आचार्यको २०४८ माघ ६ देखि २०८० असार ६ सम्मको सम्पत्तिमा जाँचबुझ गर्दा आयभन्दा व्यय रकम बढी देखिएको भेटिएको अख्तियारले जनाएको छ ।
काठमाडौँ — भरतपुर महानगरका तत्कालीन इन्जिनियर भरतकुमार आचार्यविरुद्ध पौने ७ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । सार्वजनिक ओहदाको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार आचार्यविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आचार्यविरुद्ध ६करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवानमा, कैद सजाय र भ्रष्टाचारबाट बढे/बढाइएको सम्पत्ति जफतको मागदाबी लिइएको छ । अख्तियारले सम्पत्ति जफत प्रयोजनका लागि आचार्यकी पत्नी लिली सुवेदीलाई पनि प्रतिवादी बनाएको छ । चितवनको भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर (अधिकृत आठौं तह) आचार्यले पदीय मर्यादाविपरीत कार्यबाट गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारमा उजुरी परेको थियो ।
अनुसन्धानका क्रममा आचार्यको स्रोत नखुलेको सम्पत्ति भेटिएपछि त्यसैलाई बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।
उजुरी परेपछि अखतियारले आचार्य सेवा प्रवेश गरेपछिको सम्पत्ति जाँचबुझ दायरामा ल्याएको थियो । आचार्यको २०४८ माघ ६ देखि २०८० असार ६ सम्मको सम्पत्तिमा जाँचबुझ गर्दा आयभन्दा व्यय रकम बढी देखिएको भेटिएको अख्तियारले जनाएको छ । स्रोत नखुलेको रकम भ्रष्टाचारबाट आर्जन गरेको आरोपपत्रमा उल्लेख छ ।
