ढकारीमा दुई किशोरी हत्या प्रकरण: एक वर्षदेखि न्यायको प्रतीक्षा, एक अभियुक्त फरार

घटनाका अभियुक्त एक किशोर गत भदौ २४ को जेनजी प्रदर्शनका क्रममा बालसुधार गृहबाट फरार भएपछि पीडित परिवारको छटपटी झन् बढेको छ।

माघ १२, २०८२

मेनुका ढुंगाना

Two teenage girls murdered in Dhaka: Waiting for justice for a year, one accused absconding

What you should know

अछाम — ढकारी गाउँपालिका–८ घोडासैनकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको निर्मम हत्या भएको एक वर्ष बितेको छ ।

घटनामा संलग्न एक किशोर गत भदौ २४ को जेनजी प्रदर्शनका क्रममा फरार भएपछि पीडित परिवारको पीडा झन् बढेको छ । जिल्ला प्रहरी अछामका अनुसार अभियुक्त दुवै किशोर १८ वर्षमूनिका भएकाले उनीहरूलाई बाल न्याय ऐनअनुसार सुधार गृह डोटीमा राखिएको थियो । तर भदौ २४ गते डोटीस्थित बालसुधार गृहबाट एक किशोर फरार भएका छन् । 

गत वर्ष घटनापछि अछाम प्रहरीले प्रेम सम्बन्ध, यौन प्रस्ताव अस्वीकार र घटना लुकाउन नमानेकै कारण हत्या भएको प्रारम्भिक अनुसन्धान निष्कर्ष सार्वजनिक गरेको थियो। प्रहरीका अनुसार घटनामा संलग्न दुई किशोरलाई नियन्त्रणमा लिई जिल्ला अदालत अछामबाट म्याद थप गर्दै अनुसन्धान अघि बढाइएको थियो । घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको, प्राविधिक र पोस्टमार्टम रिपोर्टका निष्कर्षबारे अन्य जिज्ञासाको जवाफ अझै खुल्न बाँकी छ।

जिल्ला अदालत अछामका स्रेस्तेदार राइभान कुञ्जेडाका अनुसार आइतबार उक्त घटनाको पेसी तोकिएको थियो । तर सरकारी वकिल सरुवा भएर नयाँ आएकाले घटनाको फाइल अध्ययन गर्नुपर्ने कारण देखाउँदै पेसी स्थगित गरिएको छ । ‘बालसुधार गृह डोटीबाट एक जना जेन्जी आन्दोलनका बेला फरार भएको खबर आएको छ । सम्भवतः अर्को पेसीमा फैसला हुन सक्छ,’ स्रेस्तेदार कुञ्जेडाले भने ।

मृतक सरस्वतीका बुवा उदयराम खड्काले एक वर्ष बित्दा पनि न्याय नपाएको गुनासो गरेका छन् । ‘एक वर्षदेखि रातदिन रोइरहेको छु । हत्यारा नै फरार भएको सुन्दा झन् छटपटी भएको छ,’ उनले भने,‘एक वर्ष बित्यो अहिलेसम्म पनि न्यायको टुंगो लागेको छैन । मेरी नातिनी र छोरीको हत्यारालाई जन्मकैद हुनै पर्छ ।’ दोषीलाई कडा सजाय नदिए यस्ता घटना फेरि दोहोरिन सक्ने डर रहेको उनले बताए । 

घटना के थियो ?
प्रहरी अनुसन्धान अनुसार १४ वर्षीया इशरा र १५ वर्षीया सरस्वती ती दुई किशोरहरूसँग करिब एक वर्षदेखि फोन सम्पर्क र भेटघाटमा थिए । घटनाको दुई दिनअघि नै चारै जनाबीच जंगलमा भेट्ने योजना बनेको थियो । माघी तिहार मनाउन गाउँ आएका ती किशोरहरू निर्धारित समयभन्दा अगाडि नै जंगलमा पुगेर खोलाको किनारमा कुरेर बसेका थिए।

