फास्ट ट्र्र्याक निरीक्षणमा प्रधानमन्त्री : 'धार्मिक विश्वास र सम्पदालाई असर नपारौं'

प्रधानमन्त्री कार्कीले भौतिक संरचना लगायतका निर्माण गरिँदा आवश्यक पर्याप्त खाली ठाउँको व्यवस्था मिलाउन समेत सुझाव दिइन् ।

माघ १३, २०८२

कान्तिपुर संवाददाता

Prime Minister on fast track inspection: 'Let's not affect religious beliefs and heritage'

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधार लगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र  सांस्कृतिक सम्पदालाई असर पुर्‍याउन नहुने बताएकी छन् ।

मुलुकको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई मधेश द्रुतमार्ग निरीक्षणका क्रममा आज ललितपुरको खोकनामा आयोजित कार्यक्रममा उनले स्थानीयका सरोकारलाई गम्भीर रुपमा लिई समाधान खोज्न निर्देशन दिइन् । 'स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिई समाधान खोज्नुपर्छ । आवश्यक परेको खण्डमा रेखाङ्कन र जिरोविन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्छ । उहाँहरुको विश्वासमा आधात नपुग्ने गरी हाम्रा विकास निर्माण अघि बढाउनुपर्छ,' उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले भौतिक संरचना लगायतका निर्माण गरिँदा आवश्यक पर्याप्त खाली ठाउँको व्यवस्था मिलाउन समेत सुझाव दिइन् ।

'प्राकृतिक विपद्का बेला खुला ठाउँ आवश्यक पर्छ, मानिसको ओहारदोहर, मेला, पर्व र भेला तथा जमघटका लागि पनि खुला ठाउँ आवश्यक पर्छ । त्यसकारण खाली ठाउँ देख्ने वित्तिकै संरचना बनाउनुपर्छ भन्ने धारणा त्याग्नुपर्छ । योजना बनाउँदा नै पर्याप्त खाली र खुला ठाउँ छाडेर योजना बनाउने र संरचना निर्माण गर्ने गर्नुपर्छ,' उनले भनिन् ।

प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले आयोजनाको हालसम्मको कार्य प्रगति, चुनौतीलगायतका विषयमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराएका थिए ।  प्रधानमन्त्रीको निरीक्षण टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री, परराष्ट्रमन्त्रीलगायत छन् ।

कान्तिपुर

Link copied successfully