निर्वाचनमा कुनै पनि सुरक्षा कमजोरी सह्य हुँदैन : महानिरीक्षक अर्याल

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उच्च व्यावसायिक प्रदर्शन गर्न र चुनाव लक्षित सुरक्षा कारबाहीलाई तीव्र रुपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नेतर्फ ध्यान दिन पनि निर्देशन दिए ।

माघ १२, २०८२

कान्तिपुर संवाददाता

No security lapses will be tolerated in elections: Inspector General Aryal

What you should know

काठमाडौँ — सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षामा कुनै पनि कमीकमजोरी नगरी खटिन सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा माघ ११ गतेदेखि सशस्त्र प्रहरी बल नेपालका विभिन्न कार्यालयहरुमा प्रमुखको जिम्मेवारीमा खटिन लागेका अधिकृतहरुलाई निर्देशन दिँदै अर्यालले तोकिएको जिम्मेवारी प्रभावकारी ढंगबाट सम्पादन गर्न भनेका हुन् । 

अर्यालले उच्च व्यावसायिक प्रदर्शन गर्न र चुनाव लक्षित सुरक्षा कारबाहीलाई तीव्र रुपमा कार्यान्वयन गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नेतर्फ ध्यान दिन पनि निर्देशन दिए । कमजोर कमाण्ड र गल्ती गर्ने कमाण्डर माथि तत्काल कारबाही गर्ने बताउँदै उनले उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए ।  

आसन्न निर्वाचनमा सशस्त्रले ३५ हजार जनशक्ति र मातहत रहने गरी ४० दिन कार्यअवधि तोकेर १५ हजार ११० निर्वाचन प्रहरी खटाउँदै छ । कमाण्डको जिम्मेवारीमा खटिन लागेका सशस्त्र प्रहरी अधिकृतहरुलाई पदीय जिम्मेवारीमा रही कार्यक्षेत्रमा खटिँदा बदमासी र नराम्रो काम गरेमा तत्कालै कारबाही गर्ने चेतावनी पनि उनले दिए ।

निर्वाचन सफल बनाउन मातहत कर्मचारीहरुलाई निर्वाचन आचारसंहिताको पूर्णरुपमा पालनागरी परिचालित हुन पनि उनको निर्देशन छ ।

अर्यालले संगठनले लिएको सोच र नीति अनुसार कार्यक्षेत्रमा खटिदा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु आ–आफ्नो जिम्मेवारीमा थप सक्रियताका साथ परिचालिन हुनुपर्ने बताउँदै राजश्व चुहावट नियन्त्रणलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेतर्फ केन्द्रित हुन पनि निर्देशन दिए ।

सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण इकाईहरुले आर्थिक पारदर्शिता कायम गरी भ्रष्टचारमा शून्य सहनशीलताका साथ कार्यसम्पादन गर्नुपर्ने बताउँदै सीमामा खटिँदा अझ बढी सक्रिय भई गस्ती, पट्रोल तथा अप्रेसनल कामकारबाही सञ्चालन गर्नसमेत निर्देशन दिए ।

कान्तिपुर संवाददाता

Link copied successfully