त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन सर्भर आधा घन्टा डाउन, यात्रु जाँच प्रभावित

अध्यागमन प्रमुख नरहरि घिमिरेले 'टेक्निकल ग्लिच'का कारण सर्भर डाउन भएको जानकारी दिए । उनका अनुसार समस्या समाधान भइसकेको छ र सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएको छ ।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

Tribhuvan International Airport's immigration server down for half an hour, passenger screening affected

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर आइतबार केही समयका लागि डाउन हुँदा यात्रु जाँच प्रक्रियामा समस्या देखिएको छ । अध्यागमन कार्यालयका अनुसार करिब आधा घन्टासम्म सर्भर डाउन भएको थियो । यो समस्या सोमबार दिउँसो साढे ३ बजेपछि देखा परेको थियो ।

अध्यागमन प्रमुख नरहरि घिमिरेले प्राविधिक समस्या (टेक्निकल ग्लिच) का कारण सर्भर डाउन भएको जानकारी दिए । उनका अनुसार समस्या समाधान भइसकेको छ र सेवा पुनः नियमित रूपमा सञ्चालनमा आएको छ । 

विमानस्थलको प्रस्थानतर्फ २२ वटा डेस्क तथा आगमनतर्फ पनि २२ वटा डेस्क सञ्चालनमा रहेका बेला सर्भर डाउन हुँदा भिसा जाँच तथा अन्य ट्राभल डकुमेन्ट परीक्षणको काम प्रभावित भएको विमानस्थलस्थित एक विदेशी वायुसेवाका कर्मचारीले कान्तिपुरलाई बताए । 

काठमाडौं विमानस्थलमा यसअघि पनि पटक–पटक सर्भर डाउन हुने समस्या देखिँदै आएको छ । यस्तो अवस्थाले यात्रुहरूको भिसा जाँच, पासपोर्ट प्रमाणीकरण तथा अन्य अध्यागमन प्रक्रियामा अवरोध सिर्जना गर्दै आएको छ ।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक करिब १५ हजार यात्रु अन्तर्राष्ट्रिय उडानमार्फत आवतजावत गर्ने गरेका छन् । साथै, विमानस्थलमा दैनिक कम्तीमा ९० वटा अन्तर्राष्ट्रिय उडान दुईतर्फी रूपमा सञ्चालन हुने गर्छन् ।

यात्रुको चाप उच्च हुने समयमा सर्भरजस्ता महत्त्वपूर्ण प्रणालीमा समस्या देखिँदा विदेशी यात्रुहरुको कनेक्टिङ फ्लाइट छुट्ने लगायतका थुप्रै दीर्घकालीन समस्या देखापर्ने भएकाले स्थायी समाधान वा विकल्प आवश्यक रहेको सरोकारवाला वायुसेवाका प्रतिनिधिहरूको भनाइ छ ।

कान्तिपुर संवाददाता

Link copied successfully