द्र नहर सिँचाइ आयोजनामा प्रयोग हुने सवारीसाधनलाई कर छुट दिने प्रस्ताव पारित गरिएको छ।
ग्रामीण सडक सञ्जाल सुधार आयोजना प्रभावकारी बनाउन प्रदेश सरकारले साढे १२ प्रतिशत म्याचिङ फण्ड उपलब्ध गराउने निर्णय पनि गरेको छ। उक्त कार्यक्रमका लागि संघीय सरकारले ७७ करोड रुपैयाँ पुँजीगत तथा ७० लाख रुपैयाँ चालु बजेट उपलब्ध गराएको छ।
त्यस्तै, विपन्न नागरिकको आवास अधिकार सुनिश्चित गर्न कोशी जनता आवास सम्बन्धी मापदण्डसहितको कार्यविधि–२०८२ मन्त्रीपरिषद्ले स्वीकृत गरेको छ।