चारै जना भेट भएपछि उनीहरूबीच सामान्य कुराकानी, गीत, भिडियो सेयर र प्रेमसम्बन्धका विषयमा संवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । कुराकानीकै क्रममा ती किशोरहरूले मायाको चिनो भन्दै दोपट्टा मागेका थिए । इशरा दोपट्टा दिन तयार भए पनि सरस्वतीले अस्वीकार गरेपछि घटनास्थलमै विवाद सुरु भएको देखिन्छ। प्रहरीका अनुसार विवादको मूल कारण शारीरिक सम्बन्ध राख्न सरस्वतिले स्पष्ट रुपमा असहमति राख्नु थियो ।

बाख्रा फर्काउने क्रममा ती किशोरहरूले सरस्वतीसँग शारीरिक सम्बन्ध राख्न प्रस्ताव गरेका थिए । तर सरस्वतिले विवाह गरेपछि मात्र शारीरिक सम्बन्ध राख्ने अडान लिएकी थिइन् । किशोरहरूले आफूहरूको उमेर कम भएको र केही वर्षपछि विवाह गर्ने आश्वासन दिँदै सम्बन्ध राख्न दबाब दिएको बयान प्रहरीमा दिएका छन् ।

सरस्वतिले उक्त प्रस्ताव अस्वीकार गर्दै खोलातर्फ लागेपछि आक्रोशमा एक किशोरले नजिकै रहेको ठूलो ढुंगाले सरस्वतीको टाउकोमा प्रहार गरेको प्रहरीको निष्कर्ष छ । पहिलो प्रहारमै सरस्वतिको घटनास्थलमै मृत्यु भए पनि त्यसबेला अन्य दुई जनालाई मृत्यु भइसकेको जानकारी नभएको प्रहरीको भनाइ छ ।

हत्या भएको थाहा पाएपछि घटनालाई दुर्घटना जस्तो देखाउन सरस्वतिको शव रहेको स्थानमा माथिबाट ठूला ढुंगा खसालिएको अनुसन्धानमा खुलेको छ । यस क्रममा खोलाको माथिल्लो भागबाट ढुंगा अडेस लगाएर खसालिएको र घटनास्थल कृतिम बनाइएको प्रहरीले जनाएको छ ।

सरस्वतीको मृत्यु देखेपछि इशरा घटनास्थलमा पुगेकी थिइन् । साथीको मृत्यु देख्दा इशराले ती किशोरहरूलाई दोष लगाउँदै घटना सबैलाई बताउने भन्दै रोइकराई गर्दै घरतर्फ जान खोजेकी थिइन् । तर इशराले घटना लुकाउन नमानेपछि उनलाई पनि मारिएको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रहरीका अनुसार एक किशोरले इशरालाई पछाडिबाट धकेलेर ढुंगाले निधारमा प्रहार गरेका थिए भने अर्को किशोरले ढलेकी इशराको अनुहारमा पटक–पटक ढुंगा प्रहार गरी हत्या गरेर घटनास्थल छाडेका थिए ।

प्रहरी अनुसन्धानले यो घटना आकस्मिक विवाद मात्र नभई सहमति बिना शारीरिक सम्बन्ध राख्न खोज्दा भएको जघन्य हिंसा भएको निष्कर्ष निकालेको छ । अस्वीकार सहन नसक्ने मानसिकता, आक्रोश र घटना लुकाउने प्रयासकै क्रममा दुई किशोरीको ज्यान गएको प्रहरीको ठहर छ ।

यो पनि पढ्नुहाेस् 

ढकारी घटना : रोल नम्बर १९ र २३ ले अब 'यस सर' भन्ने छैनन्

ढकारी घटनाबारे प्रहरी अनुसन्धान : ‘सरस्वतीले यौन सम्बन्ध राख्न नमान्दा र इशराले घटना लुकाउन्नँ भनेपछि हत्या’

मेनुका ढुंगाना ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully