जेन-जी प्रदर्शनमा थुनाबाट भागेकाले मोटरसाइकल चढेर काठमाडौंमा मच्चाए लुटपाटको आतंक, प्रहरीले गोली हानेर समात्यो 'मुख्य नाइके'
काठमाडौँ — काठमाडौं कपनकी ५० वर्षीया भविधनी राई सधैंझैं गत सोमबार बिहान ५ बजे ढुंगेधाराबाट पानी बोकेर घर फर्कंदै थिइन्। अचानक दुईवटा मोटरसाइकलमा आएका ६ जना पुरुषले उनको मुख थुनेर कानका मुन्द्रा लुटेर फरार भए ।
‘सधैं हिँड्ने बाटोमै यस्तो घटना होला भन्ने सोचेकी थिइनँ । ६ जना पुरुषले घेरेपछि प्रतिकार गर्न सक्ने अवस्था रहेन,’राईले भनिन्, ‘गलैंचा बुन्ने काम गरेर परिवारको गुजारा चलाउँदै बचाएको पैसाले किनेको सुनै लुटेर लगे।’
निर्माणसम्बन्धी काम गर्ने त्रिवेणीचोक निवासी कुलबहादुर बोगटी गत जेठ २२ गते साइटको काम हेरेर राति करिब ९ बजे घर फर्कंदै थिए । बाटोमा एक व्यक्तिले ‘लाइटर छ दाइ भनेर सोधे ।’ उनी 'छैन' भनेर अघि बढ्दै थिए । पछाडिबाट दुईवटै मोटरसाइकलमा रहेको ६ जनाको समूहले उनको घाँटी समातेर सिक्री लुटे ।
पुस २९ गते राति करिब ११ बजे साथीको जन्मदिन कार्यक्रमबाट घर फर्कंदै गरेका २३ वर्षीय ध्रुव केसीलाई राममन्दिरनजिक लुटपाटको प्रयास भयो । लुटेराहरूको आक्रमणबाट टाउको र ओठमा गम्भीर चोट लागेपछि केसी १० दिन अस्पताल बस्नुपर्यो ।
सुकेधाराका सुमन खड्का बिरामी छोरीलाई लिएर अस्पतालमा रहेका बेला लुटपाटको सिकार बने । मंसिर २ गते साँझ करिब ९ बजे औषधि किन्न जाने क्रममा ओम अस्पताल नजिक पछाडिबाट आएको एक समूहले उनलाई समात्यो । औंलामा घाउ हुने गरी औंठी र कानका मुन्द्रा तानेर फरार भयो उक्त समूह ।
लुटपाटका घटना राति मात्र होइन, मूलपानीकी मीरा कार्कीको कोठामा दिउँसै लुटपाट भयो । मंसिर २६ गते दिउँसो करिब १२ बजे एक समूह घरमा प्रवेश गरी स्प्रे छर्केर घरका सदस्यहरूलाई बेहोस बनाएपछि दराजमा राखिएको करिब १५ तोला सुन लुटेर उक्त समूह फरार भयो ।
भदौको प्रदर्शनका क्रममा थुनाबाट भागेका कैदी नै सक्रिय
तीन महिनादेखि काठमाडौं प्रहरी परिसरमा लुटपाट र चोरीसम्बन्धी एकै प्रकृतिका घटनासम्बन्धी उजुरी लगातार आएका थिए । विशेषगरी पैदलयात्रीको गरगहना लुटपाट गर्ने त्यो समूहलाई प्रहरीले बिहीबार मूलपानीमा गोली हानेर समात्यो ।
चेकिङका क्रममा प्रहरीमाथि नै आक्रमण गर्ने प्रास गरेपछि काभ्रेको भुम्लु गाउँपालिका–३ घर भएर अहिले मूलपानी बस्दै आएका २३ वर्षीय विनय तामाङलाई गोली चलाएर नियन्त्रणमा लिएको थियो । उनी नै लुटपाट गिरोहका मुख्य नाइके रहेको प्रहरीको दाबी छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दै मुख्य योजनाकार तामाङसहित १० जनालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार पक्राउ परेकामध्ये अधिकांशको पृष्ठभूमि आपराधिक छ । तामाङ २०७९ मा चोरी केसमा पक्राउ परेका थिए । त्यसपछि पुन: डाँका चोरी केसमा पक्राउ परेका उनी जेन-जी प्रर्दशनमा थुनाबाट भागेका थिए ।
सिन्धुली मरिण गाउँपालिका–५ का २४ वर्षीय आयन माझी, मरिण- ७ का ३२ वर्षीय सविन माझी, खोटाङ ज्वलेर्समा काम गर्ने मोरङ पथरी शनिश्चरे-३ का २३ वर्षीय मनिष रमाइली, काभ्रेको चौंरी देउराली- १ का २९ वर्षीय पेमा तामाङ, २० वर्षीय सलोन तामाङ, काभ्रेको भुम्लु-३ का १८ वर्षीय राजीव भण्डारी, रामेछापको दोरम्बा-८ का ३२ वर्षीय विशाल तामाङ, खोटाङ घर भएका सुनचाँदी कालीगढ २८ वर्षीय विदुर विश्वकर्मा र सिन्धुपाल्चोकको लिसंखु पाखर-३ का २९ वर्षीय फुर्वा तामाङ छन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाका अनुसार यीमध्ये धेरै चोरी कसुरमा यसअघि पनि पक्राउ परेका थिए ।
उक्त समूहले राति एक्लै हिँडेका व्यक्तिलाई लुटपाट गर्ने गरेको एसएपी थापाले बताए । उक्त समूह २ वटा मोटरसाइकल लिएर हिँड्ने र पछाडि बसेकाले गरगहना लुट्ने गर्थे । पक्राउ परेकाबाट प्रहरीले ६ वटा मोटरसाइकल र दुइटा ट्याक्सीसमेत बरामद गरेको छ । त्यस्तै उनीहरूबाट मोबाइल र खुकुरीसमेत बरामद भएको छ । लुटपाटमा परेका २७ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन् भने ४ वटा जाहेरी दाखिला भएको छ ।
