साँफेबगरमा पनि घण्टी बजाएरै फर्किए बालेन

झापा–५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका बालेन्द्र शाहले आफ्नो यात्राका क्रममा कतै पनि भाषण गरेका छैनन् । दोहोरो संवाद नगरी र छोटो समयमै स्थान परिवर्तन गर्दै आएका छन् ।

माघ १५, २०८२

मेनुका ढुंगाना

Balen returned home after ringing the bell in Sanfebagar.

What you should know

अछाम — सुदूरपश्चिम भ्रमणमा रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बिहीबार जिल्लाको साँफेबगर आएर फर्किएका छन् । केही बेर यहाँ अडिएर घण्टी बजाएपछि डोटीतर्फ लागेका हुन् । अछाम–१ का रास्वपाका कार्यकर्तासित उनले १० मिनेट मात्र बिताए ।

आफ्ना स्वकीय सचिव भूपदेव शाह उम्मेदवार रहेको अछाम–२ को मंगलसेनमा शुक्रबार बिहान मात्र शाह आइपुग्ने कार्यतालिका छ । अछाम–२ का कमलबजार, ढकारीमा पनि शाहलाई लैजाने तयारी भएको रास्वपाले जनाएको छ । 

शाहले अपनाएको चुनावी प्रचार शैलीका विषयमा जिल्लामा चासो छ । झापा–५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका शाहले आफ्नो यात्राका क्रममा कतै पनि भाषण गरेका छैनन् । दोहोरो संवाद नगरी र छोटो समयमै स्थान परिवर्तन गर्दै आएका छन् । ‘साँफेबगर पुगेर पार्टी कार्यालयमा घन्टी बजाए । गाडीबाटै समर्थकलाई हात हल्लाएर अभिवादन गरे । त्यसपछि गन्तव्य परिवर्तन गरे,’ साँफेबगरका रमेश परियारले भने, ‘साँफेबगरमा बढीमा १० मिनेट बिताए होलान् ।’ औपचारिक कार्यक्रम नगरी घन्टी बजाएर डोटीतर्फ प्रस्थान गरेको उनले बताए ।

शाह एकै दिन कैलालीका पाँच र कञ्चनपुरका तीन निर्वाचन क्षेत्रमा पुगेका थिए । सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्र रहेका छन् । शुक्रबारसम्म शाहले १५ निर्वाचन क्षेत्र टेकिसकेका छन् । बिहीबार उनी बाजुरा र बझाङ भ्रमण पूरा गरेर अछाम प्रवेश गरेका थिए ।Balen returned home after ringing the bell in Sanfebagar.तस्बिर सौजन्य : भगवती कुवँर

शाह निकटका अनुसार प्रत्येक निर्वाचन क्षेत्रमा उनले औसतमा १५ मिनेट समय दिने गरेका छन् । त्यस अवधिमा कुनै सार्वजनिक सम्बोधन नगरी कार्यालय अवलोकन, घण्टी बजाउने र समर्थकलाई संक्षिप्त अभिवादन मात्र गर्दै आएका छन् । शाहले सुदूरपश्चिमबाटै सामाजिक सञ्जालमा पनि आफ्नो उपस्थिति जनाउँदै आएका छन् । 

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा पुगेर उनले ‘सुदूर अब दूर नाइँ, झिक्कै झिक्कै माया तम्लाई’ भनेर फेसबुकमा स्टाट्स लेखे । बझाङबाट बाजुरा यात्रा गर्ने क्रममा बिहीबार अर्को स्टाटस लेखे, ‘बझाङबाटी बाजुरा जान लाग्या छु, बडिमालिका माताले सबैकी आशिष् दिऊन ।’ उनले यी दुवै स्टाटस स्थानीय भाषामा लेखेका छन् ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully