हिमपातले सशस्त्रको फौज बाहिर निस्कने स्थिति नरहेको सशस्त्र प्रहरीका एक अधिकारीले जानकारी दिए ।
What you should know
काठमाडौँ — सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बल (एपीएफ)को मुस्ताङस्थित बोर्डर आउट पोस्ट (बीओपी)मा दुई फिट बाक्लो हिउँ जमेको छ । मंगलबार रातिदेखि त्यस क्षेत्रमा हिमपात भइरहेको छ ।
चीनतर्फ नेपाली सुरक्षार्थ मुस्ताङको लोमाथाङ गाउँपालिका-१, नेचुङमा सशस्त्रले निरीक्षकको नेतृत्वमा बीओपी तैनाथ गरेको छ । हिमपातले सशस्त्रको फौज बाहिर निस्कने स्थिति नरहेको सशस्त्र प्रहरीका एक अधिकारीले जानकारी दिए । चीनसँग मुस्ताङको कोरला नाकाबाट आउजाउ छ ।
सोही नाकासहितको सीमा सुरक्षाका लागि सशस्त्रको बीओपी तैनाथ छ । नेचुङबाहेक चीनतर्फ सीमा जोडिएका दोलखा लामाबगर, सिन्धुपाल्चोकको गुम्मा, हुम्लाको हिल्सा, पाँचथरको फालोट, ताप्लेजुङको ओलाङ्चुङगोला, दार्चुलाको तिंकर र छाङ्ग्रुका बीओपी पनि हिमपातबाट प्रभावित छन् । यद्यपि नेचुङ बीओपीमा भने बाहिर निस्कन पनि कठिन देखिएको हो ।
हिमाली भेगमा बसोबास गर्ने डेढ लाखभन्दा बढी मानिस चिसोबाट प्रभावित छन् । गृहका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगमा बसोबास गर्ने घरधुरीका १ लाख ६२ हजार १ सय ४ जना अत्यधिक चिसोबाट प्रभावित हुन सक्ने गृह मन्त्रालयले जनाएको छ । हिमपात भए कतिपय गाउँमा मानिस घरबाट बाहिर निस्कन नसक्ने गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका अनुसार इलामका सन्दकपुर र माइजोगमाई गाउँपालिकाको माथिल्लो भेगमा पुसदेखि नै चिसो अत्यधिक छ । ताप्लेजुङका फक्ताङलुङ र मिक्वाखोला गाउँपालिका, पाँचथरका फालेलुङ र याङवरकका माथिल्लो भेगमा चैतसम्मै धेरै चिसो हुन्छ ।
संखुवासभाको भोटखोला, सोलुखुम्बुको खुम्बुपासाङ, रामेछापका उमाकुण्ड र दोरम्बा शैलुङ, रसुवाको गोसाइँकुण्ड, दोलखाका कालिञ्चोक, भीमेश्वर, बिगु र गौरीशंकरमा चैतसम्मै चिसो हुन्छ । गोरखाको चुमनुब्री र धार्चे, मनाङका नार्पाभूमि, नासों, चामे, मनाङ ङिस्याङमा कात्तिकदेखि नै अत्यधिक चिसो छ । मुस्ताङका बारागुङ, घरपझोङ, थासाङ, लोमान्थाङ, लो–घेकरमा वैशाखसम्मै चिसो हुन्छ ।
हुम्लाका नाम्खा सिमकोट, खार्पुनाथ, सर्केगार्ड, ताजाकोट, चंखेली, अदानचुली पालिकामा चैतसम्म, मुगुको मुगुम गाउँपालिका, डोल्पाका छार्काताङसोङ, डोल्पोबुद्ध, शे–फोक्सुन्डोमा चैतसम्म चिसो हुन्छ । दैलेखका महावु र गुराँस, जाजरकोटका नलगाड, बारेकोट, कुशे, जुनिचाँदे तथा जुम्लाका अधिकांश पालिकामा चिसो छ ।
दार्चुलाको ब्यास, डडेलधुराका अमरगढी र गन्यापधुरा, बाजुराका गौमुल, हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ र त्रिवेणीका विभिन्न स्थानमा चिसो छ । बझाङका सुर्मा र साइपाल, बैतडीका दशरथचन्द, पुर्चौडी, पाटन, सुर्नया, अछामका मंगलसेन, साँफेबगर, कमलबजार, पञ्चदेवल विनायक, रामारोशन, तुर्माखाँद, ढकारी, चौरपाटी, बान्निगढी, मेल्लेख पनि चिसोबाट प्रभावित पालिका हुन् ।
कतिपय उच्च हिमाली क्षेत्रबाट चिसो छल्न मानिस तल्लो भेग झरिसकेका छन् । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ताप्लेजुङ, पाँचथर, गोरखा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु, डोल्पा, जाजरकोट, दार्चुला र बाजुराका उच्च हिमाली बस्तीबाट १६ हजारभन्दा बढी मानिस चिसोयाममा न्यानो खोज्दै अन्यत्र सर्ने गरेका छन् । तर, बस्ती खाली भएपनि सुरक्षाकर्मीहरु ब्यारेकमै बस्ने गरेका छन् ।
