रास्वपा सभापति लामिछाने सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ लिने बाटोमा छन् : महासचिव पोखरेल

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह काठमाडौंको मेयरको रुपमा कमजोर देखिएको उनको टिप्पणी छ ।

माघ १४, २०८२

विकास आचार्य

RSP President Lamichhane on track to be cleared in money laundering case: General Secretary Pokharel

What you should know

काठमाडौँ — एमाले महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारीसम्बन्धी मुद्दा र सम्पत्ति शुद्धीकरण मुद्दा व्यवस्थापनमा लागेको आरोप लगाएका छन् । 

‘सहरी क्षेत्रमा पपुलिस्टहरुको प्रभाव पहिलेको तुलनामा घट्दै गइरहेको छ । किनकि स्वतन्त्र पार्टीका सभापतिका सहकारी प्रकरणहरु, संगठित अपराधसम्बन्धी मुद्दा र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरुमा उनले आफूलाई सफाइ दिलाउने बाटो एक प्रकार राज्यको प्रयोग गरी आफू अलग दिने बाटो जे अवलम्बन गरेका छन्,’ उनले कान्तिपुरसँगको संवादमा भने,  ‘उनीमाथि आमनागरिकको बनेकै सन्देह छ ।’

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह काठमाडौंको मेयरको रुपमा कमजोर देखिएको उनको टिप्पणी छ । ‘बालेन शाह जुन हिसाबले महानगर बदल्ने योजनाका साथ अगाडि बढे र वास्तवमा भन्ने हो भने महानगर नेपालका महानगरहरुमध्ये सबभन्दा कमजोर पुँजीगत खर्च गर्ने महानगरका रुपमा रहृयो,’ उनले भने, ‘कार्यकाल पूरा नगरिकन उनीचाहिँ पपुलिजमका आधारमा प्रधानमन्त्री बन्ने सपना देखेका छन् ।’

झापा पाँचमा उम्मेदवारी दिएर शाह चर्चामा आउन खोजिरहेको उनको भनाइ छ । ‘भदौ २४ गते नख्खु जेलबाट प्रधानमन्त्री बन्नका लागि बाहिर निक्लेका रवि लामिछनेलाई फेरि नख्खु जेल जानुपर्ने बाध्यकारी स्थिति बालेन शाहको क्याम्पेनले गर्‍यो,’ उनले भने, ‘यो त सबैले बुझेको सत्य हो नि त ।’

उनले राजनीतिक अस्थिरता र सामाजिक अराजकताको परिस्थितिलाई सुधारेर मुलुकलाई स्थायित्वतर्फ, विकास र समृद्धिको बाटोतर्फ अगाडि बढाउने प्रमुख मुद्दा भएको उनको भनाइ छ । ‘यो हाम्रो पहिलो एजेन्डा हो । दोस्रो कुरा, नेपालका कानुनी तथा प्रशासनिक संरचनाहरूका कारण विकास प्रक्रियाहरूमा जटिलता पैदा हुने गरेका छन् र निजी क्षेत्रले काम गर्नका लागि सहजता महसुस गरिरहेको छैन’, उनले भने,  ‘कानुन सुधारको प्रक्रिया हामीले अगाडि बढाउन खोजेका थियौं । छवटा अध्यादेश तयार गरेर जारी गर्ने काम पनि गरेका थियौं । संरचनागत सुधारका सन्दर्भमा सुशासन आयोग गठन गरी सुधारको प्रक्रिया अगाडि बढाउने प्रयास गरेका थियौं । तर पछिल्लो समय सरकार परिवर्तन भएका कारण ती कुराहरू अवरुद्ध छन् । त्यस अर्थमा विकासको सन्दर्भमा कानुनका बाधाहरू हटाउनुपर्छ, प्रशासनिक सक्षमता वृद्धि गर्नुपर्छ, सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्छ र सुशासन कायम गर्नुपर्छ । युवाहरूको चाहना पनि यही छ ।’ 

उनले घाषणापत्रमा एमालेले सुरु गरेका रणनीतिक अवरुद्ध विकासका आयोजनाहरू पूरा गर्न चाहन्छौं । नेपालको आर्थिक विकासका आधारशिला निर्माण गर्ने हिसाबले गेम चेन्जर आयोजनाहरू के हुन सक्छन् भन्ने कुराको हामीले अध्ययन गरेका छौं,’ उनको भनाइ थियो, ‘शिक्षा, स्वास्थ्य, रोजगार जस्ता क्षेत्रमा राज्यले विशेष ध्यान दिनुपर्छ । युवाहरू रोजगारीको अभावमा विदेश जानुपर्ने बाध्यकारी अवस्थालाई अन्त्य गर्नुपर्छ ।’

विकास उनी कान्तिपुर टीभीका संवाददाता हुन् ।

Link copied successfully